विद्या देवी भुजेल
उप– प्रमुख
धनुषाधाम नगरपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उप– प्रमुख
धनुषाधाम नगरपालिका
मधेस प्रदेशको दक्षिणी भागमा फैलिएको, ऐतिहासिक, सांस्कृतिक र पौराणिक गाथाले भरिएको भूमि । यही भूमिबाट कहिल्यै नथाक्ने ऊर्जासहित आफ्नो जीवन जनताका भलाइमा समर्पित गरिरहेकी छन् विद्यादेवी भुजेल । अहिले उनी धनुषाको धनुषाधाम नगरपालिकाकी उपप्रमुखमा दोहोरिएर जितेकी हुन् ।
दोस्रो कार्यकालको करिब डेढ वर्ष मात्र बाँकी छ । पहिलो पाँच वर्ष सकियो, दोस्रो कार्यकालको आधा समय पनि उनले जनताको बीचमै घुलमिल हुँदै बिताइसकिन् ।
तर विद्या देवीको यात्रा आजको प्रतिष्ठित कुर्सीदेखि होइन, घुम्टाको अँध्यारो, लाजको अवरोध, समाजको परम्परागत बन्धन र तराईमा जन्मेकी युवती १५ वर्षमै माघी बिहे गरेर पहाड बसेर संघर्ष गर्दै जनताको प्रिय पात्र बनेकी छन् । सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ तर एउटा साहसी मधेसी महिलाले तय गरेको असम्भवजस्तै बाटोबाट सुरु भएको उनको जीवन संघर्ष अहिले उनले पाएको पदमा हेर्दा सामान्यजस्तो लाग्न सक्छ ।
ऐतिहासिक, धार्मिक र मिथिलाको ‘अदृश्य शक्ति’ : मधेसको सामाजिक चित्र रहेको उनको बुझाई छ । र यसमा उनको गौरव पनि छ । भुजेलका अनुसार धनुषा रामायणकालीन इतिहास बोकेको भूमि भएको र भगवान् राम जनकपुरधाम पुगेको, सीताको बिहे भएको पवित्र स्थल अनि धनुषाधाम, जनकपुर, मिथिलाका कुण्ड, मठ-मन्दिर… हरेक मोडमा इतिहास बोल्ने आवाज भएकाले यसको पौराणिक इतिहास नै बलियो रहेको छ ।
तर यति ठूलो इतिहास बोकेका ठाउँमा महिलामाथिका विभेद निकै धेरै छन् । उनी आफैले चाहेर पढ्न नपाएको अहिलेसम्म पछुतो छ तर पढेका सक्षम व्यक्तिले भन्दा उनले गरेका काम अनुकरणीय छन् । त्यही समाज, जहाँ अझै पनि महिलाको आवाज कमजोर मानिन्छ, घरभित्र सीमित गरिन्छ, सदियोंदेखि चल्दै आएको सामाजिक संस्कारले महिलालाई पर्दा–घुम्टामै रोकिनुपर्ने नियम बनाएको छ उही उनै भुजेल जनप्रतिनिधि बनेकी छन् दोहोरिएर जसलाई राम्रो गरी लेखपढ गर्नसमेत आउँदैन तर जनताको मनमनमा पुगेकी छन् ।
त्यही भूमिमा जन्मेर, त्यही संस्कारबीच हुर्केर, त्यही समुदायभित्र परिवर्तनको बिउ छर्ने महिलाको पहिचान बनाएकी विद्यादेवीलाई महिलालाई नै सक्षम बनाउने, त्यसैमा समर्पित रहने र बाँकी जीवन पनि सेवामै बिताउने चाहना छ । उनको समयमा कुनै महिला घरबाट बाहिर निस्कने कुरा असम्भव हुने थियो । राजनीति गरे पनि परिवार र श्रीमानको स्वीकृतमा घरबाटै गरिनुपर्दथ्यो । उनी पनि त्यो बन्धनमा थिइन् नै । तर उनले सामाजिक सेवाको विषय १० वर्षबाटै थालेकी थिइन् स्वास्थ्य स्वयंसेविकाको कामबाट । ‘घरबाट ननिस्कने’ महिलादेखि उपप्रमुखसम्म : एक प्रेरणादायी मोडका विषयमा विद्यादेवीले खोलेका जीनसंघर्ष वास्तविक रूपमै पठनीय छन् । नयाँ पिँढीलाई विश्वासै नलाग्नेजस्तै छन् ।
भुजेल भन्छिन्– ‘म आफैँ घरबाट बाहिर निस्केको महिला थिइनँ । श्रीमानले राजनीति गर्नुहुन्थ्यो, म पनि जोडिएको थिएँ भित्रै तर बाहिर निस्केको एकै पटक ०७४ सालमा हो, पार्टीले टिकट दियो जनताले मत दिएर जिताए, पार्टीका काममा बाहिर नगए पनि सेवाको कामले भित्रभित्र जनताले मन पराएका रहेछन्, ०७९ मा फेरि जितेँ ।’ तर कहिल्यै बाहिर ननिस्कने ती महिला जब पहिलो पटक भोट माग्न गाउँ-गाउँ पुगिन्, महिलाहरू घुम्टोभित्र लुकिरहेको दृश्यले उनलाई झनै पोलेको थियो । त्यही क्षणले उनलाई परिवर्तनको बाटोमा लगिदिएको हो ।
उनी भन्छिन्- ‘म लजाएर भित्र लुकेको घटना सम्झेर उनीहरूलाई घुम्टो हटाएर बोल्न सिकाएँ । महिला दिदीबहिनीलाई अगाडि ल्याउने काम नै मेरो पहिलो अभियान भयो । म भोट माग्न जाँदा धेरै दिदीबहिनी भित्र भागेको विषयले मलाई निकै छोयो, महिला सशक्तीकरण नै पहिलो प्राथमिकतामा राखेको हो, त्यसकै नतिजा अहिले अधिकांश महिला खुलेर बोल्ने भए, यो ठूलो उपलब्धि हो ।’
जनप्रतिनिधि बनेपछि उनको राजनीतिक यात्रा केवल पद प्राप्ति होइन धनुषाधामको सामाजिक परिवर्तनसहितको अभियान बनेको हो । त्यसो त विद्यादेवी भुजेलको जीवन मोडिएको थियो १० वर्षको उमेरमा । ‘आमा सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भयो । म नजिकै उभिएर असहाय बच्चाजस्तै त्यो हालतमा पीडा देखिरहेँ’ उनले भनिन्- ‘आमाले धेरै रगत बगाउनुभयो । गाउँमा स्वास्थ्य सेवा थिएन । त्यही घटनाले मन छोयो, म समाजका लागि केही गर्नुपर्छ भनेर ।’ यही पीडाले उनलाई स्वास्थ्य क्षेत्रतर्फ धकेल्यो । तर पढ्दापढ्दै बिहे भएकाले उनलाई समस्या भयो । उनले स्वास्थ्यसेविका भएर सेवा दिइन ।
२०४० सालदेखि २०७४ सालसम्म-झन्डै ३४ वर्ष स्वास्थ्यकर्मीका रूपमा बिताइन् । स्थानीय स्तरमा स्वास्थ्यकर्मीलाई ‘डाक्टर बराबर’ मान्ने वातावरण उनको सेवाले बनायो, त्यो अवस्था गाउँमा थियो पनि । सुई लगाउने, औषधि खुवाउने, प्रसूति हेरचाह सबै काम उनले गरिन् । धेरैलाई त आजसम्म लाग्छ विद्या देवी डाक्टर नै हुन् । तर उनी भन्छिन्- ‘पढ्न नपाएको महिलाको पीडा अझै महसुस हुन्छ । तर पछुतो छैन। जीवनले धेरै सिकायो । गाउँमा नजाने पनि डाक्टरले गर्ने काम सबै गरेँ डर पनि लाग्थ्यो सुइँ लगाउँदा तर नगरी सुखै थिएन, नपढे पनि परेर जानेको काम गरेकी हुँ ।’
१५ वर्षमै विवाह तराई मधेसकी छोरी पहाडमा मागी बिहे भएर गएको विषय उनको जीवनको रोचक संघर्ष हो । ‘त्यो समय छोरीहरू पढ्न नपाउने समाज । १५ वर्षमै विवाह हुनु सामान्य । मागी विवाह भयो, तराईबाट पहाड पुगेकी थिएँ कस्तो संघर्ष भयो होला, कसैले अहिले कल्पना गर्नुस् त’ उनले भनिन् ।
उनी भन्छिन्–‘श्रीमान् राजनीतिमा भए पनि श्रीमती बाहिर निस्कनु नहुने माहोल थियो। समाजका नियम कडा थिए ।’ तर आज त्यही समाजका महिलाहरू उनीबाट प्रेरित भएर अगाडि बढिरहेका छन् । त्यही संघर्षले उनलाई अझै ‘बलियो’ बनायो ।
परिवर्तनको पहिलो कदम : महिला सशक्तीकरण
उपप्रमुख भइसकेपछि उनले पहिलो काम महिला सशक्तीकरण केन्द्रित गरिन् । ‘महिलालाई बोल्न सिकाउने, घुम्टो हटाउने आन्दोलन, सामाजिक नेतृत्वमा महिलाको सहभागिता बढाउने पहिलो प्राथमिकता भयो’ विद्या भन्छिन् ‘पहिले आफ्नो नाम भन्न लजाउने महिलाहरू अहिले कार्यक्रममै भाषण दिन्छन् । निष्क्रिय महिलालाई सार्वजनिक जीवनमा ल्याउनु उसको सबैभन्दा ठूलो सफलता बनेको छ ।’ उनले मिथिला संस्कृति र सीपलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास जनप्रतिनिधिपछि प्राथमिकतामा राखेको बताइन् ।
मिथिला चित्रकला, स्थानीय हस्तकला र संस्कृतिको ठूलो सम्भावना देखेर उनले सीप–उद्यम तालिम सुरु गरिएको बताउँछिन् । मिथिला संस्कृतिअन्तर्गत पेन्टिङ, रंगकला, सजावटी सामग्री, महिलाका लागि प्रविधि–मैत्री सीपबाट यी क्षेत्रमा महिला र युवालाई तालिम दिएर स्वरोजगारतर्फ अघि बढाएको उनको भनाइ छ । यसबाट धेरै महिलाले अहिले घरमै बसेर हस्तकला सामान उत्पादन गर्न थालेका छन् । यो सँगै स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ पहलकदमी थालेर हरेक वडामा उपचार सेवा पुराएकोलाई पनि उनले आफ्नो सफलतामा राखेकी छन् । उनी स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य अभियान उनका लागि भावनात्मक विषय हो ।
उनको अगुवाइमा हरेक वडामा स्वास्थ्य चौकी स्थापना, ‘वर्थिङ सेन्टर’ सञ्चालन, गर्भवती महिलालाई ९ महिना पूर्व र ९ महिना प्रसूति–पछिको निगरानी, गरिबको उपचार सहज बनाउन बिनाखर्च सेवा, महिलाहरूका रोगबारे सार्वजनिक सचेतना, जन्म-दर्ता, स्वास्थ्य तथ्यांक अभिलेख प्रणाली विस्तार पालिकामा स्वास्थ्य क्षेत्रमा भएका परिवर्तन हुन् । धनुषाधाममा मातृ–शिशु स्वास्थ्यमा आएको सुधार उनले बोकेको ४० वर्षको अनुभवकै परिणाम हो ।
त्यसैगरी कृषि र किसानमुखी कार्यक्रम-मधेसको मेरुदण्डलाई बलियो बनाउने संकल्प गरेको उनको भनाइ छ । मधेस कृषि–प्रधान क्षेत्र हो । त्यसैले उनले किसानका लागि अनेक पहल गरेको बताउँछिन् । कृषि अनुदानमा पहुँच बढाउने, दूध, तरकारी र खाद्यबाली उत्पादनलाई बढावा, किसानलाई आधुनिक प्रविधि, सिँचाइ र मल-बिउ उपलब्ध गराउने, महिला किसानलाई प्रोत्साहन र तालिम, ‘एक घर–एक उत्पादन’ अभियान दुवै कार्यकालमा प्राथमिकतामा छन् । विद्या भन्छिन्, ‘किसानलाई सहयोग गर्ने योजना अघि सार्दा धेरै खुसी लाग्छ । महिलालाई अघि बढेको देख्दा अझै प्रसन्न हुन्छु ।’
शिक्षामा मधेसको चुनौती धेरै रहेकाले सधैँ उनको प्राथमिकता परेको हुन्छ । विद्यादेवी भन्छिन्, ‘तराईमा शिक्षामा कमी छ । अभिभावक सचेत छैनन् । सरकारी विद्यालयमा सुधार हुन सकेको छैन ।’ त्यसैले अब बाँकी डेढ वर्षमा उनले शिक्षा, स्वास्थ्य, कृषि यी तीन क्षेत्रमा नमुना परियोजना कार्यान्वयन गरेर जान चाहन्छिन् ।
नगरपालिकामा ई–सेवा, सुशासन र सेवा डिजिटलाइजेशन सेवा दिन ई–सेवाको विस्तार, नागरिकलाई अनलाइन सेवा, सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी बनाउने, बिल–कर प्रणाली आधुनिक बनाउने, सार्वजनिक सूचनामा खुलापन,जस्ता सुशासनका कामलाई प्रमुख रूपले बढाएपछि धनुषाधाममा सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट कम हुने उनको बुझाई छ ।
त्यसैगरी न्यायिक समितिको नेतृत्व गरेर समाजमा मेलमिलाप र शान्ति कायम गराएकी छन् । उपप्रमुखका रूपमा उनी न्यायिक समितिको प्रमुख बनेकी छन् । वडामा पर्ने मतभेद, विवाद, छिमेकी झगडा, घरेलु हिंसा, जग्गा विवाददेखि पारिवारिक समस्या उनी आफैँ बसेर मिलाउने गर्छिन् । उनी भन्छिन्, ‘दुवै पक्षलाई सम्झाएर मिलाएको बेला मनैमा खुसी उम्लिन्छ । अदालत पुर्याउनुपर्ने धेरै मुद्दा मैले मिलाइदिएको छु ।’ उनको सहनशीलता, बीच–मिलाउने क्षमताले धनुषाधाममा धेरै घर–परिवार विखण्डन हुनबाट बचेका छन् ।
‘मेरा सबै सपना पूरा भए’ सेवामै समर्पित जीवन
विद्या देवी भुजेल आफ्नो जीवनबारे भावुक भएर भन्छिन् ‘मेरो सपना धेरै थिएन । जनताको सेवा गर्न चाहन्थेँ । आज त्यो सपना पूरा भएको छ ।अब बाँकी जीवन पनि यसै गरेर बिताउने हो ।’ ६ जना छोराछोरी हुर्काउँदै समाज, स्वास्थ्य, राजनीति र सेवा चारै क्षेत्रमा उनले बहुआयामिक भूमिका खेलेकी छन् । पढ्न नपाउनु उनको एक मात्र पछुतो हो, तर उनी भन्छिन्, ‘जीवनले सिकाएको पाठ कुनै किताबले सिकाउँदैन । म खुसी छु ।’
उमेर-अन्तर र नेतृत्व-समन्वय
नगरपालिकामा उनी दोस्रो पदमा छन् । त्यहाँका मेयरको उमेर उनको छोराको उमेर छ । तर नेतृत्वमा उमेर होइन आपसी सम्मान महत्त्वपूर्ण हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण उनी हुन् । ‘मेयरको कुनै कुरा चित्त बुझेन भने सहजै भन्छु । उहाँले पनि सहजै लिनुहुन्छ,रिसाउने वातावरण कहिल्यै बनेन’ उनले भनिन् । यसरी मेलमिलापमै नेतृत्व अघि बढिरहेको देख्दा नगरका कर्मचारी तथा नागरिक पनि सन्तुष्ट छन् ।
यी विषयले विद्या देवी भुजेल केबल जनप्रतिनिधि मात्र होइनन् स्वास्थ्य संरक्षक, महिला सशक्तीकरणको आधार, सामाजिक परिवर्तनकर्ता, किसानकी साथी, सांस्कृतिक पहिचानकी संरक्षक बनेकी छन् । धनुषाधाममा उनको नाम सम्मानपूर्वक दिदी, माई, मम्मी-सबै नामले बोलाइन्छ । उनको उमेर, अनुभव र मातृवत व्यवहारले उनी सबैको ‘घरको मान्छे’ बनेकी छन् ।
डेढ वर्षको अन्तिम यात्राः नमुना नगरको सपना
उनलाई बाँकी कार्यकाल कसरी बिताउने भनेर सोधेको प्रश्नको सहजै जवाफ दिने गर्छिन्– अब समय धेरै छैन तर योजना धेरै छन् । शिक्षामा सुधार अभियान,कृषि–आधारित उद्यम विस्तार, स्वास्थ्य संरचनाको स्तरोन्नति, डिजिटल सेवा विस्तार, महिला रोजगार कार्यक्रम स्थायी बनाउने काम बाँकी छन् । उनी भन्छिन्, ‘कार्यकाल सकिँदा–नसकिँदै केही नमुना काम गरेर नै जान्छु । जनताका लागि गरेको सेवा नै मेरो पहिचान बन्नुपर्छ ।’
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)