She Leads Icon

“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।

Information

पद्‍मा गुरुङ

पद्‍मा गुरुङ

उप– प्रमुख

बेसीशहर नगरपालिका

Voting Code: 24

पद्‍मा गुरुङ

बाल्यकालमा भोगेको अभावले पद्मालाई दुःखी मात्रै बनाइरहेन, सुख र संवृद्धिको लागि संघर्ष गर्न सिकायो । आमा समूहको सचिव, सामुदायिक विद्यालयको शिक्षक हुँदै जनप्रतिनिधि सम्मको जिम्मेवारीमा पुगेकी संघर्षशील नेतृ हुन्, पद्मा गुरुङ ।

पद्मा लमजुङ बेसीशहर नगरपालिकाकी उपप्रमुखको भूमिकामा छिन् । उनको जन्म २०२३ असोज २२ गते लमजुङको बाँझाखेतमा भएको हो । पद्मा आफ्नो बाल्यकाललाई सुखका लागि संघर्षको सुरुवाती समयमा रूपमा सम्झन्छिन् । ‘बाल्यकाल दुःखमा नै बित्यो, सामान्य खालको किसान परिवारमा जन्मे, हुर्के । बिहान बेलुका सकेको काम गर्नुपर्‍थ्यो, हतार हतार स्कुल गइन्थ्यो, नमिठो पटक्कै खान मन नलाग्ने, मिठो खाने रहरमा बित्यो बाल्यकाल ।’ उनी आफ्नो बाल्यकाल गाउँले परिवेशमा दुःख कष्ट भोग्दै बितेको बताउँछिन् ।

हालको बेसीशहर नगरपालिका वडा नं. ९ स्थित मुक्ति मिलन प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएकी पद्माले जनविकास माध्यमिक विद्यालय, बेसीशहरबाट २०४७ सालमा माध्यमिक शिक्षा परीक्षा एस एल सी उत्तिर्ण गरिन् । परिवारले भोगिरहेको आर्थिक कठिनाइ र गाउँले परिवेशको कारण एस एल सी पछि केही वर्ष पद्माको पढाई रोकियो । तर पढ्ने रहर उनको मनमा गढेर बसेको थियो त्यसैले धेरै वर्ष पछि उनले पुनः पढाइलाई निरन्तरता दिइन् र २०६५ सालमा प्रवीणता प्रमाणपत्र तहसम्मको शिक्षा पुरा गरिन् ।

पद्माको रुचिको क्षेत्र सञ्चार हो । ‘रेडियोमा समाचार पढ्न खुब रहर लाग्थ्यो,’ पद्मा भन्छिन् । तर परिस्थिति र रहरको तालमेल जुरेन । उनले शिक्षण पेशा अपनाइन् । पद्मा साहित्य र राजनीतिसँग सम्बन्धित पुस्तकहरू अध्ययन गर्न पनि रुचाउँछिन् । मुनामदन र आमा उनलाई मन पर्ने पुस्तकमध्ये पर्छन् । पछिल्लो पटक कुमारी, छक्कापञ्जा लगायतका चलचित्र पनि हेरेकी छन् । सामाजिक विषयवस्तुलाई उठान गरिएका पुस्तक तथा चलचित्रहरूले उनलाई भावुक बनाउँछ।

पद्मा सानै देखि सामाजिक गतिविधिमा सहभागी हुन रुचाउँथिन् । गाउँ टोलका महिलाहरूलाई एकताबद्ध गर्न र जागरूक बनाउन निरन्तर लागिन् । पद्मा आमा समूहको सचिव भएर गाउँले महिलाहरूको नेतृत्व लिइन् । दुःखी गरिबहरूलाई सहयोग पुर्‍याउन तत्पर रहने पद्मा सामाजिक संघ संस्थाको अगुवाइ गर्दागर्दै राजनीति तर्फ डोहोरिइन् ।

वि.सं. २०५२ सालदेखि शिक्षकका रूपमा ग्रामीण क्षेत्रका विद्यालयहरूमा अध्यापन गराएकी पद्माले २०७९ सालमा शिक्षण पेशा छाडेर स्थानीय निर्वाचनमा सहभागी भएकी हुन् । ‘स्थायी शिक्षकको रूपमा अध्यापन गराइरहेकी म उपदानमा निस्केर निर्वाचनमा होमिएकी हुँ ।’ पद्माले सुनाइन् ।

उनको राजनीतिक यात्रा २०६५ सालदेखि शुरु भएको हो । एक महिला कार्यकर्ताका रूपमा पार्टीभित्र उनको आन्तरिक राजनीतिक संघर्ष तथा समाजमा पारिवारिक, सामाजिक र राजनीतिक जिम्मेवारीहरू बिच सन्तुलन ल्याउन उनलाई सहज थिएन। पार्टीभित्र पनि महिलाले राजनीतिक हिंसा भोग्नुपर्ने कुरा आफूलाई महसुस भएको पद्मा बताउँछिन् । महिला भनेपछि जहाँ पनि दोस्रो दर्जाकै रूपमा हेरिने, क्षमताको कदर भन्दा पनि दया मात्रै देखाए जस्तो पद्मालाई लाग्थ्यो । तर सबै परिस्थितिसँग मुकाबिला गर्दै उनले आफ्नो राजनीतिक जीवनलाई अघि बढाइरहिन् ।

फलस्वरूप पद्माले २०७९ सालको स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट भाग लिने अवसर प्राप्त गरिन् । गाउँ समाजमा उनले गरेका सामाजिक कामको प्रभावले नै हुनुपर्छ विपक्षी पुरुष उम्मेदवारलाई ४ हजार भन्दा बढी मतले पछि पार्दै बेसीशहर नगरपालिकाको उपप्रमुख पदमा पद्मा निर्वाचित भइन् । भारी मतान्तर सहित पुरुष उम्मेदवारलाई पछि पार्दै चुनाव जितेकी पद्मालाई मत परिणामले समुदाय र सिंगो नगर प्रति साबिकको भन्दा पनि ठूलो जिम्मेवारीको भारी थपिएको अनुभूति दिलायो ।

घर परिवारको साथ र प्रेरणाले आमा समूहको सचिव देखि नगरपालिकाको उपप्रमुख सम्मको भूमिकामा पुगेको उनी बताउँछिन् । उनलाई आफ्नो परिवारप्रति गर्व छ । पद्माका बुवा जयबहादुर गुरुङ पञ्चायतकालीन समयमा वडा अध्यक्ष थिए । बुवाले आफ्नो समयको अनुभव पद्मालाई सुनाउँथे । ‘२०५० सालमा आमाको निधन भएपछि म माइतीमै बस्न थाले । दाजुभाइ नभएको हुनाले बुवाको हेरचाह गर्न म माइतीमा नै बस्न थाले । माइतीमा म बुवालाई सघाउँथे । बुवाले आफ्ना अनुभव सुनाउँदै मलाई अझै सामाजिक बन्न, जनतासँग घुलमिल हुन र नेतृत्व लिन प्रेरणा दिनुहुन्थ्यो ।’ पद्माले सुनाइन् । पद्माका श्रीमान् प्रिथीमान गुरुङ भूतपूर्व सैनिक हुन् । श्रीमान्ले पनि उनलाई सधैँ भरथेग गरिरहे । प्रिथीमान र पद्माका ३ सन्तान, २ छोरी १ छोरा छन् । सन्तानले पनि आमालाई सफल बन्न सधैँ साथ दिइरहे । उनी भन्छिन्- ‘मेरो परिवारको साथ र हौसलाले नै म यहाँसम्म आइपुगेकी हुँ ।’

परिवारको प्रेरणा र जनताको मतलाई साथमा लिएर सेवाको मैदानमा अनवरत खटिरहेकी पद्माको एउटै उद्देश्य छ समाज रूपान्तरण । समाजमा अझै पनि विभिन्न खाले विभेद कायमै छन् । गुरुङ संस्कारमा हुर्किएकी पद्माले गाउँमा हुने सामाजिक सांस्कृतिक उत्सवहरूमा विभेदको अनुभव गर्थिन् ।

‘म गुरुङकी चेली, गाउँमा बाहुनको बिहेमा जाँदा छुट्टै गुन्द्रीमा बसेर भोज खानुपर्ने, सँगै बस्न नदिने, भान्सामा पस्न नदिने, यो मलाई मन पर्दैनथ्यो ।’ पद्मा भन्छिन् यस्ता धेरै विभेदहरू जुन जातको नाममा, लिङ्गको नाममा, धनी गरिबको नाममा हुने गरेका छन् । ती भेदभाव र असमानता विरुद्ध बोल्न र सामाजिक संस्कारलाई सच्याएर समानताको स्थिति ल्याउन पद्मा राजनीतिमा लागेकी हुन् ।

बेसीशहर नगरपालिकाको उपप्रमुखका रूपमा जनताको प्रतिनिधि भइरहँदा उनले विभेदमा परेका, पछाडि पारिएका, दुःखी गरिब र निमुखाहरूको पक्षमा आवाज उठाइरहेकी छन् ।

नगरपालिकाको योजना र कार्यक्रमहरू मार्फत जातीय, लैङ्गिक तथा वर्गीय समानताको लागि काम भइरहेको उनी बताउँछिन् । महिलाहरूमा महिनावारी हुँदा छुई बार्ने कुरीति हटाउन कार्यक्रम सञ्चालन गरिएको छ । ‘महिनावारीको बेला छोरीहरूलाई पर सार्ने, बार्न लगाउने जस्ता परम्परा हाम्रो समाजमा छ, यसले गर्दा स्कुले नानीहरूलाई असर पर्ने, महिनावारी हुँदा विद्यालय जान गाह्रो हुने, महिनावारीको बेला फरक व्यवहार गरिँदा उनीहरूमा हीनताबोध हुने, मानसिक रूपमा असर पर्ने । त्यसैले यसको अन्त्य गर्न अन्तर धार्मिक सञ्जाल मार्फत जनचेतना फैलाउने काम भइरहेको छ ।’

पद्माका अनुसार अन्तर धार्मिक सञ्जाल नामक संस्थाले नगरपािलकासँगको सहकार्यमा महिनावारीलाई सुरक्षित र मर्यादित बनाउन जनचेतनामूलक कार्यक्रमहरू गर्ने गरेको छ । ‘महिनावारी भनेको नछुने हुनु होइन, साधारण प्राकृतिक प्रक्रिया हो भनेर सबै जातजाति तथा सबै धर्मावलम्बीका मानिसहरूमाझ जनचेतना फैलाउन काम भइरहेको छ ।’ कानुनी साक्षरताका कक्षाहरू मार्फत टोल-टोलमा जागरण फैलाइरहेको पद्मा बताउँछिन् ।

उप-प्रमुख गुरुङको पहलमा भएको अर्को महत्त्वपूर्ण काम हो- गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा । ‘पैसा नभएकै कारण, गाडी भाडा नभएकै कारण कोही पनि महिलाले घरमै सुत्केरी हुनु नपरोस्, सबै महिलाले अस्पतालमा सुरक्षित सुत्केरी हुने ग्यारेन्टी होस् भनेर निःशुल्क एम्बुलेन्सको कार्यक्रम ल्याएका हौ ।’ पद्माले भनिन्- ‘यो कार्यक्रम निकै प्रभावकारी भएको छ ।’

यस्तै, महिलालाई पाठेघरसम्बन्धी परामर्श सेवा जस्ता महिला लक्षित कार्यक्रमहरू बेसीशहर नगरपालिकामा कार्यान्वयन भएका छन् । बेसीशहरमा एकल पुरुषलाई विदुर भत्ता प्रदान गरिन्छ । पद्मा भन्छिन्- ‘श्रीमान्को मृत्युपछि एकल महिलालाई भत्ता दिइन्छ, त्यसरी नै श्रीमतीको मृत्युपछि पनि एकल पुरुषलाई हामीले भत्ताको व्यवस्था गरेका छौँ, किनभने अहिले पुरुष मात्रै आर्थिक उपार्जनमा लागेका हुँदैनन्, महिला र पुरुष दुवैले परिवारको लागि समान काम गरेका हुन्छन्, श्रीमान् होस् या श्रीमती, जसको मृत्यु भए पनि एक जना अपूर्ण हुने हो, त्यसैले एकल पुरुषलाई सान्त्वना स्वरूप भत्ताको कार्यक्रम ल्याएका हौ।’ एकल महिला र एकल पुरुषलाई निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताइन् ।

ग–वर्ग का अपाङ्गता भएका व्यक्तिलाई पनि भत्ता प्रदान गर्ने गरिएको छ । गाउँ गाउँमा फलेका कृषि उपज बिक्री गर्न सजिलो होस् भन्ने हेतुले कृषि एम्बुलेन्स चलाइएको छ । यसकै कृषकका लागि प्रोत्साहन रकम, उत्पादन–आधारित अनुदान, सीपमूलक तालिम, सेफ हाउस स्थापना जस्ता रोजमागरमुखी कार्यक्रमहरू लागु गरिएका छन् । यस्ता योजनाहरूको माध्यमबाट बेसीशहर नगरपालिकालाई कृषि, सामाजिक सुरक्षा र महिला सशक्तीकरणमा अग्रणी नगरपालिकाका रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।

मुख्यतया: कृषि र पशुपालनमा निर्भर बेसीशहर नगरपालिकाले अन्नबाली, तरकारी र नगदेबालीलाई प्रमुख उत्पादनका रूपमा लिएको छ भने अधिकांश परिवारहरूको आम्दानीको प्रमुख स्रोत पनि यही क्षेत्रमा आधारित छ ।

‘हामी सबैको रहर, संवृद्ध बेसीशहर’ भन्ने नगरपालिकाको मुलनारालाई आत्मसाथ गर्दै सबै वडाहरूमा सडक, विद्युत, खानेपानी जस्ता आधारभूत विकासका पूर्वाधारहरू पुर्‍याईएको छ । उपलब्ध सेवा सुविधा लाई अझ सुदृढ गर्दै नगरवासीलाई सुखी र समुन्नत बनाउन आफू हरदम लागिरहने उनले बताइन् ।

जनताको लागि काम गर्दागर्दै पनि हिजोआज युवापुस्तामा राजनीति र राजनीति गर्ने नेताकार्यकर्तालाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा अपजस व्यहोर्नुपरेको उनको गुनासो छ । समाजलाई सकारात्मक बनाउँदै विकासका काममा हातेमालो गर्न राजनीतिक दल, नेता, जनता र सबै पक्ष देशप्रति ईमान्दार हुनुपर्ने उनले बताइन् । ‘समयले जुन अवसर मलाई दिलायो, त्यसमा सन्तुष्ट छु’ पद्मा भन्छिन्, ‘उपमेयर भएर काम गरे, अब मेयर अथवा सांसदमा मेरो दाबी रहन्छ ।’ आफ्नो जीवन निस्वार्थ सेवाका लागि समर्पित गरेको दाबी गर्दै पद्मा भन्छिन्- म मेरो माटोप्रति इमान्दार छु ।’

(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)