She Leads Icon

“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।

Information

धर्मकला शाही

धर्मकला शाही

उपाध्यक्ष

शुभकालिका गाउँपालिका

Voting Code: 02

धर्मकला शाही

कर्णाली प्रदेशको कालिकोट जिल्ला नेपालको राजनीतिक, सामाजिक र आर्थिक सूचकहरूमा देशकै पछाडि परेका क्षेत्रमध्ये एक हो । तर यही जिल्लाको शुभकालिका गाउँपालिकाबाट एउटा महिला, एक सम्भावना, एक दृढता र एक बदलिँदो कथाको प्रतिनिधिका रूपमा अघि बढेकी छन् धर्मकला शाही ।

विद्यार्थी जीवनदेखि नै सामाजिक प्रश्नमा संलग्न हुँदै राजनीतिसम्म आइपुगेकी उनी अहिले गाउँपालिकाको उपाध्यक्ष मात्र होइनन्, कर्णाली वमन लिडरसीप (Women Leadership) को एउटा शक्तिशाली आवाज पनि बन्दै गएकी छन् ।

महिलाको जीवनलाई पितृसत्तात्मक संरचनाले कसरी सीमित पार्छ, हिंसाले कसरी चक्रमा बाध्छ, सामाजिक असमानताले कसरी अवसर चोर्छ र नेतृत्वले कसरी जीवन बदल्छ, धर्मकला शाहीको यात्राले यी सबै प्रश्नलाई पुनः पुष्टि गर्छ । आज उनी महिला उद्यमशीलतादेखि स्वास्थ्य सेवा, शिक्षा, सडक, ऊर्जा, न्याय र लैङ्गिक उत्तरदायित्वसम्मका विषयमा प्रत्यक्ष नेतृत्व गर्दै स्थानीय शासनमा परिवर्तनको एउटा शक्तिशाली मोडेल प्रस्तुत गर्दैछन् ।

विसं २०३२ साल कात्तिक महिनामा जन्मेकी धर्मकलाका संघर्ष सानैदेखि कठिन रहे । कालिकोटको गाउँ-जहाँ आधारभूत संरचना, शिक्षा, स्वास्थ्य र यातायात अझै चुनौतीका विषय थिए । त्यही ठाउँमा छोरी जन्मिनु आफैँमा समाजका आँखाले ‘कमजोरी’ ठान्ने समय थियो । धर्मकला आफ्ना बुबाआमाको छैटौँ सन्तान, कान्छी छोरीका रूपमा जन्मिएकी थिइन् ।

घर, समाज र परिवेश-सबैतिर महिला र पुरुषबीचको विभेद प्रवाहजस्तै बहिरहेको थियो । १२ कक्षा पढ्दासम्म धर्मकलाले नजिकबाट अनुभव गर्न पाएको बताउँछिन् । कामको असमानता, पहुँचको असमानता, अवसरको असमानता, अनि निर्णयमा महिलाको अनुपस्थिति जस्ता यिनै जीवनका अनुभवहरूले उनीभित्र विद्रोह जन्माएका थियो तर त्यो विद्रोह चिच्याएर होइन, समाज बदलेर रूपान्तरण गर्न चाहन्थिन् र त्यसैको अभियानमा समर्पित भएर लागिन् ।

आन्दोलन ०६२/०६३—धर्मकलाको चेतना र नेतृत्वको पुनर्जन्म

२०६२/०६३ को जनआन्दोलनले हजारौँ युवाहरूमा जस्तै धर्मकलामा पनि असाधारण परिवर्तन ल्यायो । सडकहरूमा युवा थिए, देश व्यवस्थाको विकल्प खोज्दै थियो । त्यही समयमा धर्मकला महिलालाई नेतृत्वमा ल्याउने, उनीहरूको पीडा राज्यसम्म पुर्‍याउने र सामाजिक रूपान्तरणको अभियानमा लाग्न चाहने एक सचेत युवतीका रूपमा अघि बढिन् ।

उनी भन्छिन्,‘महिलाको सवाल उठाउने चलन नै थिएन । आवाज उठाउने महिला लाञ्छना र हिंसाको सिकार बन्थिन् । तर म तिनै महिलाका लागि बोल्न चाहन्थेँ ।’ यही चेतनाले धर्मकलालाई सामाजिक नेतृत्वमा तान्यो । उनी घर–परिवारबाटै सुरुआत गरेर समुदायसम्म फैलिने नेतृत्वको बाटो रोजिन् ।

धर्मकलालाई हिंसा प्रभावित महिलाको डाटा संकलनबाट समाजको वास्तविकता नजिकबाट देख्ने बनाएको हो । नेतृत्वको प्रारम्भिक यात्रामा धर्मकलाले राष्ट्रिय महिला आयोगसँग समन्वय गर्दै ‘फिल्ड सहायक’ भनेर काम गरिन् । यो अनुभवले उनीभित्रको संवेदना र प्रतिबद्धता झनै बलियो बनाइदिएको हो । महिलालाई घरभित्रकै हिंसा, निर्णय गर्न नपाउने अवस्था, आर्थिक निर्भरता, श्रमको अपमान, सामाजिक आरोप जस्ता विषयले पिरोलेको उनले यो समयमा नजिकबाट बुझ्न पाइन् । यी सबै पीडा नजिकबाट देखेपछि उनी झसंग भइन् र आफैलाई सोधिन्–‘किन महिलामाथि यस्तो अवस्था ? समाधान कहाँ छ ? र कसरी आफ्नो ठाउँबाट यसलाई अभियान चलाउन सकिन्छ ?’

त्यसपछि उनले महिला र बालबालिकाका मुद्दामा सक्रिय कर्णाली क्षेत्रकै प्रभावशाली संस्था महिला जागृति संस्थाको अध्यक्षता सम्हालिन् । यहाँबाट उनको काम कानुनी सचेतना, जीविकोपार्जन, पुनर्स्थापना, स्थानीय संस्थागत विकासदेखि समुदायको नेतृत्व निर्माणसम्म विस्तार हुँदै गयो । र उनलाई यसमा निपूर्ण बनाउँदै लग्यो ।

राजनीतितर्फको पाइला २०५२ देखि प्रवेश

सामाजिक काममा सक्रिय हुँदा उनी एकै चोटि बुझ्न थालिन्, समाज परिवर्तनको आधार राजनीति नै हो । महिलाको नेतृत्व, अधिकार र समानताको काम ‘राजनीतिक निर्णय’ बिना टुङ्गोमा पुग्दैन ।

यसै कारण २०५२ सालमा उनले पार्टीको क्रियाशील सदस्यता लिएको बताउँछिन् । यो कदम उनले आफ्नो व्यक्तिगत महत्वाकांक्षाका लागि होइन, महिलाले भोगेको पीडा सत्ता र सरकारी संरचनासम्म पुर्‍याउन लिएकी थिइन् । उनको राजनीति प्रवेश सामाजिक परिवर्तनको निरन्तरता थियो । २०७४ को पहिलो चुनावमा उनी थोरै मतले उपविजेता बनिन् तर यो हारले जितको मार्ग तयार गरिदियो । २०७४ सालमा धर्मकलाले पहिलो पटक शुभकालिका गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् । गाउँमा महिला नेतृका रूपमा उठ्नु आफैँमा चुनौतीपूर्ण थियो । चुनावको बाँकी दिनभरि उनले सामना गर्नुपरेका केही सामाजिक घेरा रहेको उनको स्मरण अझै ताजा रहेको छ ।

‘महिला नेता कति सक्षम हुन्छन् र ?’ ‘घर–परिवार छाडेर राजनीति ? ‘मत दिएर के फाइदा ?’ तेस्रो लिङ्ग, दलित, अपाङ्गता भएका व्यक्तिको सवाल उठाउँदै उनी थुप्रै गाउँ टेकिन तर परिणाममा हार हात लाग्यो । तर धर्मकला भन्छिन्– ‘हार त अस्थायी थियो, तर सिकाइ स्थायी । त्यही हारले फेरि उठ्ने साहस दियो ।’ यो चुनावमा उनी हारिन्, तर समाजले उनलाई बुझ्न थाल्यो । र उनले पनि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिइरहिन् ।

२०७९ को जित : ‘संघर्षलाई परिणामले पुरस्कृत गर्‍यो’

२०७९ सालमा धर्मकलाले फेरि उपाध्यक्षका लागि उम्मेदवारी दिँदा परिस्थितिले अर्कै मोड लिन थाल्यो । ‘समाजले मेरो निरन्तर सक्रियता देखिसकेको थियो, महिलाको मुद्दामा उनको आवाज गुन्जिन थालेको थियो, युवा र महिला मतदाता मसँग भविष्य देख्न थालेका थिए, अन्ततः मलाई विजय बनाएर जिम्मेवारी दिइयो’ उनले भनिन् । उनी विजयी हुँदा उनलाई बुझेकाहरूले भन्ने गर्थे ‘नेतृत्वमा आएपछि बन्ने जिम्मेवारी त अलि बढ्छ, तर महिलालाई नेतृत्वबाट रोक्ने सबै बहाना अब ढल्नुपर्छ ।’ उनी अब उपाध्यक्ष मात्र होइनन्, लैङ्गिक उत्तरदायी नेतृत्वको कर्णाली मोडेल बनिसकेको विषय धेरैले बोलेको र लेखेको विषय हो ।

जनप्रतिनिधिपछि उनको अभियान

धर्मकला उपाध्यक्ष बनेपछि समाजको रूपान्तरण उनका कामबाट देखिन थाल्यो । उनले विशेषगरी पाँच मुख्य क्षेत्रमा अत्यन्तै प्रभावशाली भूमिका निर्वाह गरिरहेको र आफ्नो प्राथमिकता पनि यसमै केन्द्रीकृत भएको बताउँछिन् ।

पहिलो महिला उद्यमशीलता र आर्थिक सशक्तीकरणलाई अगाडि सारेकी छन् । ‘सीप विकास तालिम, घरेलु उद्योग सञ्चालन, महिलालाई आर्थिक निर्णयमा समावेश, सहकारी संस्कृति विकास यसमा परेका छन्’ दोस्रोमा बालबालिका संरक्षण अन्तर्गत बाल विवाह रोकथाम, विद्यालयमै लैङ्गिक सचेतना, बालमैत्री स्थानीय शासनको अभ्यास र तेस्रोमा स्वास्थ्य सेवा र सेवा पहुँच अन्तर्गत दुर्गम बस्तीमा स्वास्थ्य शिविर, प्रसूति सुरक्षा कार्यक्रम, जनचेतना र रोकथाममुखी स्वास्थ्य शिक्षा’ उच्च प्राथमिकतामा राखेकी छु । उनले भनिन् –‘चौथोमा सडक, यातायात र ऊर्जा अन्तर्गत दुर्गम बस्तीमा पहुँच मार्ग, माइक्रो हाइड्रो र नवीकरणीय ऊर्जा कार्यक्रममा पहल, विद्युत् विस्तारमार्फत महिला उद्यममा सहयोग र पाँचौँमा न्याय सम्पादन र लैङ्गिक उत्तरदायित्व अन्तर्गत घरेलु हिंसा व्यवस्थापन, पीडित महिलाको कानुनी सहारा, मध्यस्थता तथा समुदायमा न्याय पहुँच विस्तार’लाई अगाडि बढाएकी छु ।’ यिनै कामबाट धर्मकला शाही कालिकोटका जनप्रतिनिधिहरूबीच एक सक्रिय, प्रगतिशील र जनमुखी नेतृका रूपमा बलियो परिचय थपेकी हुन् ।

नेतृत्वमा महिलाका चुनौती : धर्मकलाको निजी अनुभव

उनी भन्छिन् ‘महिलाले नेतृत्वमा आउँदा अनेक चुनौतीको सामना गर्नुपर्छ । आवाज उठाउने बित्तिकै समाजले लाञ्छना लगाइदिन्छ ।’ धर्मकलाको अनुभवले महिलाले सामना गर्नुपर्ने यथार्थलाई स्पष्ट देखाउँछ । सामाजिक दबाब, चरित्र हत्याका प्रयास, घरेलु हिंसा, आर्थिक अभाव, संगठनात्मक असमानता, घर र सार्वजनिक भूमिकाको दोहोरो भार जस्ता विषय यसको कारक तत्व भएको उनको बुझाई छ । यतिबेला धेरै महिला नेतृहरूले नेतृत्वमा प्रवेश गरेपछि घरेलु हिंसाको जोखिम अझै बढेको तथ्य उनी बारम्बार प्रस्तुत गर्छिन् ।

उनी भन्छिन् ‘नेतृत्वमै आएको कारणले महिलामाथि अतिरिक्त घरेलु दबाब र हिंसा बढ्छ । म स्वयम् पनि त्यसको सिकार भएकी छु । तर यसले म टुट्दिन, जिम्मेवारी अझै बढ्छ ।’ यो आत्मस्वीकृतिले कालिकोटका कैयौँ महिलालाई आवाज उठाउन प्रेरित गरेको छ । उनका अनुसार महिलाको क्षमता विकासका कार्यक्रम : ‘सीप, चेतना र नेतृत्व’ मा अब विशेष योजना बनाउनुपर्दछ । उपाध्यक्षका रूपमा रहँदा आफूले महिलाको क्षमता वृद्धि गर्ने विभिन्न तालिमहरू सञ्चालन गरेको बताउँछिन् । ‘महिला नेतृत्व विकास, लैङ्गिक उत्तरदायी नीति र कानून, सामाजिक न्याय र समानता, सामाजिक सञ्जालमा महिलामाथि हुने आक्रमणबाट जोगिने उपाय, समावेशी नीति निर्माण, स्थानीय शासनमा महिलाको भूमिकाको विकास’ महिला सशक्तीकरणमा मुख्य विषयहरू हुन् । मलाई र मेरो क्षेत्रका महिलाहरूलाई यी तालिमले कर्णालीका सयौँ महिलामा नयाँ चेतना भरिदिएको हो ।’ उनले भनिन् ‘अझै पनि यसलाई निरन्तरता दिन जरुरी छ । महिलाले ‘म पनि सक्छु’ भन्ने आत्मविश्वास बढाएको छ स्थानीय तहमा महिलाको आवाज बलियो हुँदै गयो ।’

धर्मकलाको काम कर्णाली वा नेपालमै सीमित रहेन । उनको नेतृत्वको प्रभाव अन्तर्राष्ट्रिय संस्थासम्म पुर्‍याउने अवसर She Leads Icon ले तयार गरिदियो । उनी ‘प्रभावशाली महिला जनप्रतिनिधि ३१’ को सूचीमा परिन् ।

यहाँ उनले घरेलु हिंसाको अनुभव, पितृसत्तासँगको संघर्ष, कर्णालीको राजनीतिक कठिनाइ, र आफ्नो परिवर्तनकारी काम, विश्वका प्रतिनिधिहरूसामु प्रस्तुत गरेको बताउँछिन् । ‘यो केवल व्यक्तिगत उपलब्धि मात्र थिएन । यो कर्णालीकी महिला पनि विश्व स्तरको नेतृत्व मोडेल बन्न सक्छिन् भन्ने प्रमाण थियो । ’ उनी भन्छिन् । उनलाई बुझ्नेहरू धर्मकला शाही कर्णालीका महिलाहरूका लागि प्रेरणाको अक्षर भएको बताउन थालेका छन् । उनको जीवनकथा अहिले कर्णालीका हजारौँ महिलाले अनुकरण गर्न थालेका छन् । घरभित्र हिंसा सहन बाध्य महिलालाई आवाज दिन सिकाइएको छ ।

नेतृत्वमा महिलाको सहभागिता बढेको छ । दलित, सीमान्तकृत र आर्थिक रूपमा कमजोर महिलाले स्थानीय शासनमा अवसर पाउन सकेका छन् । कर्णालीको सामाजिक सोचमा परिवर्तन भइरहेको छ । धर्मकलाले भनिन्,‘पितृसत्तात्मक संरचना हटाउन अझ धेरै काम गर्न बाँकी छ । म निरन्तर प्रयासरत रहनेछु ।’ उनको यो प्रतिबद्धताले कर्णालीमा एउटा नयाँ सामाजिक आन्दोलन जन्माइदिएको छ ।

एक महिला नेतृको उदाहरण, संघर्ष, सेवा र परिवर्तन, धर्मकला शाहीको यात्रा कुनै साधारण यात्रा होइन । उनको कथा संघर्षको कथा हो, सामाजिक विद्रोहको कथा हो, निरन्तर मेहनत र समर्पणको कथा हो, लैङ्गिक समता र न्यायको खोजी हो, परिवर्तनका लागि नेतृत्वको जित्दाको कथा हो, कालिकोटको एक गाउँबाट सुरु भएको यात्राले अहिले स्थानीय शासनदेखि अन्तर्राष्ट्रिय प्लेटफर्मसम्म प्रभाव छोडेको छ ।

उनले भोगेका प्रतिरोध, समाजका बाधा, पारिवारिक हिंसा, राजनीतिक असमानता यी सबैलाई चिर्न उनी सफल भएकी छिन् । आज धर्मकला शाही कर्णालीको महिलाहरूका लागि ‘आशा’ र नेतृत्वमा आउन चाहने युवतीहरूका लागि ‘आदर्श’ बनिसकेकी छन् ।

(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)