सिता जैसी
उप– प्रमुख
भेरी नगरपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उप– प्रमुख
भेरी नगरपालिका
भेरीका छोरीको अभिभावक बन्दै गएकी छिन्, सिता जैसी । २०६४ सालदेखि राजनीतिमा सक्रिय सिता जाजरकोटको भेरी नगरपालिकाकी उपप्रमुख हुन् । जनप्रतिनिधिसँगै सामाजिक अभियन्ताको पहिचान बनाएकी उनले सहभागितामूलक समाज निर्माण, पूर्वाधार विकास, भूकम्प उद्धार तथा पुनर्निर्माण, शिक्षा-स्वास्थ्य सुधार र महिला तथा किशोरी सशक्तीकरणमा उल्लेखनीय योगदान दिएर चर्चामा छन् ।
भेरीमा छोरी र महिलाका समस्या मात्रै होइन हरेक समस्याको समाधानका लागि अग्र मोर्चामा देखिन्छिन् उनी । नगरको चौतारीमा उभिएर कुनै सपना साकार पार्ने बेला जस्तै अनुहारमा चमक ल्याउने एक महिलाको रूपमा उनले आफ्नो पहिचान बनाएकी छन् । दृढता, धैर्यता र विनम्रता एकैसाथ बोकेको व्यक्तित्वको परिचय सिता जैसीले थपेकी छन् । आज उनी नगरको दोस्रो उच्चतम नेतृत्वमा छन् । तर उनको यात्रा कुनै तयार बाटो हुँदै आएको होइन । यो यात्रा सुरु भएको थियो, एक मध्यमवर्गीय, तर शिक्षा र राजनीतिक चेत भएको परिवारको चौताराबाट ।
त्यही परिवारको चेतना, बाबाको दृढता र उनीकै आत्मनिर्भर बन्न खोज्ने संकल्पले आज उनी भेरी नगरको मेजमान कर्मथलोमा ‘नेता’को हैसियतमा उभिएकी छन् । यो उनको संघर्षको कथा धेरैलाई अपत्यारिलो लाग्न पनि सक्छ तर वास्तविकता हो । उनी कसरी ‘छोरी पचाउन नजान्ने समाज’बाट उठेर ‘छोरी नेतृत्व गर्न सक्छे’ भन्ने सामाजिक यथार्थको जीवित उदाहरण बनिन्, त्यसैको कथा हो ।
मध्यमवर्गीय परिवार, तर उच्च चेतनाको जग : जहाँ छोरीलाई हेर्ने नजर फरक थियो । सिता जैसीको जन्म २०४७ साल चैत्र १६ गते, हिरामनि जैसी र पवित्रा जैसीको कोखबाट भेरी नगरपालिका वडा नम्बर ५ मा भयो । घर मध्यमवबर्गीय । धनको चमक केही थिएन । तर घरमा शिक्षा के हो र राजनीति किन आवश्यक छ भन्ने गहिरो चेत थियो ।
“छोरीलाई पढाएर के हुन्छ ?” भन्ने आवाज गाउँ-बस्तीभरि गुञ्जिरहेको बेला उनका बाबु हिरामनि जैसीले त्यस्तो सोचलाई कहिल्यै स्वीकारेनन् । समाजले छोरीलाई घरको भाँडावर्तन र गोठाले मात्रै ठान्ने बेला उनले भने संकल्प गरे- “छोरी पढाउनुपर्छ । छोरी आफ्नै खुट्टामा उभिनुपर्छ ।”
यही बलियो आधारबाट अभिभावकको यही दृष्टिकोण नै सिताको जीवनको पहिलो र बलियो जग बनेको हो । उनका बुवाले सधै भन्थे, “हामी छोरीले आफ्नै खुट्टामा उभिनुपर्छ । आत्मनिर्भर बन्नुपर्छ । यही मेरो सिर्जना हो । यही मेरो यात्रा हो ।”
गाउँको विकटता, दुर्गम बस्ती, सीमित पहुँच, परम्परागत सोच, यी सबै बाधाकाबीच पनि निर्मलाले आफ्नो पढाइ, स्वाभिमान र भविष्यलाई कहिल्यै छोडिनन् । विद्यार्थी राजनीतिबाट सुरु भएको नेतृत्वको पहिलो उकालो उस्तै चुनौतीपूर्ण थियो । माध्यमिक तह पढ्दै गर्दा उनलाई समाजमा देखिने धेरै वास्तविकता चसक्क घोप्थ्यो ।
छोरी-बुहारीका आवाज दबाइने, महिलालाई निर्णयमा ठाउँ नदिइने, बिहान उठेर साँझसम्म श्रम गरे पनि महिलाको योगदानलाई ‘कर्तव्य’ भन्दै पचाइनेजस्ता यिनै वास्तविकताले उनलाई विद्यार्थी राजनीतिबाट नेतृत्वको खुला ढोका देखाएको थियो अर्थात् यी विषयहरूलाई आफ्नो क्षेत्रमा दृढताका साथ उठाउनुपर्छ भन्ने निचोडमा उनी पुगेकी थिइन् । स्कुले राजनीतिदेखि महिला समूहसम्म, अनि महिला समूहदेखि पार्टी संगठनसम्म उनको सक्रियता बढ्दै गयो ।
उनको पहिलो राजनीतिक अभियान नेपाल कांग्रेस पार्टीको भातृसंगठन नेपालको महिला संघमा प्रवेशबाट भयो । बालिका, महिला, किशोरी र विपन्न वर्गका आवाज बोल्न सक्ने नेतृत्वको आवश्यकता उनले संकल्पमा राखेकी थिइन् । यही कारण, यही संकल्प, यही दृढता कारण अहिले उनी- नेपाल महिला संघको पालिका सभापति र नेपाली कांग्रेसको १४ औँ अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्य समेत बन्न सफल भइन् । राजनीति उनीका लागि पद प्राप्तिको साधन होइन, समाज बदल्ने अभियान थियो । पितृसत्तात्मक समाजमा महिला नेताको बाटो किन कठिन ? भन्ने विषय उनले यो बीचमा पाइसकेकी थिइन् । सिता भन्छिन्, “पितृसत्तात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण राम्रो छैन । बदल्न जरुरी छ । यो संघर्ष हो । आन्दोलन हो । अवश्य एक दिन बदलिन्छ ।”
अहिले पनि धेरै ठाउँमा महिला नेतृत्वलाई ‘सजिलो पद’ जस्तो हेर्ने प्रवृत्ति छ । कसैले भन्छ- “महिला भन्यै पछि पर्छन् ।” कसैले भन्छ- “घर-परिवारले चलाउन जान्दछन्, नेतृत्व चाहिँ पुरुषले गर्नु पर्छ ।” तर उनी भन्छिन्- “हजार माइल लामो यात्राको सुरु एक पाइलाबाट हुन्छ । त्यो पहिलो पाइला महिलाले चाल्न सके देश बदलिन्छ ।” सिताको राजनीतिक यात्रा कुनै गाढा सडक हुँदै आएको छैन । उनले भोगेका धेरै कथा ‘अघिल्ला हजारौँ महिला जनप्रतिनिधिका’ अनुभवसँग उस्तै छन् । उनको बुझाइमा अहिले पनि महिलामाथि हुने उपेक्षा, आरोप-प्रत्यारोप, ‘किन महिला उठिन् ?’ भन्ने सोच, निर्णयमा सामेल हुन नदिने मनोवृत्ति समाधान भएका छैनन् समस्या आए पनि उनी अडिन्, दृढ भइन्, दुःख र चुनौतीले उनलाई झन् बलियो बनायो ।
२०७९ को स्थानीय निर्वाचनमा जनताले चुनेपछि उनलाई निकै ठूलो खुसी थपियो । स्थानीय निर्वाचन २०७९ मा भेरी नगरपालिकामा उनी उपमेयर बनेपछि आफ्नो काम गर्ने क्षमता पनि देखाउन पाएकी छन् । दैनिक अभियान, भेटघाट, जनताको भरोसा, महिलाको आशा सबै मिसिएको त्यो समय उनले प्रयोग गर्न पाइरहेकी छन् । उनले चुनाव जितेपछि भनेकी थिइन्– “मेरो विजय मेरो होइन । यो भेरीका छोरीको विजय हो । यो परिवर्तन चाहने जनताको भरोसाको विजय हो ।”
नगरको उप–प्रमुख बनेपछि उनको दैनिकी बद्लियो । तर उनको दृष्टिकोण, उनको इमानदारी, उनको धैर्यता बद्लिएन । उप–प्रमुख भएपछिको प्रारम्भिक संघर्ष : आवाज उठाउँदै, तर सुनिदिनेलाई खोज्दै गरेको उनको भनाइ छ । जैसी भन्छिन्, “महिला जनप्रतिनिधिका अनुभव उस्तै हुन्छन् । धेरै कुरा नबताऊँ पनि हुन्छ ।”
उनले भोगेका कैयौँ समस्या अन्य हजारौँ महिलाले भोगिसकेकाले धेरै बाहिर आइसकेका छन् । उनका अनुसार महिलालाई अहिले पनि प्रारम्भिक रूपमै उपेक्षा, निर्णय प्रक्रियामा पहुँच सीमित, ‘महिलाले बुझ्दैनन्’ भन्ने मौन सोच, जिम्मेवारीभन्दा बढी आलोचना गरेर सताइन्छ पछाडि पारिन्छ । यो उनले पनि धेरै पटक प्रत्यक्ष र अप्रत्यक्ष भोगिन् महसुस गरिन् । तर उनले आफूलाई रोकिन दिइनन् ।
फाइल रोकिँदा पनि उनी फाइल लिएर सम्बन्धित ढोकासम्म पुग्थिन् भने आवाज दबाइयो भने उनी ‘आवाज थप ठूलो पार्थिन्’ र उपेक्षा देखाइयो भने उनी ‘काम नै गरिदिन्थिन्’ । उनका लागि नेतृत्व ‘पद’ होइन । जिम्मेवारी थियो । जनप्रतिनिधि भएपछि नागरिकका समस्या पहिचानदेखि रणनीतिक योजना बनाउने काममा उप–प्रमुखको ‘काम आधारित नेतृत्व’लाई दृढताका साथ अघि बढाइन् ।
सिताले नेतृत्व सम्हालिरहँदा कामको प्राथमिकता वर्गीकरण गरेर अगाडि बढिन् । ‘गाउँ-गाउँको समस्या पहिचान, वडा १ देखि १३ सम्मका बस्तीमा सामीप्यता, वृद्ध, महिला, अपांगता भएका नागरिक, किशोरी, कृषक, विपन्न परिवार-सबैसँग प्रत्यक्ष संवाद गरेर वास्तविक समस्या सुन्ने काम गरेँ’ उनले भनिन्-‘ त्यसपछि गुरुयोजना, रणनीतिक योजना, लक्ष्यसहितको कार्यसूची बनाएर अघि बढ्दा सहज भयो ।’
उनका सबै योजनामा एउटै कुरा साझा हुन्छ- जनताको न्यूनतम चाहना पूरा गर्नु । भेरीनगरबासीको मुहारमा हाँसो ल्याउनु । समस्यामा परेका नागरिकका ढोकासम्म पुगेको नेतृत्व बन्नु । ‘महिलालाई नेतृत्व दिन सकिन्छ’ भन्ने सामाजिक परिवर्तनको पहिलो आधारस्तम्भ तयार पार्नु । सिता भन्छिन् “महिला जहाँ नेतृत्व गर्छिन्, त्यहाँ उत्तरदायित्व बढी हुन्छ । जिम्मेवारी बढी हुन्छ । काम राम्रो हुन्छ ।”
यही विश्वासले उनले २०७९ पछि महिला र किशोरीका लागि नेतृत्व विकास कार्यक्रम विस्तार गरिन् । त्यसपछि धेरै महिला टोलको नेतृत्वमा आए । नागरिक समाजमा महिला सक्रियता बढ्यो । असल व्यवहार, सामाजिक जबाफदेहिता र इमानदारी महिला नेतृत्वको पहिचान बन्यो । भन्नेमा उनी ढुक्क छन् ।
सिता कहिल्यै थकाइ मान्दिनन् । उनका सहयात्री भन्छन्- “उनी नेता होइनन्, ‘काम गर्ने मेसिन’ जस्तै हुन् ।” संघर्षका लागि जतिबेला पनि उनी तयार भएका कारण सँगै हिंड्नेहरु पनि आश्चर्यमा पर्छन् तर सिता भन्छिन्- “अहिले पनि यात्रा सकिएको छैन ।” यस यात्रामा सिताले धेरै रातहरू चिन्तामा बिताएको बताउँछिन् । ‘कहिले बेलुकी १२ बजेसम्म जनता भेट्नु र समस्या सुन्नुपरेको छ । कहिलेकाहीँ समस्या ठूलो हुन्छ, स्रोत–साधन कम । कहिलेकाहीँ आशा धेरै हुन्छ, समय धेरै हुँदैन ।’ उनी भन्छिन्-‘तर मलाई यी कुरा कहिल्यै कमी भएको छैन त्यो हो प्रतिबद्धता, इमानदारी, धैर्यता भएपछि सबैको विश्वास जित्न सकिन्छ ।’
नगरवासीका ओठमा हाँसो, मनमा भरोसा नै मेरो सपना
सिता भन्छिन्- “मेरो लक्ष्य सरल छ । भेरी नगरवासीका ओठमा हाँसो छर्न चाहन्छु । उनीहरूको अनुहारमा खुसी देख्न चाहन्छु । सपनाहरू नटुटुन् । आशा नझर्ला । यही मेरो राजनीति हो । यही मेरो जीवनको उद्देश्य हो ।” आगामी दिनहरूमा उनी अझै ठूलो जिम्मेवारी लिन तयार छन् । उनले खुलेर भन्छिन्- “जनताको साथ रहे नगरको नेतृत्व गर्न तयार छु । सेवा नै मेरो धर्म हो ।” “सुनौलो बिहान अवश्य आउँछ । हाम्रो यात्रा केवल सुरु भएको छ ।” उनी भन्छिन् ।
जैसीको कथा कुनै सामान्य कथा नभएको उनका साथीहरू बताउँछन् । यो एउटा छोरीको संघर्ष, एउटा परिवारको चेतना, एउटा समाजको परिवर्तन र एउटा महिला नेतृत्वको उदयबारे लेखिएको जीवित दस्ताबेज रहेको उनीहरूको बुझाई छ । विकट गाउँका भर्याङबाट सुरु भएको यात्राले आज उनलाई भेरी नगरपालिकाको उप-प्रमुख बनाएर मात्र रोकेको छैन, भोलिको भेरी नगरको सम्भावनाको ढोका खोलेको उनीहरूको बुझाई छ । र भन्छिन्-‘भेरीको राजनीति, समाज र जनजीवनमा सीता जैसी आज केवल ‘नाम’ होइन एक प्रेरणा हुन् । एक सम्भावना हुन् । एक यात्रा हुन् ।’
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)