चन्द्रकला अधिकारी
उपाध्यक्ष
अन्नपूर्ण गाउँपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उपाध्यक्ष
अन्नपूर्ण गाउँपालिका
उपाध्यक्षको रूपमा कास्कीको अन्नपूर्ण गाउँपालिका हाँकिरहेकी चन्द्रकला अधिकारीको बाल्यकाल खासै सुखद छैन । उनले आफूलाई बुझ्ने बेलासम्म बाबा र आमा दुवैलाई गुमाइन् । जसका कारण पनि उनको बाल्यकाल अप्ठ्यारो रह्यो ।
‘बाल्यकाल मेरो अलि दुख तरिकाले बित्यो । अलि अप्ठ्यारो तरिकाले हुर्केको हुँ । म ४ वर्षको उहाँ बाबा बित्नुभयो । म ११ वर्षको हुँदा आमा बित्नुभयो,’ उनी सम्झिन्छिन्, ‘बाबाआमा नभइसकेपछि त त्यो सबैले बुझ्ने कुरो कति गाह्रो भयो. कति संघर्ष गर्नुपर्यो, कति कठिनाइ भयो भनेर ।’
आमा बाबा बितेपछि उनी दाइसँग हुर्किइन् । पालन, पोषण, शिक्षा, दीक्षा सबै दाइकै जिम्मामा रह्यो । उनको दाइ शिक्षकसँगै राजनीतिमा पनि थिए । जसका कारण उनलाई राजनीतिमा होमिन सहयोग पुग्यो । उनले कक्षा ४ मा पढ्दै गर्दा नारी मुक्ति र महिला बन्धन नामक पुस्तक पढेकी थिइन् । जसले उनलाई राजनीति गर्ने, नेतृत्वमा लाग्ने र महिलाको हितमा काम गर्ने प्रेरणा प्रदान ग¥यो ।
‘म ४ कक्षामा पढ्दा खेरी नै मैले एउटा नारी मुक्ति र महिला बन्धन भन्ने पुस्तक पुरै पढेँ । पूरै अध्ययन गरेको हुनाले फेरि राजनीतिमा पनि म यसरी जोडिनु पर्छ । पुस्तकमा भएका कुराहरू मलाई मन परेकाले पनि म राजनीतिमा जोडिएको हो,’ उनले भनिन् । त्यसपछि उनी विद्यार्थी राजनीतिमा पनि लागिन् । दाइ राजनीतिमा रहेकाले नेताहरू उनको घरमा जमघट हुन्थ्यो । जसको फाइदा उनले लिइन् । उनी सानै उमेरमा नेताहरूसँग घुलमिल हुन थालिन् ।
राजनीतिमा उनलाई परिवारबाट पनि सहयोग मिल्यो । दाइ नै राजनीतिमा लागेकाले चन्द्रकलालाई थप सहयोग पनि मिल्दै गयो । उनले पढाइसँगै राजनीतिलाई पनि थप उचाइमा लग्दै गइन् । ‘दाइ आफै राजनीतिमा लागेकाले मलाई राजनीतिमा लाग्न सहज भयो । यो हुन पाउँदैनौँ भन्ने भन्दा पनि यसरी अगाडि बढ्नुपर्छ भनेर दाइले सहयोग गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘पढाइसँगै राजनीतिलाई पनि सँगै लग्नुपर्छ भनेर दाइले भन्नुभएका कारणले पनि मलाई फाइदा पुग्यो ।’
एसएलसीपछि वि.सं २०४९ मा चन्द्रकला विवाह बन्धनमा बाँधिइन् । धेरैलाई विवाहपछि राजनीतिबाट टाढिन पुग्छन् । चन्द्रकलाको हकमा त्यस भएन । झनै हौसला मिल्यो । कम्युनिष्टसँग आबद्ध र राजनीति बुझेको परिवारसँग विवाह हुँदा चन्द्रकलाले विवाहपछि पनि राजनीतिबाट अलग हुनुपरेन । उनी झनै सक्रिय राजनीतिमा पाइला चालिन् । ‘परिवारको साथ हुन्थेन भने त म राजनीतिमा लाग्ने नै थिएन । परिवारले नै समाजमा उत्रिनुपर्छ, समाजमा निस्कनुपर्छ भनेर प्रेरणा दिइसकेपछि मलाई राजनीतिमा लाग्न झनै सहज भयो,’ चन्द्रकलाले सुनाइन् ।
विवाहपछि उनलाई सामाजिक क्षेत्रमा पनि काम गर्ने अवसर मिल्यो । विसं २०५२ सालबाट उनी महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्न थालिन् । उनलाई महिलाको भावनामा बुझ्न र नजिक हुन सहयोग पुर्यायो ।
चन्द्रकला महिला समूह बनाउने र महिलालाई नेतृत्व विकास गर्ने गतिविधिमा पनि सक्रिय थिइन् । उनीले अन्य महिलासँग मिलेर २०५२ सालमै दिगो महिला विकास सहकारी संस्था स्थापना गरिन् । जसले महिलाहरूको समूह बनाउनुपर्छ र महिलालाई अगाडि नेतृत्वमा ल्याउनुपर्छ भन्ने प्रेरणा दिन्थ्यो । उक्त संस्थामा करिब १२ सय महिला सदस्य थिए ।
सामाजिक संस्थामा काम गर्दा सबैको घरघर जाने मौका मिलेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘विभिन्न संस्थामा रहेर काम गर्दै गर्दा महिला र बालबालिका क्षेत्रका कामहरू धेरै गरेँ र महिलाका पिडा के छन् । बालबालिकालाई कसरी स्याहार गर्नुपर्छ भन्ने कुराहरू सबै ठाउँमा भन्दै र सचेत गराउँदै सबैको घरघर जाने मौका पनि मिल्यो ।’
धेरै सामाजिक क्षेत्रमा काम गरेका कारण उनी सामाजिक व्यक्तिको रूपमा चिनिन पुगिन् । लामो समय महिलाको क्षेत्रमा काम गरेका कारण महिलालाई कसरी अगाडि बढाउने भन्ने बारेमा चन्द्रकला जानकार थिइन् । महिलाको अवस्था के छ ? महिलाहरूलाई अगाडि बढाउनका लागि, महिलालाई न्याय दिनका लागि महिलाहरूको नेतृत्व गर्नुपर्छ भन्ने सोच चन्द्रकलामा आयो । २०५४ मा पार्टी सदस्यता लिएकी चन्द्रकला २०६७ सालदेखि सक्रिय राजनीतिमा लागिन् । एमालेको वडा, गाउँ कमिटी हुँदै दुई कार्यकाल जिल्ला कमिटीको सदस्य भइन् । उनले अखिल नेपाल महिला संघ अन्नपूर्णमा पनि नेतृत्वमा रहेर काम गरिन् ।
२०७४ सालमा निर्वाचनमा पनि उनले उम्मेदवारको आंकाक्षा प्रस्तुत गरेकी थिइन् । तर, टिकट पाउन सकिनन् । आफूले टिकट नपाए पनि पार्टीको उम्मेदवारलाई जिताउन लागेको उनको भनाइ छ । ‘२०७४ सालमा पनि म आंकाक्षी थिए । अर्को दिदीले टिकट पाउनुभयो । उहाँले जिताउन लाग्यौँ र जितायौँ पनि,’ उनले भनिन् ।
त्यसपछि पनि उनी पार्टी राजनीतिमा सक्रिय भएर लागिन् र २०७९ को निर्वाचनमा उपाध्यक्ष उम्मेदवारको टिकट पाइन् । अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षको टिकट पाएसँगै उनले महिला स्वास्थ्य स्वयंसेविका करिब २८ वर्षे यात्राबाट बिदा लिइन् । निर्वाचनमा होमिइन् र विजयी पनि भइन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी चन्द्रकलाले नेपाली कांग्रेसकी खिमकुमारी गुरुङलाई करिब ६ सय मतले पराजित गर्न सफल भइन् ।
मतदाताले महिला र सामाजिक क्षेत्रमा गरेको कामको मूल्याङ्कन गर्दा आफू उपाध्यक्षमा जित निकाल्न सम्भव भएको चन्द्रकला बताउँछिन् । ‘२०५२ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा महिलाको घरघरमा गएर सेवा गर्ने अवसर पाएँ । करिब ३ दशक मैले गरेको कामको मूल्याङ्कन मतदाताले गर्नुभयो र म निर्वाचित हुन सफल भए,’ उनले भनिन् ।
करिब २८ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरेकी चन्द्रकलाले गाउँपालिका उपाध्यक्ष भइसकेपछि सबैलाई स्वास्थ्य बिमा गर्नुपर्छ भनेर प्रस्ताव गरिन् । उनको प्रस्तावअनुसार पदभार ग्रहण गरेको पहिलो दिन नै ५० प्रतिशत पालिकाले तिर्ने र ५० प्रतिशत स्वयम् व्यक्तिले तिर्ने गरी बिमा गर्ने निर्णय भयो । जसमा विपन्नको हकमा भने वडाको सिफारिसमा शतप्रतिशत बिना रकम पालिकाले बेहोर्ने निर्णय ग¥यो । यस्तै लामो समय महिला तथा सामाजिक क्षेत्रमा काम गरेकी चन्द्रकलाले त्यस क्षेत्रमा पनि उल्लेखनीय काम गरेकी छन् । चन्द्रकला उपाध्यक्ष भइसकेपछि सरकारमा सबैको पहुँच पुग्नुपर्छ भनेर विभिन्न सञ्जाल गठन गरिन् ।
‘राज्यको पहुँच सबै ठाउँमा पुग्नुपर्छ भनेर सबैको सेवा सुविधा एउटै हुनुपर्छ भनेर महिला सञ्जाल गठन, वडा वडामा पनि महिला सञ्जाल गठन गर्यो । टोल टोलका महिलालाई समितिमा राख्यौँ । टोल टोलका समस्या त त्यहाँकै महिलालाई थाहा हुन्छ नि त,’ उनले भनिन् । यसै गरी महिलासँगै युवा सञ्जाल, कृषि सञ्जाल पनि गठन भए । जसले सबै जनताले स्थानीय सरकारको अनुभूति गरेको उनको विश्वास छ ।
आगामी दिनमा पनि महिलालाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको चन्द्रकला बताउँछिन् । आयआर्जन हुन सक्यो भने मात्रै महिलाहरू सशक्त हुन सक्ने उनको अनुभव छ ।
‘महिलालाई आयआर्जनमा जोड्ने र उहाँहरूलाई सिपको तालिम दिने र सिप दिइसकेपछि तपाईँहरू आयआर्जन मै जोडिन पर्छ भनेर गाउँपालिकाले सहयोग गर्नेछ,’ उनले भनिन्, ‘जति हामी आर्थिकमा समृद्ध हुन सक्छौँ । त्यति हामी सशक्त भएर अगाडि बढ्न सक्छौँ ।’
उनले सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, महिला–युवा सशक्तीकरण, ई–शासन, विपद् व्यवस्थापन र हरित विकासमा उल्लेखनीय योगदान दिँदै अन्नपूर्ण गाउँपालिकालाई गण्डकी प्रदेशकै अग्रणी स्थानीय तह बनाउन नेतृत्व गर्दै आएकी छन् ।
उनै चन्द्रकला आगामी निर्वाचनमा गाउँपालिकाको अध्यक्षको रूपमा निर्वाचित हुन चाहन्छिन् । ‘एउटा सरकारी निकायमा पुरुषले नेतृत्व गर्दा के हुन्छ र महिलाले नेतृत्व गर्दा के हुन्छ ? फरक के रैछ भनेर सन्देश दिनका लागि पनि म अध्यक्ष हुनुपर्छ भनेर सोचिराखेको छु,’ उनी भन्छिन् ।
जनप्रतिनिधि, कर्मचारीदेखि सबै कुरा मिलाउन आफू सक्षम रहेको उनको विश्वास छ । उनले भनिन्, ‘पारदर्शितताको कुरा हुन्छ । आर्थिक अनियमितताको कुरा हुन्छन् । जनप्रतिनिधिलाई मिलाउने कर्मचारीलाई मिलाउने यी सबै कुरा मिलाएर जान सक्छु भन्ने मसँग आट छ । त्यो भएको हुनाले मैले नेतृत्व लिनुपर्छ ।’
२०८० असोजमा भएको एमाले गण्डकीको अधिवेशनमा चन्द्रकला प्रदेश कमिटी सदस्य बन्न चाहन्थिन् । मतदाताले मन पराएर उपाध्यक्ष बनेकाले पार्टी कार्यकर्ताले रुचाउँछन् भन्ने उनको अपेक्षा थियो । तर, उनी सदस्यमा पराजित हुन पुगिन् । ‘मतदाताले रोजेको मान्छेलाई कार्यकर्ता पनि रुचाउँछन् भन्ने अपेक्षासहित उम्मेदवारी दिएको थिए । तर, गुट उपगुटका कारण पराजित हुन पुगेँ,’ उनले भने ।
महिलालाई राजनीति अर्थात् नेतृत्वमा आउन निकै कठिन हुने गरेको चन्द्रकलाको अनुभव छ । परिवारबाट राम्रो साथ पाएकी चन्द्रकलाले नेतृत्वमा आउन धेरै कठिन भोग्नुपरेको छ । ‘महिलालाई नेतृत्व दिन हुँदैन । अगाडि बढाउन हुन्न सहजै लिने अवस्था छैन,’ उनले भनिन्, ‘महिलालाई नेतृत्व लिन एकदमै गाह्रो हुन्छ । लड्नै पर्छ । संघर्ष नै गर्नुपर्छ । महिलालाई नेतृत्वमा जान धेरै संघर्ष गर्नुपर्छ । धेरै लड्नुपर्छ ।’
सानैमा बाआमा गुमाएकी चन्द्रकलाले कसैले छोराछोरी पिटेपनि आफूलाई पिटेको महसुस गर्छिन् र नपिट्न आग्रह गर्छिन् । ‘जुन घरमा बाआमा बित्नुभएको छ । जुन घरमा बच्चाबच्ची टुहुरा छन् । त्यहाँ म आफैलाई समस्या परेको हो कि भनेर प्रस्तुत हुन्थे,’ उनले भनिन् ।
उपाध्यक्ष भएर काम गर्दा अध्यक्षले पेलेर काम गर्ने गरेको अनुभव चन्द्रकलासँग छ । अध्यक्षले प्रशासकीय अधिकृत र लेखासँग मिलेर आफूलाई बाइपास गरेको उनले दुखेसो गरिन् । उनी भन्छिन्, ‘महिलाका कार्यक्रममा महिला नै जानुपर्छ भन्ने मेरो कुरा । म पालिका प्रमुख हो म नै जानुपर्छ भन्ने अध्यक्षको कुरा । त्यसमा हाम्रो दुबिधा छ । अध्यक्षले सबै कुरा मेरो नेतृत्वमा छ । मैले चाहिँ सबैलाई ह्यान्डलिङ गर्ने हो भनेर पेलेर गएको अवस्था पनि छ ।’ महिलाहरूलाई धरातल बुझेर मात्र नेतृत्वमा आउन चन्द्रकलाले सुझाव दिन्छिन् ।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा छनोट भएकी छन्।)