देविका कुमारी सिंह
उपाध्यक्ष
कुशे गाउँपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उपाध्यक्ष
कुशे गाउँपालिका
जाजरकोटका दुर्गम पहाडमा जन्मेकी साधारण परिवारकी छोरीले अहिले कुशे गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् । अभाव र दबाबमा संघर्षले खारिएकी देविका कुमारी सिंह, जसको जीवन यात्रा एउटा ग्रामीण महिलाको संघर्ष र आत्मविश्वासको सशक्त उदाहरण बनेको छ ।
२०६१ सालदेखि राजनीतिमा सक्रिय सिंह अहिले कुशे गाउँपालिकाकी उपाध्यक्ष मात्र होइनन्, शिक्षा सुधार, विवाद व्यवस्थापन, पारदर्शी शासन र दलित महिला तथा अपांगता भएका बालबालिकाका लागि विशेष कार्यक्रममार्फत समावेशी विकासको सशक्त अभियन्ता पनि हुन् ।
जाजरकोटको कार्की गाउँ, वडा नं १ मा सामान्य परिवारमा जन्मेकी उनी सानै उमेरदेखि कष्ट र जिम्मेवारीसँग अभ्यस्त थिइन् । पाँच कक्षा मामा घर बसेर पढिन् । “मेरा पहिलो गुरु म मामा नै हुनुहुन्छ दीपबहादुर शाही,” उनी भन्छिन् । “मामाघरमा बसेर पाँच कक्षासम्म पढेँ, त्यसपछि खलंगाको त्रिभुवन माध्यमिक विद्यालयमा गएँ । कक्षा ८ मा हुँदा नै नेविसंघको सदस्यता लिएँ ।”
१२ कक्षा सकेपछि आर्थिक अभाव र सामाजिक सन्देहबीच पनि उनले पढाइलाई निरन्तरता दिइन् । “जिल्लामा एउटै क्याम्पस थियो, भेरी ज्ञानोदय क्याम्पस । छोरी मान्छे बाहिर पढ्न गाह्रो हुन्छ भनेर म यहीँ पढेँ । पढाइ यतिमै सीमित भयो ।” उनले सुनाइन् ।
राजनीतिक चेतनाको पहिलो बीउ
भेरी ज्ञानोदय क्याम्पसकै स्ववियू उपसभापति हुँदै उनले राजनीतिक यात्राको सुरुवात गरिन् । पछि नेविसंघ जाजरकोटको उपसभापति बनिन् । “सानै उमेरदेखि समाजसेवामा लाग्ने बानी थियो, नाटक, समूह, सचेतना, सबैमा सक्रिय हुन्थेँ ।”
पारिवारिक रूपमा राजनीतिमा ठूलो हैसियतमा कोही थिएनन् । तर बुबा पञ्चायतकालमा दुईपटक वडा अध्यक्ष भएका थिए । “एक पटक सर्वसम्मत, अर्को पटक निर्वाचित हुनु भएको थियो । उहाँको जनसेवा मनले मलाई पनि सामाजिक बाटोमा ल्यायो ।”
महिनावारी हुँदा गोठमा बिताएका पीडादायी सम्झना
एसएलसी पास गरेपछि उनले मजकोटको पुल्लामा शिक्षक बन्ने मौका पाइन् । तर त्यहाँको अनुभव पीडादायी रह्यो । “म मिन्स हुँदा मलाई गोठमा लगेर पातलो कपडा दिएर सुताइयो । ७ दिनसम्म चिसोले कठ्याङग्रिएर रोएँ । त्यो अनुभव आजसम्म बिर्सन सकेकी छैन ।” त्यो समयको कठिन दिन स्मरण गर्दै उनले भनिन् ।
त्यसपछि उनी गाउँ फर्किइन् । गाउँमा टाढा भएको स्कुलका कारण उनले आफैँ श्रमदानमार्फत एउटा सानो विद्यालय स्थापना गरिन् । “सबैलाई श्रमदान गर्न लगाएँ, कक्षा १ को अनुमति ल्याएँ, तीन वर्षसम्म दुःख गरेर पढाएँ ।” उनले सुनाइन् ।
तर विवाहपछि उनको जीवन फेरि नयाँ परीक्षा बन्न पुग्यो । “२०६१ मा बिहे गरेँ । बिहे गरेपछि ‘उ बाहिरको भइसक्यो, पढाउन गाह्रो हुन्छ’ भनेर विद्यालयले अस्वीकार ग¥यो । त्यो मेरो लागि ठूलो पीडा थियो ।”
तीन वर्ष माइतीतिर गएर पढाइमा निरन्तरता दिइन्, तर बच्चा जन्मिएपछि फेरि घर फर्किनुपर्यो । २०६५ मा प्रावि राहत शिक्षकका रूपमा नियुक्त भइन् । “दुई बुढाबुढी एउटै स्कुलमा दुई घण्टा हिँडेर जान्थ्यौँ । त्यहीँ १० वर्ष सेवा गरेँ ।”
२०७४ सालमा स्थानीय तहको पहिलो निर्वाचनमा जनताले उनलाई भरोसा गरे । उनले शिक्षकको जागिर छोडेर चुनाव लडिन् र वडा अध्यक्षको जिम्मेवारी सम्हालिन् । अहिले उनी गाउँपालिकाकी उपाध्यक्ष छिन् ।
राजनीतिमा प्रेरणा दिने मान्छेहरू
राजनीतिमा आउन उनलाई शिक्षक केदार शाह र क्याम्पस चिफ गोपाल रोकायले हौस्याएका थिए । “केदार सरले नेविसंघमा ल्याउनुभयो, गोपाल रोकायले क्याम्पसमा स्ववियू सभापति बनाउन सहयोग गर्नुभयो । म आज जहाँ छु, त्यो उनीहरूको प्रेरणाले हो ।”
तर त्यो समय सजिलो थिएन । द्वन्द्वकालीन वर्षहरूमा विद्यार्थी राजनीतिमा सक्रिय हुनु खतरा थियो । “दिनरात गोलीको आवाज सुन्थ्यौँ । पढ्दा पनि कहिलेकाहीँ अपहरण शैलीमा लैजान्थे । ‘बुर्जुवा शिक्षा किन पढ्छेस्’ भन्नेहरू पनि थिए ।” उनले त्यो बेलाको संघर्षबारे सुनाइन् ।
२०६० सालमा उनका काइलो अंकल,असइ पृथ्वीबहादुर सिंह, माओवादी आक्रमणमा मारिए । “त्यो दिन मेरो जीवनमा निर्णायक मोड थियो । हाम्रो परिवारले ठूलो क्षति बेहोर्यो । देशमा शान्ति कहिले आउला भन्ने निराशाले मलाई थप राजनीतिक ऊर्जा दियो ।” सिंहले भनिन् ।
सहकारीदेखि सामाजिक अभियानसम्म
शिक्षक जीवनपछि उनले सहकारी खोलेर महिलाहरूलाई आर्थिक क्रियाकलापमा जोड्ने काम गरिन् । “त्यो सहकारीमा महिलाले दिएको माया र साथले मलाई आत्मबल दियो । उनीहरूकै हौसला मेरो प्रेरणा बन्यो ।” उनले भनिन्- तर राजनीति त्यहाँ पनि अड्क्यो । महिलाको रकमका लागि निवेदन दिएँ, दुई लाख छुट्याउनुभयो । तर सम्झौता गर्ने बेला राजनीतिक दलले नमिल्ने भनेर रोकिदिए । रकम फ्रिज भयो । त्यो बेला ठूलो मनोवैज्ञानिक पीडा भयो । महिलालाई हेर्ने दृष्टिकोणले मलाई मनभरिको आगो जलाइरहेको थियो ।”
त्यो घटना पछि उनले मनमनै प्रतिज्ञा गरिन्- महिला अधिकार र समानताको मुद्दा उठाउने । “अब यो पीडा व्यक्तिगत छैन, यो हाम्रो पुस्ताको साझा संघर्ष हो भन्ने बुझें ।” उनको भनाइ छ ।
महिलाप्रतिको दृष्टिकोण र आफ्ना घाउहरू
देविका सिंहका जीवनका अधिकांश घटना नेपाली ग्रामीण समाजमा महिलाप्रतिको दृष्टिकोणको स्पष्ट प्रतिबिम्ब हुन् ।
“टिचर हुँदा अनुमति स्वीकृत ल्याउन हप्तौँ लाग्थ्यो । बिहेपछि ‘पराई घर गइसक्यो, यहाँ पढाउन मिल्दैन’ भनेर आफ्नै माइतीले रोकिदिए । यो अनुभवले समाजको सोच कस्तो छ भन्ने थाहा भयो ।” सिंहले भनिन् ।
उनले थपिन्- “मजकोटमा मिन्स हुँदा गोठमा राख्ने परम्परा अझै समाप्त भएको छैन । म आफैँ त्यो पीडा बोकेर बसेकी मान्छे हुँ । त्यसैले अहिले पनि गोठालो प्रथाको अन्त्यका लागि गाउँमा अभियान चलाइरहेकी छु ।”
संघर्षलाई ऊर्जामा रूपान्तरण गर्ने शक्ति
उनले जीवनका प्रत्येक पीडालाई शक्ति बनाइन् । चाहे त्यो गोठको चिसो रात होस्, राजनीतिक अपमान, वा दलका नेताबाटै भएको विभेद ।
“१४ औँ महाधिवेशनमा कर्णालीमा सह–महामन्त्रीमा उम्मेदवार भएँ, हारेँ पनि । तर हारले मलाई कमजोर बनाएको छैन । पार्टीभित्र पनि संघर्ष चाहिन्छ भन्ने पाठ सिकाएको छ ।”
अब उनको लक्ष्य अझ ठूलो छ । “म जनताको सामु कमजोर भएकी छैन । सबैसँग ठिक सम्बन्ध बनाएकी छु । अबको लक्ष्य यहीँ पालिकाको अध्यक्ष बन्ने हो ।”
राजनीतिक जीवनका पाँच पीडा र पाँच प्रतिज्ञा
उनका अनुसार उनलाई राजनीतिमा ल्याउने पाँच प्रमुख पीडा थिए-
१. द्वन्द्वकालमा विद्यार्थी राजनीतिमा भएको पीडा ।
२. अंकलको माओवादी आक्रमणमा मृत्यु ।
३. महिलाको रकम सम्झौता गर्न नदिएको अपमान ।
४. मजकोटमा गोठमा सात दिन बस्नुपरेको पीडा ।
५. विवाहपछि ‘पराई’ भनेर आफ्नै विद्यालयमा पढाउन नदिएको घाउ ।
यी सबै घाउबाट जन्मे उनका पाँच प्रतिज्ञा-
१. शान्ति र सहअस्तित्वको राजनीति ।
२. महिलाको आर्थिक सशक्तीकरण ।
३. शिक्षामा समान पहुँच ।
४. दलित र अपांगता भएका बालबालिकाका लागि विशेष नीति ।
५. सामाजिक सोचाइ परिवर्तन गर्ने नेतृत्व ।
समाज परिवर्तनको आकांक्षा
आज कुशे गाउँपालिकामा उनले महिला समूह, बाल क्लब, र दलित परिवारका लागि विशेष कार्यक्रम सञ्चालन गरेकी छन् । विद्यालय सुधार र स्थानीय विवाद समाधानमा उनको नेतृत्वलाई जनताले आदर्श मानेका छन् ।
“अब म सफल हुने भन्दा पनि मेरो समाजले महिलालाई हेर्ने दृष्टिकोण सफल होस् भन्ने चाहना छ । म चाहन्छु, मेरो संघर्षले अर्को पुस्ता सजिलो बनाओस् ।”
उनले जीवनकालमा भोगेका अनुभवले अब उनलाई केही दृढ संकल्प गर्न साथ दिएको छ । उनले केही सपना बोकेकी र भन्छिन् —“जहाँ म केही गर्न खोज्छु, त्यहाँ समाज भन्छ, महिला के गर्न सक्छे र ? तर म अब डराउँदिन । म चाहन्छु मेरो गाउँमा म जस्तै महिलाले आफूलाई सानो नठानुन् । मेरो सफलताको मापदण्ड म होइन, मेरो समाजको सोच हो । त्यो सोच बदलियो भने, म जितेकी हुनेछु ।” देविका कुमारी सिंहको कथा एउटा महिला राजनीतिज्ञको मात्र होइन, नेपाली ग्रामीण समाजमा महिला सशक्तीकरणको संघर्षको सजीव प्रतीक रहेको उनलाई बुझ्नेहरुको धारणा हो ।
गोठको अँध्यारो, विद्यालयको अस्वीकार, राजनीतिक अपमान र सामाजिक सन्देहबीच पनि उनले हार नमानेका विषय सुगम ठाउँमा बस्ने नयाँ पुस्ताले पत्याउने कुरा पनि भएन तर अहिले पनि दुर्गम त्यसमाथि कर्णालीका विभिन्न स्थानमा रहेका सामाजिक विभेदका पर्खालहरू भत्काउनुपर्ने संकल्प उनमा देखिन्छ । आज उनी आफ्नो गाउँपालिकाको निर्णयको केन्द्रमा छन्। त्यही ठाउँ जहाँ कहिल्यै महिलालाई ‘सिर्फ सुन्ने’ भूमिकामा सीमित गरिएको थियो । सिंहको बुझाईमा पनि संघर्षपूर्ण जीवन सन्देश ‘समानताको बाटो सजिलो छैन, तर असम्भव पनि होइन ।’ भन्ने प्रष्ट रहेको छ ।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)