मिठु देवी लामा
उपाध्यक्ष
लिसंखु पाखर गाउँपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उपाध्यक्ष
लिसंखु पाखर गाउँपालिका
संघीय राजधानी काठमाडौंबाट भौगोलिक दुरीको हिसाबले नजिक भए पनि विकासका हिसाबले टाढा छ। सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्षको जिम्मेवारीमा छिन्, मिठुदेवी लामा।
जसले शिक्षक जीवनदेखि सामाजिक सेवा हुँदै राजनीतिको नेतृत्वसम्मको यात्रा तय गरेकी छन्। उनी भन्छिन्, ‘मलाई पछुतो केही छैन, किनभने मैले गलत काम कहिल्यै जानेरै गरेकी छैन।’
यस गाउँपालिकाको सिमाना रामेछाप, काभ्रेपलान्चोक, दोलखा जिल्लासँग जोडिएको छ। यहाँका ८४ प्रतिशत बासिन्दा तामाङ समुदायका छन् भने अन्य दलित, नेवार, मगर र पहरी समुदायका बस्तीहरू पनि छन्।
गाउँको मुख्य उत्पादन भनेको मुडेको आलु हो। त्यस्तै वडा नम्बर एकमा सुन्तला र तीन, चार, पाँच वडामा आलु तथा किवीको उत्पादन प्रशस्त छ। गाउँको अर्थतन्त्र कृषि, लघु व्यवसाय र श्रममा आधारित छ।
उनी भन्छिन्, ‘हाम्रो गाउँ कृषि र श्रमसँग जोडिएको गाउँपालिका हो। यहाँका जनताले इमानदारीपूर्वक मिहिनेत गरेर जीवन धानिरहेका छन्।’
शिक्षकबाट समाजसेवी
उनको जन्म र हुर्काइ राजनीतिक परिवेशमा भयो। उनका हजुरबुबा र मामाहरू पञ्चायत कालमा प्रधानपञ्च र उपप्रधानपञ्च थिए। राजनीतिक माहौलमै हुर्किए पनि उनले आफ्नो प्रारम्भिक जीवनलाई शिक्षण पेसामा समर्पित गरिन्।
२०४२ सालमा एसएलसी पास गरेपछि उनी शिक्षण क्षेत्रमा प्रवेश गरिन्। २७ वर्ष लामो शिक्षक जीवनमा उनले असङ्ख्य विद्यार्थीहरूलाई शिक्षाको उज्यालो बाटो देखाइन्।
तर, शिक्षणसँगै उनले समाजसेवाको बाटो पनि सम्हालिन्। बालबालिका, महिला र दलित समुदायका लागि काम गर्ने क्रममा उनी विभिन्न स्थानीय समितिहरूमा सक्रिय भइन्।
बाल संरक्षण समिति, महिला सञ्जालदेखि लिएर गाउँ स्तरीय सचेतना कार्यक्रमसम्म उनी सक्रिय थिइन्। उनले हिमालयन आँखा अस्पताल र तिलगंगा आँखा अस्पतालसँग सहकार्य गर्दै बालबालिकाको आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिन्।
त्यसपछि पनि उनले पूर्वसेवाकालीन शिक्षक तालिम कार्यक्रममा जनजाति र दलित समुदायका शिक्षकहरूको छनोट समितिमा पाँच वर्ष काम गरिन्।
उनी भन्छिन्, ‘शिक्षक हुँदाहुँदै पनि सामाजिक जिम्मेवारी मेरो साइड प्रोजेक्ट थिए। तर त्यो साइड कुरा नै मेरो जीवनको मुख्य प्रेरणा बन्यो।’
यसरी मोडियो राजनीतितिर यात्रा
शिक्षण र समाजसेवाको लामो यात्रापछि मिठु देवी लामाले राजनीतिको बाटो रोजिन्। २०७४ सालमा उनले नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिइन्। तर पहिलो पटकको प्रयासमा उनी सफल हुन सकिनन्।
उनी भन्छिन्, ‘म शिक्षक भनेर मात्रै चिनेको समाज थियो। समय थोरै थियो, भूगोल फरक थियो। तर हारबाट म निराश भइन, बरु सिकेँ।’
विद्यालय सञ्चालनदेखि बालबालिका संरक्षणसम्मका काम निरन्तर गरिरहिन्। १४औँ महाधिवेशनमा उनले पार्टीमा जिम्मेवारी लिएर सक्रियता बढाइन्। पार्टीमा केन्द्रसम्मको प्रतिनिधित्व गरेपछि उनी फेरि स्थानीय चुनावमा अघि बढिन्।
२०७९ सालको स्थानीय निर्वाचनमा उनले पुनः उम्मेदवारी दिइन्, यो पटक उनी लिसंखुपाखर गाउँपालिकाको उपाध्यक्षमा विजयी भइन्। ‘७४ मा हारेँ, तर त्यसले मलाई जित्न सिकायो’ उनले भनिन्।
राजनीति, विशेषगरी ग्रामीण क्षेत्रमा, महिलाका लागि अझै सजिलो छैन। २०७९ मा टिकट वितरणको बेला उनको पार्टीभित्रै चुनौती आयो। समान वडाबाट पुरुष उम्मेदवार उठ्न खोज्दा उनलाई टिकट नपाउने सम्भावना बढ्यो।
तर, उनले पछि हटिनन्। उनी थप्छिन्, ‘मसँग पैसा थिएन, तर मसँग जनताको विश्वास थियो। भोट किनेर होइन जनताको मायाले जितेको हुँ। महिलाले जित्नका लागि पैसाले होइन, समाजमा गरेको कामले प्रमाणित हुनुपर्छ।’
महिलाको आर्थिक सशक्तीकरणमा जोड
अहिले गाउँपालिकाले महिलाका लागि आर्थिक सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरेको छ। महिलाहरूलाई जुत्ता–चप्पल बनाउने तालिम साबुन र अचार उत्पादन गलैँचा बुनाइ र मूढा बनाउने लघु उद्योग गृहिणी महिला सशक्तीकरण अभियान सञ्चालन उनैको पहलमा सुरु भएको छ।
‘महिला सशक्तीकरण नारामा सीमित हुनुहुँदैन, आर्थिक आत्मनिर्भरता बिना त्यो सम्भव छैन’ उनले महिलाको सहभागितालाई एउटा मोटरसाइकलको दुई पांग्रासँग तुलना गर्दै भन्छिन्, ‘मोटरसाइकलको एउटा टायर पन्चर भयो भने गन्तव्यमा पुग्दैन। त्यस्तै राज्य, समाज वा घर पनि महिला र पुरुषको समान सहभागिता बिना सफल हुँदैन।’
सामाजिक योगदान र दृढ नेतृत्वका कारण उनले हालै सी–लिज आइकन कार्यक्रमअन्तर्गत नेपालका ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरूको सूचीमा स्थान पाएकी छन्। यो सम्मान उनले आफ्नो व्यक्तिगत उपलब्धि नभई गाउँपालिकाका सबै महिलाको जितका रूपमा लिएकी छन्।
उनी सम्झिन्छिन्, ‘यो मेरो मात्र होइन, लिसंखु पाखरका ती सबै दिदीबहिनीहरूको मान्यता हो, जसले मलाई विश्वास गरेर अघि बढ्न हिम्मत दिनुभयो।’
राजनीतिमा आउँदा सबै कुरा सहज हुन्न। कहिलेकाहीँ सोच्ने गर्छिन्, ‘संविधानले तोकेको जिम्मेवारी पूरा गर्न नपाउँदा मन खिन्न हुन्छ। तर, कहिल्यै पछुतो छैन। किनभने मैले गलत ठाउँमा निर्णय गरेकी छैन। जानेर गल्ती गरेकी छैन, नजानेर भयो भने म एक्सक्युज गर्न तयार छु।
तर समाजले कहिलेकाहीँ ‘स्ट्रङ महिला’लाई ‘घमन्डी’को ट्याग लगाउने गुनासो पनि उनको छ। ‘सशक्त महिलालाई घमन्डी भनिन्छ, तर म त केवल आत्मविश्वासी छु’ उनले भनिन्।
उनको राजनीतिक प्रेरणा बाल्यकालदेखि नै थियो। कम्युनिस्ट विचारका शिक्षकहरूसँग पढ्दा उनले सामाजिक समानताको कुरा बुझेको बताइन्। पदका लागि नभई समाजका लागि काम गर्नुपर्ने बताइन्।
‘महिलाले पनि गर्न सक्छन् भन्ने कुरा म आफ्नै कामले देखाउन चाहन्छु’ उनले भनिन्, ‘मेरो सपना लिसंखुपाखरलाई आत्मनिर्भर र समान अवसर भएको गाउँपालिका बनाउने हो।’
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)