She Leads Icon

“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।

Information

विना कुमारी भट्टराई

विना कुमारी भट्टराई

उप– प्रमुख

ठाकुरबाबा नगरपालिका

Voting Code: 18

विना कुमारी भट्टराई

संघर्ष र संयोगबीच जीवन कहिलेकाहीँ यति गहिरो सम्बन्ध बाँधिन्छ, जसले साधारण महिलालाई पनि असाधारण नेतृत्वमा रूपान्तरण गरिदिन्छ । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराई त्यही प्रेरणादायी उदाहरण हुन् ।

उनी अहिले राजनीतिक नेतृत्व, सामाजिक सेवा र महिला सशक्तीकरणको प्रतीक बनेकी छन्, तर यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष निकै कठिन र प्रेरणादायी रहेको छ । बिहेपछि पाल्पाको अर्गलीबाट बर्दियाको ठाकुरद्वारामा उनको परिवार बसाई सरेपछि उनका सबै संघर्ष उतै केन्द्रित भएका हुन् ।

जागिरपछि समाजसेवातिरको यात्रा

वि.सं. २०५३ देखि २०७३ सम्म उनले राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियामा काम गरिन् । २० वर्ष सेवा अवधि उनका लागि केवल जागिरको समय थिएन, बरु महिलाको जीवन बुझ्ने, उनीहरूको पीडा, असमानता र सम्भावनाको संसार चिन्नेको विद्यालयजस्तै बनेको थियो ।

‘हामीले महिलाको सिप विकास, आय–आर्जन र संरक्षणमा महिला सहभागिता बढाउने काम गर्थ्यौं,’ उनी सम्झिन्छिन्, ‘तर, काम गर्दै जाँदा महिलामाथि विभेद, घरेलु हिंसा र अधिकारहीनता देख्दा मन पोल्थ्यो ।’

घरमै सीमित महिलालाई तालिममार्फत बाहिर निकाल्ने, घाँस-दाउराका लागि निकुञ्ज पस्दा जोखिम कम गर्ने, वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिने- यी सबै कार्यमा उनी अग्रपङ्क्तिमा थिइन् । जागिरमा निश्चित जिम्मेवारी थिए, तर नीतिगत स्तरमा पुग्न सके अझ धेरै गर्न सकिन्छ भन्ने सोच उनीभित्र पलाइसकेको थियो । यहीँ सोचका साथ उनले जागिरपछि सामाजिक अभियानलाई अघि बढाउने संकल्प गरेको बताउँछिन् ।

‘जागिरको क्रममा मेरो जिम्मेवारी विशेषगरी महिलाहरूको सिप विकास र आय आर्जनमा जोड्दै संरक्षणमा महिला सहभागिता वृद्धि गर्नु थियो । महिलाहरूसँग काम गरिरहँदा महिलाको अवस्था नजिकबाट नियाल्ने अवसर प्राप्त भयो,’ उनले भनिन् ‘शिक्षाबाट वञ्चित,रोग लागे गुरुबाको मात्र भर पर्ने, घरेलु हिंसा, केही कुरा पनि निर्णय गर्न नपाउने, महिलालाई दोस्रो दर्जाको रूपमा मात्र हेरिनुजस्ता कुराले कसरी महिलालाई माथि उठाउन सकिन्छ होला भन्ने लाग्थ्यो ।’

‘घरबाट बाहिरै ननिस्कने महिलालाई सिपमूलक तालिम दिई घरबाट बाहिर निस्कने वातावरण, आयआर्जनका कार्यक्रमबाट थोरै भए पनि आफैले कमाउने वातावरणका साथसाथै वैकल्पिक ऊर्जा प्रयोगमा प्रोत्साहन गरी दिनभरि घाँस दाउराका लागि निकुञ्ज र जंगल जाँदा हुने जोखिम घटाउन धेरै काम गरिरहे,’ बिनाकुमारीले आफ्नो संघर्ष सुनाउँदै भनिन्- ‘त्यसका साथै अतिरिक्त समयमा महिलाका समस्याहरूमा बोलिदिने, अगाडि बढ्न चाहेकालाई सहयोग गर्ने जस्ता काम गरेँ । जागिरको निश्चित जिम्मेवारी र काम हुने हुँदा सबै कुरा सम्बोधन गर्न सम्भव थिएन । महिलामाथिको विभेद नजिकबाट देखेकी मैले नीति निर्माण तहमै पुग्न पाए थप काम गर्न सकिन्छ भन्ने लागिरहन्थ्यो ।’

राजनीतितर्फ यसरी मोडियो उनको यात्रा ?

२०६२/०६३ को आन्दोलनपछि देशभर लोकतान्त्रिक उत्साह फैलिएको थियो । महिलाको सहभागिता र अधिकारबारे जनचेतना बढ्दै थियो । विना भट्टराई पनि त्यसैबेला राजनीतिप्रतिको आकर्षणमा तानिइन्, यद्यपि प्रत्यक्ष संलग्न हुन सकेकी थिइनन् ।

राजनीतिबाट नै सबै तहमा कार्यान्वयन बनाउने नीति बनाएर कार्यान्वयनमा लैजान सकिन्छ भन्ने सोचका साथ उनले अबको पाटो त्यता लगाउने योजना बनाएको बताउँछिन् ।

२०७४ सालमा स्थानीय तहको निर्वाचन घोषणा भयो । संविधानले प्रमुख वा उप-प्रमुख पदमध्ये एक महिला हुनुपर्ने प्रावधानले उनलाई मौका दियो । उनी जागिर छाडेर पूर्ण रूपमा राजनीतिमा होमिइन् ।

‘मलाई लाग्यो- अब नीति निर्माण तहमै पुग्न सके महिलाका लागि ठूला काम गर्न सकिन्छ’ उनी भन्छिन्, ‘परिवारले पनि साथ दियो । विशेषतः श्रीमानले राजनीति गर्ने हिम्मत जुटाउन प्रेरणा दिनुभएको हो, परिवारबाटै त्यो वातावरण तय नभएको भए सम्भव हुने थिएन ।’

तर पहिलो प्रयास सफल भएन । उपप्रमुखमा उठेकी उनी सानो मतान्तरले पराजित भइन् । जागिर गई सकेको, चुनाव हारेको अवस्था- त्यो क्षणले कसैलाई पनि निराश बनाउँथ्यो । तर बिनाकुमारी भट्टराई भुईँमा थामिइनन् र हरेस पनि खाइनन् । ‘त्यो पराजयले मलाई झन् जिम्मेवार बनायो, अनुभवी बनायो, पार्टी संगठन बलियो बनाउने, जनताको बीचमा पुग्ने काम जारी राखेँ र आफ्नो अभियानलाई निरन्तरता दिएँ,’ उनी भन्छिन् ।

पाँच वर्षपछि २०७९ को स्थानीय तह निर्वाचनमा उनले पुनः उम्मेदवारी पाइन् । यो पटक उनले जनताको विश्वास जितिन् र ठाकुरबाबा नगरपालिकाको उप-प्रमुख बन्न सफल भइन् । उनी विजयी भएपछि भनेको कुरा आज पनि धेरैलाई प्रेरक लाग्छ-‘पहिलो पटक पराजयले पायमाथि पाइलो थपिएको थियो, दोस्रो पटक जनताले त्यो पाइलो मजबुत बनाएँ ।’

उपप्रमुखको जिम्मेवारी: योजना र परिणाम

उनी पदमा पुगेपछि पहिलो काम गर्न चाहिन् र जनताको काममा निरन्तर खटिइन् । संरचनागत सुधार, नगरको आवधिक योजना, राजस्व सुधार योजना, मध्यकालीन खर्च संरचना र रणनीतिक नीति निर्माणमा समन्वय गर्दै उनले कार्यसम्पादनमा गति ल्याइन् । न्यायिक समितिको संयोजकका रूपमा उनले स्थानीय विवाद समाधानमा उल्लेखनीय भूमिका खेलिन् । तीन वर्षमा ३२५ भन्दा बढी विवाद मेलमिलापमार्फत समाधान गराइन् । नगर राजस्व सुधारका लागि पनि उनले ठोस काम गरिन् । ‘पहिले समूह र व्यक्तिहरूले उठाइरहेको मेला, हाटबजारको शुल्क अब पालिकाले उठाउने व्यवस्था गर्‍यौं,’ उनी भन्छिन् ‘राजस्व शतप्रतिशत पालिकाको खातामा जम्मा हुने प्रणाली सुरु गरियो ।’

शिक्षामा उनले कक्षा १२ सम्म निःशुल्क अध्ययनको नीति कार्यान्वयन गरिन् । स्वास्थ्यमा २४ घण्टा इमरजेन्सी सेवा, सर्पदंश उपचार, निःशुल्क रेविज खोप, बर्थिङ सेन्टर स्तरोन्नति, र पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालनमा उनले सक्रिय भूमिका खेलिन् ।

अपाङ्ग, द्वन्द्वपीडित र हिंसा पीडितका लागि जीविकोपार्जन सहयोग, महिलाको कामको बोझ घटाउन विद्युतीय चुलो वितरण, कृषकका लागि समर्थन मूल्यमा खरिद- यी सबै कार्यक्रमले ठाकुरबाबालाई जनमुखी नगर बनाएको छ ।

देशकै उत्कृष्ट पालिका बनाउने अभियान बनाएको र त्यो सम्भव रहेको उनको संकल्प छ । उनको कार्यकालमा ठाकुरबाबा नगरपालिका धेरै सूचकमा देशकै उत्कृष्ट घोषित भएको छ जहाँ उनी दोस्रो भूमिकामा भए पनि अगुवाइ गरेर हरेक कार्यक्रम अगाडि बढाएकी छन् ।

शिक्षामा उत्कृष्ट पालिका

सेवा प्रवाह र सुशासनमा नमुना पालिका

ऊर्जा दक्ष भवन नीति र कार्यान्वयनमा सम्मान

विद्यालय र स्वास्थ्य संस्थामा मर्मत कोष स्थापना गर्ने पहिलो पालिका

र देशकै पहिलो पूर्ण हात धुने पालिका

यी सबै उपलब्धिले विना भट्टराईको नेतृत्वमा स्थानीय शासनमा महिलाको सम्भावना देखाएको छ ।

सानो उमेरको विवाहपछिका कठिन संघर्ष

०२८ सालमा पाल्पाको अर्गलीमा जन्मेकी बिनाकुमारीको व्यक्तिगत जीवन उस्तै संघर्षपूर्ण छ । ०४५ सालमा उनको पाल्पामै बिहेपछि दोहोरो जिम्मेवारीका कथा अहिलेको पिँढीलाई विश्वास लाग्न पनि कठिन छ । उनको कथा राजनीतिक भन्दा पनि मानवीय दृष्टिले हृदयस्पर्शी छ । बिनाका बाबु भारतमा श्रमिकका रूपमा काम गर्थे, वर्षमा एक पटक मात्र घर फर्किन्थे । आमाले सारा जिम्मेवारी सम्हाल्थिन् ।

‘हाम्रो समाजमा छोरालाई चाहिने मानसिकता कति गहिरो थियो’ उनी सम्झिन्छिन्, ‘१२ वर्षपछि भाइ जन्मिएपछि मात्र समाजले आमालाई सम्मान गर्न थाल्यो ।’ त्यो परिवेशले विनाको सोचमा गहिरो छाप छोड्यो । ‘आमाको संघर्ष नै मेरो प्रेरणा हो’ उनी भन्छिन्, ‘हिम्मत, आट र निरन्तरता म उहाँबाट सिकेकी हुँ ।’

सानै उमेरमा बिहे भयो र छोराछोरी पनि छिटै जन्मिए । श्रीमान् शिक्षक थिए, तर आम्दानी सधैँ सबै परिवारकै साझा हुन्थ्यो । आर्थिक अभावले कहिलेकाहीँ बालबालिकाका आवश्यकतामै सम्झौता गर्नुपर्थ्यो । ‘बच्चालाई सेरेलेक्स खुवाउन मन लाग्थ्यो, तर फजुल खर्च ठानिन्थ्यो’ उनी हाँस्दै भन्छिन्, ‘त्यो बेला पैसा भन्दा माया र धैर्य नै ठूलो थियो ।’

घरको काम, बच्चा पालन, अनि सँगै कामको खोज-दिनरात व्यस्त जीवन । सानो तलब र अस्थायी कामबीच पनि उनी कहिल्यै हतारिएनन् । कहिले घर-घरमा ट्युसन पढाइन्, कहिले सर्भे फारम भर्ने काम गरिन् ।

परिवारमै भोगेको विभेद

‘पहिला हामी २ छोरी मात्र थियौँ तर सामाजिक विभेदका कारण १२ वर्षपछि कान्छी बहिनी र फेरि भाइ जन्मिएको हो । आखिर जे भए पनि छोरा नै चाहिने समाजमा छोराछोरी बीचको नजानिँदो विभेद भोग्यौँ ।’ उनले सुनाइन् ‘हरेक काममा आमाले गर्नुभएको मेहनत,समाजले उहाँलाई गर्ने मूल्यांकन, प्रयोग गरिने शब्दहरू अझै पनि सम्झिन्छु । हुन त सानोमा ती शब्दका भाव पनि बुझिएन, आमाले गर्नुभएको संघर्ष पनि बुझिन तर जब बुझ्ने भए बल्ल थाहा भयो । हिम्मत, आँट, निरन्तर संघर्ष गर्नुपर्छ भन्ने मेरो प्रेरणाको श्रोत मेरो आमा नै हुनुहुन्छ ।’

विवाहपछि छुटेको पढाई १२ वर्षपछि थालेर सफल

विवाहपछि पढाइ टुटेको थियो, तर उनले १२ वर्षपछि फेरि पढाइ सुरु गरिन् । ‘बबई बहुमुखी क्याम्पसमा आइ.ए. पढ्न भर्ना भएँ’ उनी बताउँछिन्, ‘दिनभर जागिर, रातभर पढाइ- तर असफल भएन ।’

पछिल्लो चरणमा उनले स्नातक र त्यसपछि स्नातकोत्तर तह पनि पूरा गरिन् । ‘मेरो छोराले नै नबुझिएको कुरा सिकाउँथ्यो,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘यो मेरो जीवनको सबैभन्दा मिठो समय थियो ।’ माध्यमिक तहसम्मको शिक्षा पाल्पाबाट र त्यसपछि स्नातकोत्तर तहसम्मको शिक्षा महेन्द्र बहमुखी क्याम्पस नेपागन्जबाट गरेकी उनी १७ वर्ष हुँदा छोरा र १९ वर्षमा छोरी जन्मिएका थिए ।

‘जागिर शुरू गरेपछि भने पुनः १२ वर्षपछि फेरि बबई बहुमुखी क्याम्पस गुलरियामा आइएमा भर्ना भएँ । रेगुलर फर्म भरे पनि कक्षा लिन सम्भव थिएन तर पनि घरमै पढेर परीक्षा दिएँ, पास भएँ यसबाट थप हौसला भयो । पुन निरन्तर पढाइ जारी राखेँ,’ उनले भनिन् ‘घरको काम, दिनभरि जागिर, घरमा होटल व्यवसाय थियो, साँझविहान त्यहाँ काम, जागिरको काममा पनि ८/१० किमी पनि साइकलमा गाउँगाउँ डुल्नुपर्थ्यो । तर कामप्रतिको समर्पणले दुख लाग्थेन । स्नातक भर्ना भए पनि पढ्ने समय थिएन त्यसैले रातभरि पढ्थेँ, तर असफल हुन परेन, छोराले पनि मलाई नजानेको कुरा सिकाउँथ्यो ।’

राजनीतिक संघर्ष र महिला नेताको कठिनाइ

२०७४ को पहिलो निर्वाचनमा उनी हारिन्, तर त्यो हारभन्दा गहिरो घाउ भने सामाजिक चरित्रहत्याको प्रयास थियो । ‘महिला बाहिर निस्कन खोज्यो कि आरोप लाग्छ,’ उनी भन्छिन्, ‘राजनीतिमा महिलालाई हरेक पाइला–पाइलामा प्रमाणित हुनुपर्छ ।’

दलभित्रकै प्रतिस्पर्धा, सामाजिक सञ्जालका बदनामी, र आर्थिक अभावबीच पनि उनले हिम्मत हारिनन् । ‘पहिलो चुनावपछि जागिर गइसकेको थियो, व्यवसाय पनि कोरानाले बन्द भयो,’ उनी सम्झिन्छिन्, ‘तर श्रीमान् र छोराछोरीको साथले फेरि उठ्न सकेँ । ’ त्यो नै उनको जीवनको मोड थियो,जहाँ हारले उनलाई झनै बलियो बनायो ।

नेतृत्वमा महिलाको सम्भावना र चुनौती

आज उनी उपप्रमुखको कुर्सीमा छन् । तर भन्छिन्- ‘उप-प्रमुख कार्यकारी पद होइन, तर जिम्मेवारी कम हुँदैन ।’

जनताको असीमित आवश्यकता र सीमित स्रोतबीच काम गर्न सजिलो छैन । ‘कतिपय मानिस सधैं नकारात्मक कुरा लेखिरहन्छन्’ उनी भन्छिन्, ‘तर जनताका लागि साँचो काम गरेपछि समुदायको साथ पाइन्छ ।’

उनका अनुसार नेतृत्वमा पुग्ने महिला अझै पनि सामाजिक पूर्वाग्रह र मानसिक दबाबबाट पूर्ण स्वतन्त्र छैनन् । ‘महिलाले हरेक निर्णयमा आफूलाई दोहोरो रूपमा प्रमाणित गर्नुपर्छ’ उनी भन्छिन्, ‘तर समय बदलिँदै छ, अब महिलाले नीति निर्माण तहमा पुग्ने बाटो खोलिएको छ ।’

टिमवर्क र सकारात्मक प्रशासनिक संस्कार

बिनालाई आफ्नो काम सहज लाग्छ । ‘नगरप्रमुखसँग सल्लाह गरेर निर्णय हुन्छ, कर्मचारी पनि सहयोगी छन्’ उनी भन्छिन्, ‘टिमवर्क राम्रो भयो भने असम्भव जस्तो लाग्ने लक्ष्य पनि पूरा गर्न सकिन्छ ।’

उनले आफैँले गर्न सक्ने काममा कर्मचारीको मुख ताक्दिनन् । यही व्यवहारले कर्मचारीबीच पनि उनको सम्मान छ ।

‘नगरपालिकामा मलाई काम गर्न असहज कहिल्यै भएन । किनकि मलाई मेरो जिम्मेवारी प्रष्ट थाहा छ र नगरप्रमुखले हरेक कुरामा सल्लाह गर्ने, साथ दिइरहनुभएको छ,’ उनले भनिन् ‘आफूले जानेको भए कर्मचारीको मुख ताकेर बस्दिन । कर्मचारीले गर्ने कतिपय काम पनि म आफै गरिदिन्छु त्यसैले कर्मचारी पनि सपोटिभ हुनुहुन्छ । टिमले काम गर्ने हो, टिमवर्क राम्रो भए सोचेका लक्ष्य पुरा गर्न सकिन्छ ,जबाफदेहिता र जिम्मेवारी पनि सामूहिक नै हुन्छ ।’

संघर्षको मूल्य र नयाँ पुस्ताका लागि सन्देश

बिना भट्टराईको यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, यो हजारौँ महिलाको प्रतिनिधि कथा हो, जसले घर, परिवार, आर्थिक संकट र सामाजिक पूर्वाग्रहसँग जुध्दै आफूलाई स्थापित गरिन् । ‘संघर्ष नगरी सफलता सम्भव हुँदैन’ उनी भन्छिन्, ‘तर संघर्षले कहिल्यै डराउनु हुँदैन, त्यो नै हाम्रो शक्ति हो । ’

उनले नेतृत्वमा पुगेर पनि आफूलाई ‘सेवक’का रूपमा हेर्छिन् । ‘म जनताको सेवामा छु, मलाई अधिकार होइन, जिम्मेवारी ठूलो लाग्छ’ उनी भन्छिन् ।

सानो उमेरमा विवाह, सीमित स्रोत, परिवारको दोहोरो जिम्मेवारी, सामाजिक विभेद, आर्थिक अभाव, चरित्र हत्याका प्रयास, राजनीतिक असफलता । यी सबै पार गर्दै उनी आज बर्दियाको महिला मात्र होइन, सम्पूर्ण देशका महिलाका लागि संघर्ष र दृढताको प्रतीक बनेकी छन् । बिनाको संघर्षको कथाले जीवनमा कहिले पनि ढोका बन्द हुँदैन र तयारी, धैर्यता र आत्मविश्वासले कहिल्यै भाग्यसँग सम्झौता गर्नुपर्दैन भनेर सिकाएको उनका सहकर्मीहरू बताउँछन् ।

जुन हातले साना कपडाका टुक्रा धोएर रात बिताउँथ्यो, आज त्यही हातले नीति र योजनामा हस्ताक्षर गर्दै जनताको जीवन उज्यालो बनाइरहेको उनीहरूको विश्लेषण छ । त्यसैले, उनी भन्छिन्- ’मलाई काम गर्न असहज छैन’, त्यो वाक्य केवल प्रशासनिक सहजता होइन, एउटा महिलाको जीवनभरको संघर्ष र आत्मविश्वासको निचोड हो ।

(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)