भगवती रेग्मी अर्याल
उप– प्रमुख
भीरकोट नगरपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उप– प्रमुख
भीरकोट नगरपालिका
‘निरन्तरको कर्मले रूपान्तरण सम्भव छ’ भन्ने सोच राख्ने भगवती रेग्मी अर्याल स्याङ्जाको भीरकोट नगरपालिकाकी उप-प्रमुख हुन् । जनताप्रति उत्तरदायी, कुशल, समर्पित र दूरदर्शी जनप्रतिनिधिको छवि बनाएकी रेग्मी समाजसेवालाई आफ्नो मूल कर्म ठान्छिन् । सार्वजनिक सरोकारका मुद्दाहरूलाई वैयक्तिक जीवनकै कर्तव्यका रूपमा बोध गर्ने भगवती रेग्मीले लोकप्रिय जनप्रतिनिधिका रूपमा आफ्नो व्यक्तित्व स्थापित गरेकी छन् ।
भगवती २०३४ साल भीरकोट नगरपालिका वडा नं. ८ आँगेटारीमा जन्मिएकी हुन् । स्नेहपूर्ण परिवेशमा पाँच दाजु र एक भाइबीच हुर्किएकी भगवती परिवारकी एक्ली छोरी हुन् । एक्ली छोरी भएकाले सबैको माया र सद्भावमा खेल्दै हुर्केकी भगवतीको बाल्यकाल सुखद रह्यो । शिक्षित र अनुशासित पारिवारिक संस्कारमा हुर्किएको हुनाले भगवती सानैदेखि सामाजिक क्रियाकलापमा सहभागी हुन मन पराउँथिन् ।
भगवतीका पिता दहथुम माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए । फलस्वरूप भगवतीमा बाल्यकालदेखि नै अध्ययन, अनुशासन र सेवाको भावना विकास भएको थियो । भगवतीले आफ्नो प्रारम्भिक शिक्षा भीरकोटकै भाग्योदय माध्यमिक विद्यालयबाट सुरु गरेकी हुन् । भगवतीले दहथुम माध्यमिक विद्यालय, भीरकोटबाट एस.एल.सी. उत्तीर्ण गरिन् । उच्च शिक्षाका पोखरा झरेकी भगवतीले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसबाट मानविकी संकायमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरिन् ।
औपचारिक रूपमा प्रवीणता प्रमाणपत्र तहसम्मको मात्रै अध्ययन गरेकी भगवतीले अनौपचारिक रूपमा विभिन्न पुस्तकहरूको अध्ययनबाट आफ्नो ज्ञानको दायरालाई बढाउँदै लगेकी छन् । भगवती रेग्मीले भीरकोट नगरपालिका ७ बलमाटा ईन्द्रश्वाराका महेन्द्र अर्यालसँग विवाह गरिन् । आफू राजनीतिमा सक्रियतापूर्वक लाग्नुको श्रेय उनी श्रीमान् र परिवारलाई दिन्छिन् । श्रीमान् महेन्द्रको हौसला र सहयोग भगवतीको राजनीतिक यात्राको बलियो सारथी बनेको छ ।
भगवती र महेन्द्रका दुई छोरी र एक छोरा गरी तीन जना सन्तान छन् । राजनीतिक तथा सामाजिक यात्रामा पनि उनका श्रीमान् र परिवारका सबै सदस्यले निरन्तर साथ र सहयोग प्रदान गर्दै आएका छन् । भगवती आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोत आफ्ना बाबा–आमा र श्रीमान् महेन्द्र अर्याल लाई मान्छिन् । नेपाली समाजमा महिलाहरू घरभित्रका काममा बढी व्यस्त रहनुपर्दछ । सामाजिक दायित्व बोकेका महिलाहरूलाई पारिवारिक र सामाजिक जीवन व्यवहार बिच सन्तुलन कायम गर्न निकै हम्मेहम्मे पर्छ ।
‘राजनीतिमा लाग्दै गर्दा सामाजिक काममा बढी ध्यान दिनु नै पर्यो, अनि घरको काम पनि कसरी कतिबेला गर्ने ? भन्ने चिन्ता भइरहने तर दुवै कामको लागि समय व्यवस्थापन गरेर परिवार र समाज दुवैको मन जितेर अघि बढेकी छु’ भगवतीले सुनाइन्, ‘सामाजिक काम गर्ने व्यक्तिलाई परिवारको सहयोग एकदमै जरुरी हुन्छ, जुन मैले पाएको छु ।’
भगवतीका आफ्नो परिवारप्रति जिम्मेवार छिन् उति नै समाज र आफ्नो राजनीतिक जिम्मेवारीप्रति पनि । ‘महिला नै हो यसले के नै गर्न सक्छे र ? भन्ने जस्ता हीनताबोध गराउने भनाई पनि सुन्नु नपरेको होइन । तर पुरुष प्रधान समाजमा पनि म पनि एउटा नारी हो महिलाहरूको आवाज उठाउनु पर्छ र महिलाहरूलाई अगाडी बढाउनु पर्छ भन्ने सोच राखेर त्यस्ता भनाइको प्रवाह नगरी काम गरी नै रहेको छु’ भगवती सुनाउँछिन् ।
समाजमा आइपरेका जुन सुकै समस्या भए पनि समाधानको लागि मद्दत गर्न सक्छु भन्ने भावना आफूमा रहेको उनी बताउँछिन् । परम्परागत कु-मान्यताका कारण आजसम्म पनि छोरी, बुहारीहरूले पारिवारिक, आर्थिक, सामाजिक विषयमा आफ्नो विचार अभिव्यक्त गर्दैनन् गरिहाले पनि खासै सुनुवाइ हुँदैन ।
छोरीहरूलाई खुलेर हाँस्न, खुलेर खेल्न वातावरण बन्दैन । संस्कारका नाममा गरिएको अभिव्यक्तिमाथिको बन्देजमा हुर्किएका महिलाहरू अझै पनि आफ्ना कुरा नडराई, निर्धक्क भएर भन्न सक्दैनन् । भगवती ती बोल्न नसक्ने महिलाको आवाज बनेकी छिन् । उनीहरूलाई बोल्नुपर्छ, आफ्नो विचार राख्नुपर्छ, सामाजिक क्रियाकलापमा सहभागिता जनाउनुपर्छ भन्ने उत्प्रेरणा जगाउन लागि परेकी छन् । महिला दिदीबहिनीहरूलाई जागरूक बनाउन उनीहरूको कार्यस्थलमा नै गएर हौसला बढाउने गरेको भगवती बताउँछिन् ।
‘चौतारीमा बसेर होस्, मेलामा गएर होस्, घाँस दाउरा गर्न जाँदा होस् वा आमा समूहको मिटिङमा होस् जहाँ पनि महिलाको साक्षरता र जीवनपर्यन्त सिकाइलाई प्रभावकारी बनाउन प्रेरणा दिने गरेको छु, संविधानले महिलाहरूलाई दिएको हक अधिकार बारे आफूले जानेका ज्ञान बाँढ्ने गरेको छु’ भगवती भन्छिन्, ‘संविधानमा उल्लेख भएका हक अधिकार व्यवहारमा पाएका छन् कि छैनन्, अधिकार सुनिश्चित गर्ने भन्ने सुझाव सल्लाह दिने बानीको विकास गर्न पनि मैले बेला बेला सल्लाह सुझाव दिएको हुन्छु ।’
हाम्रो घर समाज विकासका निम्ति अगाडि बढे हाम्रो नगरपालिका, हाम्रो जिल्ला हाम्रो प्रदेश र हाम्रो देश अघि बढ्छ, हामी सक्षम भए देश बन्छ भन्ने विषयमा नगरवासीलाई प्रेरित गर्ने अभियानमा भगवती छिन् । सामाजिक हितमा काम गर्दा स्वयंममा सन्तुष्टि मिल्ने र लोकहित हुने मान्यता आत्मसाथ गर्दै उनी अघि बढिरहेकी छन् ।
सानैदेखि राजनीतिक गतिविधिमा सक्रियतापूर्वक चासो राख्ने गरेकी भगवती रेग्मी अर्यालले २०४७ सालदेखि आफ्नो राजनीतिक यात्रा प्रारम्भ भएको बताउँछिन् । उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको सक्रिय सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेकी हुन् । विद्यार्थीको हकहित र शैक्षिक सुधारका मुद्दाहरूमा वकालत गर्दै भगवतीले थालेको राजनीतिक यात्रा अहिले नगरपालिकाको उपप्रमुख सम्म आइपुगेको छ । भगवती नेपाली कांग्रेसको ११ औँ महाधिवेशनदेखि सदस्यका रूपमा निरन्तर सक्रिय हुँदै आइन् ।
उनी १२औँ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएकी थिइन् । भगवती १३ औँ महाधिवेशनमा पुनः जिल्ला कार्यसमिति सदस्यमा मनोनीत भइन् । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई २ हजार ३७३ मतान्तरसहित भीरकोट नगरपालिकाको नगर उपप्रमुख पदमा विजयी भइन् । जनताले आफूप्रति गरेको विश्वास स्वरूप आफू निर्वाचित भएको भन्दै भगवतीले मतदाताको विश्वास अनुरूप नै काम गर्दै आएको दाबी गर्छिन् ।
भगवती भन्छिन्, ‘नगरपालिकामा बसेर आफ्नै गाउँ ठाउँको विकास गर्ने उनको अठोट छ । नगरपालिकामा गर्नुपर्ने धेरै काम छन् स्रोत र साधनको अभाव छ ।त्यसका बाबजुद गर्न अत्यावश्यक कामहरु पुरा गर्ने लक्ष्य राखेको छु र फेरि पनि अवसर पाए नगरपालिकाको नेतृत्व लिने इच्छा छ ।’
भगवतीको राजनीतिक जीवन सपना, संघर्ष, समर्पण र सेवाको अदम्य इच्छाशक्तिले भरिएको छ । भगवती रेग्मी अर्यालको नेतृत्वमा भीरकोट नगरपालिकाले संविधानमा तोकिएका महिला, बालबालिका र नागरिक अधिकारका प्रावधानहरूलाई व्यवहारमा रूपान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । महिलाहरूलाई आत्मनिर्भर बनाउन सीप विकास तालिम र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेको भगवती बताउँछिन् ।
हाल भीरकोटमा व्यवसायमा महिलाको सहभागिता विस्तार भएको भगवतीको भनाई छ । उनका अनुसार महिला हिंसा न्यूनीकरणका लागि सुरक्षा समिति बनेको छ । कानूनी सहायता केन्द्रको व्यवस्था गरिएको छ । यसरी नगरमा महिला मैत्री वातावरण निर्माण गरिएको छ । छोरीहरूलाई सुरक्षित र स्वावलम्बी बनाउन विद्यालय तहदेखि नै लैङ्गिक सचेतना, किशोरी स्वास्थ्य र जीवन कौशल तालिम प्रदान गर्ने गरिएको छ ।
महिलाहरूमा नेतृत्व क्षमता वृद्धि गर्न, सामाजिक संघसस्थाहरूको व्यवस्थित सञ्चालन गर्न योग्य बनाउन तथा सार्वजनिक कार्यक्रमहरूमा निर्धक्क र आत्मविश्वास महिला दिदीबहिनीहरूलाई उद्यमी, व्यवसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम, बुटिक तालिम, ब्युटीसियन, सिलाई कटाई, झोला बन्ने तथा बनाउने जस्ता तालिम सञ्चालन गरिएको भगवतीले बताइन् ।
उनका अनुसार गाउँघरमा प्रशस्त पाइने बाँसबाट उपभोग्य सामाग्री निर्माण गर्ने हस्तकलाको सीप, मेसिनबाट सालको पातबाट बन्ने दुना टपरी बनाउने सीप सिकाएर प्लास्टिकका सामानलाई विस्थापित गर्दै जाने प्रयास थालिएको छ ।
भगवती भन्छिन्, ‘वडा नम्बर ६ का महिलाहरुले नौमती बाजाको बजाउने तालिमको माग गर्नुभयो, पहिले पहिले पुरुषले मात्र बजाउने नौमती आजकाल हाम्रै पालिकाका दिदीबहिनीले बनाएको देख्दा लोक संस्कृतिमा समानताको महसुस हुन्छ ।’
आमा समूहहरूले मादल बजाउने तालिम पनि लिएका छन् । जसले गर्दा गाउँघरमा हुने पूजा, विवाह, व्रतबन्ध जस्ता पर्व उत्सवहरूमा बाजा बजाएर अर्थ उपार्जन समेत हुने गरेको छ । यस्तै आफ्नै घरमा उत्पादन भएका तरकारीहरूबाट विभिन्न किसिमका अचार बनाउने तालिम, मौरी पालन तालिम, अपाङ्गता भएका व्यक्तिहरूको लागि बाख्रा पालन गर्न बयर पाठी वितरण र मौरीको घार वितरण जस्ता कार्यक्रमले कृषि र पशुपालनमा स्थानीयको रुचि वृद्धि गरेको छ ।
कृषि उत्पादन र बजार व्यवस्थापनमा आधुनिकीकरण गर्ने प्रयास थालिएको भगवती बताउँछिन् । स्थानीय नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिँदै स्थानीय स्वास्थ्य संस्थाहरूलाई सुदृढ गर्दै आधारभूत रूपमा निःशुल्क स्वास्थ्य सेवा प्रवर्द्धनको प्रयास भइरहेको छ । खानेपानी, सडक, पुलपुलेसा, कुलो र सरसफाइका क्षेत्रमा दिगो सुधारका कार्यक्रम, मठमन्दिर, गुम्बाहरूको संरक्षण तथा पुनर्निर्माण मार्फत धार्मिक-सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनका कार्यक्रम गरिएका छन् ।
भीरकोट नगरपालिकाको मुख्य आम्दानीको रूपमा रहेको नदीजन्य पदार्थ (ढुङ्गा गिटी बालुवा) को कारोबारलाई लाई व्यवस्थित, वातावरणमैत्री बनाउन ग्रिजिस्क्रिनिङभाईब्रेटर मेसिन जडान गरिएको भगवतीले बताइन्। सोही स्थानमा पार्क निर्माण गरिएको छ। पार्कमा ताल, मन्दिर, पिकनिक स्पोर्ट निर्माण गर्ने पालिकाका योजना छ ।
भीरकोट वडा नम्बर ५ मा रहेको सोरेक मैदानमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । वडा नं. ९ स्थित गडहरे गुफा, वडा नं. ६ स्थित सुन्दर चौर, वडा नं ४ को जानते ढुङ्गा, वडा नं ३ को देउपुजे र कोखे झरना, खिलुङ कालिका मन्दिर, टोपी वन जस्ता प्राकृतिक एवं सांस्कृतिक स्थलहरुको प्रचारप्रसार तथा विकासलाई तीव्रता दिइएको छ । भगवती रेग्मी अर्यालको सपना ‘समृद्ध र आत्मनिर्भर भीरकोट’ हो । स्याङ्जाको मध्यभागमा करिब ७८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको र करिब २२५०० जनसङ्ख्या भएको भीरकोट नगरपालिका भगवतीको जन्मथलो र कर्मथलो दुवै हो । उनी जीवनको अन्तिम पल सम्म भिरकोटकै माटो सँग प्रेम गाँस्न चाहन्छिन् ।
थरिथरिका जातजाति, भाषाभाषी, परम्परा रीतिरिवाजमा रम्दै जीवनको झन्डै आधा शताब्दी गुजारेकी भगवती यहीँका डाँडाकाँडा र भीरपाखामा सम्पन्नता र समृद्धिको फूल फुलाउन चाहन्छिन् ।
समानता र समावेशितामा आधारित स्थानीय शासन जहाँ महिलाको हकहित र अवसरमा पहुँच सुनिश्चित भएको होस् यस्तो नगर बनाउने उनको उद्देश्य छ । शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई दिगो विकासका स्तम्भ बनाउँदै, सुशासन र पारदर्शितामार्फत नागरिक भरोसा बलियो बनाउने गरी काम गरिरहेको जिकिर सहित उनी उद्देश्य पुरा हुनेमा विश्वस्त भएको बताउँछिन् ।साथै भगवती भीरकोट नगर क्षेत्रको सांस्कृतिक विविधताको संरक्षण र स्थानीय सम्पदाको पहिचान तथा प्रवर्द्धन गर्न लागिपरेकी छन् ।
संघर्ष र सेवा लाई जीवनदर्शनका रूपमा ग्रहण गरेर अघि बढिरहेकी भगवती जनताको प्रिय प्रतिनिधि हुन् ।समाजसेवामुखी, कर्मनिष्ठ र दिगो विकासप्रेमी नेतृका रूपमा उनी अनवरत कर्म मैदानमा छिन् । भगवतीको दृष्टि, आत्मविश्वास र नेतृत्व क्षमताले भीरकोट नगरपालिका क्रमशः समृद्धिको दिशामा अघि बढिरहेको छ । भगवती भन्छिन्, ‘जनताको विश्वास, सेवाको भावना र विकासको प्रतिबद्धतामार्फत समृद्ध भीरकोट निर्माण नै मेरो जीवनको उद्देश्य हो ।’
जीवनसाथीको रूपमा भगवतीलाई सधैँ सामाजिक क्रियाकलापमा सहयोग र प्रेरित गरिरहेका श्रीमान् महेन्द्र क्यान्सर पीडित थिए ।
नेपाल र भारतको दिल्ली स्थित अस्पतालहरूमा उपचार गरे पनि २०७४ साल महेन्द्रको दुःखद निधन भयो। भगवती भन्छिन्, ‘श्रीमानको निधनपछि मेरो एकल जीवन निकै कष्टपूर्ण भयो, धेरै चुनौतीहरू सामना गर्नुपर्यो, श्रीमानको उपचारको लागि जग्गा समेत बेचेका थियौ, ऋण पनि लियौँ तर पनि दैवको लीला देहावसान भयो ।’
महेन्द्रको अनुपस्थितिमा भगवतीलाई भावनात्मक बज्रपात त पर्यो नै छोरा छोरीको लालन(पालन, पढाइ, उपचारको ऋणले आर्थिक संकटको स्थिति पनि समान गर्नुपर्यो । ‘निकै ठूलो बज्रपात परेको बेला पनि मेरो बाबा आमा र श्रीमानले समाज प्रति दिएको योगदानको कदर गर्नु पर्छ मेरा छोराछोरीको भविष्य हेर्नु पर्छ भन्ने जस्ता सोच राखेर घर परिवार र समाजको विकासको लागि निरन्तरता दिइरहे,’ उनी भन्छिन् ।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा छनोट भएकी छन्।)