डोल्मा तामाङ
उपाध्यक्ष
साइपाल गाउँपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उपाध्यक्ष
साइपाल गाउँपालिका
२०८१ को चैत्र महिनाको त्यो दिन बझाङको साइपाल गाउँपालिकाको दुर्गम बस्तीमा उत्सव बन्यो। कुनै चाडपर्व, महोत्सव थिएन। उत्सवको कारण थियो– गाउँमा पहिलो पटक डोजर पुग्नु।
साइपालका बालबालिकादेखि वृद्ध वृद्धासम्म सबै त्यो मेसिनलाई अचम्म मान्दै हेरिरहेका थिए। त्यो क्षण साइपालवासीका लागि विकासको पहिलो पाइला थियो। आशाको दियो पनि थियो। त्यो आशाको दियो बाल्ने सारथि थिइन्, साइपाल गाउँपालिकाकी उपाध्यक्ष, डोल्मा तामाङ। बझाङको साइपाल गाउँपालिकामा अहिलेसम्म सडक सञ्जाल छुन सकेको छैन।
विकट पालिकामा सडक सञ्जाल पुर्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिहरू लागिरहेका छन्। सडक सञ्जाल पुर्याउन निरन्तर लागिरहेका छिन् गाउँपालिकाकी उपाध्यक्ष डोल्मा।
डोल्माको जन्म २०४४ कार्तिक ७ मा हुम्लाको तत्कालीन हेक्पा गाविस (हाल नाम्खा गाउँपालिका) मा भयो। उनको सामान्य किसान परिवारमा थियो। बुवा पाल्देन तामाङ र आमा कार्मा छोमु तामाङ सामान्य खेती किसानी गर्थे। बुबा–आमा, दुई दाजु र दुई भाइको परिवारमा हुर्किएकी उनको बाल्यकाल अरू केटीहरूको भन्दा फरक थियो। त्यो समयमा छोरीलाई पढाउने चलन थिएन। उनको स्वास्थ्यमा समस्या पनि आइरहन्थ्यो। उनको टाउको दुखिरहने समस्याले गर्दा बुबाले डोल्मालाई पढाउने निर्णय गरे।
‘म अलि कमजोर भएकाले बुबाले पढाउनुभएको थियो,’ उनले सम्झिन्छन्।
उनको परिवारको शिक्षाप्रतिको लगाव कतिसम्म थियो भने, उनकी आमा कार्मा छोमु तामाङले जग्गा दान दिएपछि बुबा–आमाकै पहलमा गाउँमा एउटा विद्यालय स्थापना भयो। त्यही विद्यालयमा काठको पाटीमा माटोले लेख्दै डोल्माले कखरा चिन्ने अवसर पाइन्। उनको स्वभाव सानैदेखि फरक थियो। उनी केटीहरूसँग भन्दा केटाहरूसँग खेल्न रुचाउँथिन्। कसैसँग झगडा गर्ने बानी थिएन। पाँच कक्षासम्म त्यही विद्यालयमा पढेपछि उनले नजिकैको चौगानफायास्थित कर्णाली माध्यमिक विद्यालयबाट आठ कक्षासम्मको अध्ययन पूरा गरिन्।
नौ कक्षामा पढ्दै गर्दा उनी १५ वर्षको कलिलो उमेरमा उनको विवाह बझाङका महिमान तामाङसँग भयो। १६ वर्षमा उनले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिइन्।
विवाहपछि उनको जीवनले नयाँ मोड लियो। घरको काम कहिल्यै नगरेकी डोल्माले आफ्नो कर्म घरमा आएर सबै कुरा सिकिन्। उनका लागि खुसीको कुरा यो थियो कि उनको श्रीमान् र परिवार निकै सहयोगी थिए। ‘श्रीमान्को घरमा पनि मैलेँ धेरै माया पाएँ। घरको कामदेखि व्यवहार चलाउनेसम्म सबै यहीँ आएर सिकेको हुँ,’ उनले भनिन्। यद्यपि आमा बने पनि उनीमाथि जिम्मेवारी धेरै थियो। यस कारण उनले पढ्न पाइनन्।
उनको परिवार जडीबुटी (यार्सागुम्बा) को व्यापार र होटल व्यवसायमा संलग्न थियो। डोल्मा पनि त्यही व्यवसायमा लागिन्। उनको मनमा सधैँ एउटा सेवाको भाव थियो। गाउँबाट सदरमुकाम चैनपुर आउने सोझासाझा मानिसहरूलाई उनी निःस्वार्थ सहयोग गर्थिन्। बिरामीलाई अस्पताल पुर्याइदिने, मुद्दा मामिलामा परेकालाई जिप्रका लगिदिने, वृद्ध वृद्धाहरूको भत्ता बैंकबाट निकालिदिने जस्ता काम उनको दैनिकीजस्तै बनेको थियो।
‘उहाँहरूको आफ्नो आफन्तले विश्वास गर्दैनथे, तर मलाई विश्वास गर्नुहुन्थ्यो,’ उनी भावुक हुँदै भन्छिन्‘ यही सेवाभावले डोल्मालाई गाउँलेमाझ लोकप्रिय बनाउँदै लग्यो। वि.सं. २०७२ सालमा जब देश संघीयतामा गयो। बझाङको तत्कालीन काँडा गाविसको भूगोल र जनसंख्याको असमानताको मुद्दा उठ्यो।
आधा भूगोल सुगम क्षेत्रमा र आधा दुर्गम साइपालमा पर्दा त्यहाँका जनताले सेवा लिन तीन–चार दिन हिँड्नुपर्ने बाध्यता थियो। यही अन्यायविरुद्ध डोल्मा तामाङले नेतृत्व सम्हालेकी थिइन्। ‘हामीलाई छुट्टै पालिका चाहिन्छ’ भन्ने माग लिएर उनले आन्दोलनको अगुवाइ गरिन्।
यो नेतृत्व भने सजिलो थिएन। उनले प्रहरीको लाठी खाइन्। महिनौँसम्म आन्दोलन भयो। करिब ५ सय जनाको नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाएर ‘हामी नेपालको नागरिक होइनौँ भने घोषणा गर’ भन्दै दबाब दिइन्।
काठमाडौंमा डेलिगेसन जाँदा पुरुषहरूको भीडमा उनी एक्ली महिला नेतृ थिइन्। यही अथक संघर्षपछि अन्ततः साइपाल गाउँपालिकाले छुट्टै पहिचान पायो।
यो आन्दोलनले उनलाई एक सामाजिक अभियन्ताबाट राजनीतिकर्मीको रूपमा स्थापित गर्यो। उसो त डोल्मा २०६३ सालमा नेकपा एमालेको साधारण सदस्यता दिइन्। तर, सक्रिय थिइनन्। जब उनले गाउँमा सक्रिय भएर सामाजिक कार्यमा लाग्न थालिन् त्यसपछि सबैले उनलाई स्थानीय तहको चुनावमा पनि उम्मेदवारी दिन सुझाव दिए। यो बेलामा नेकपा एमाले गाउँ कमिटी सदस्य थिइन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिइन्। त्यो बेला उनी थोरै मतले पराजित भइन्। त्यो जितले उनले हार मानिन्। आफ्नो सामाजिक सक्रियतालाई निरन्तरता दिइन्। २०७५ सालमा सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्य भएर काम गरिन्। यही बेला उनले रोकिएको पढाइलाई अगाडी बढाउने निर्णय गरिन्। २०७६ कोरोनाकालमा उनले एसईई दिइन्। त्यसपछि कक्षा १२ पास गरिन्। यो बेलामा पार्टीमा उनी जिल्ला कमिटीको सदस्य थिइन्। भातृ संगठनको जनजाति महासंघको केन्द्रीय सदस्य थिइन्। २०७९ को निर्वाचनमा जनताको बलियो माग र विश्वासका साथ उनी उपाध्यक्षमा निर्वाचित भइन्।
साइपाल गाउँपालिकाको नेतृत्व गर्नु आफैँमा एउटा ठूलो चुनौती हो। सडक सञ्जालले नछोएको, विकासको पूर्वाधार शून्य प्रायः भएको त्यो ठाउँमा काम गर्नु सजिलो थिएन। डोल्मा र उनको टिमले दृढताका साथ काम अघि बढायो। साढे तीन वर्षको कार्यकालमा उनले साइपाललाई सडक सञ्जालसँग जोड्नका लागि ट्र्याक खोल्ने काम हुनु प्रमुख उपलब्धिका रूपमा हेरेकी छिन्। पालिकाको सीमित बजेटबाट करिब १० किलोमिटर ट्र्याक खोलिएको छ। अब छिमेकी पालिका तलकोट गाउँपालिकासँग जोडिन ४–५ किलोमिटर बाँकी छ।
यस्तै आफ्नो कार्यकालमा हेलिकप्टर चार्टर गरेर बिरामीको उद्धार गर्नुपर्ने बाध्यता अन्त्य गर्न १० शय्याको अस्पताल निर्माण कार्य ९० प्रतिशत सकिनु पनि अर्को मुख्य उपलब्धि मानिएको डोल्माको भनाई छ। यस्तै राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत महिलाहरूको पाठेघर खस्ने र सेतो पानी बग्नेजस्ता समस्याको उपचारका लागि ठूलो स्वास्थ्य शिविर सञ्चालन गरियो। गम्भीर बिरामी तीन महिलाको कोहलपुरमा निःशुल्क शल्यक्रियासमेत गराइएको उनले बताइन्।
२० वर्ष पूरा गरेर विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार दिने कार्यक्रमले बालविवाह रोक्न महत्त्वपूर्ण भूमिका खेलेको डोल्माको विश्वास छ। छोरी जन्माउने आमालाई २ हजार पुरस्कार दिएर समाजमा छोरीप्रतिको दृष्टिकोण बदल्ने प्रयास गरिएको उनी बताउँछिन्। ५० वर्षमाथि एकल पुरुषलाई एकल भत्ता भनेर मासिक २ हजार भत्ता दिने काम पनि गरेको छ। ‘सोचे जति काम गर्न नसकिएला, हामीले हर सम्भव प्रयास गरिरहेका छौँ। यो भूगोलमा एउटा सामानको मूल्य ढुवानीले गर्दा दोब्बर पर्छ, हामीले हिम्मत हारेका छैनौँ,’ उनले भनिन्।
डोल्मा तामाङको राजनीतिक यात्रा अझै उचाइमा लग्न उनी थप बलियो भएर लाग्ने बताउँछिन्। उनी महिलाहरू उपाध्यक्षमा मात्रै सीमित हुनुहुँदैन। अध्यक्षको भूमिकामा पनि आउनुपर्छ भन्ने मान्यता राख्छिन्। ‘न्यायिक समिति र अनुगमनजस्ता अप्ठ्यारा काम उपाध्यक्षले गर्ने, जस भई अध्यक्षले लिने परिपाटी छ,’ उनी आफ्नो अनुभव सुनाउँछिन्।
आफ्नो सेवाभाव र काम गर्ने शैलीले उनी आगामी दिनमा पालिकाको प्रमुख भूमिकामा रहेर साइपालको मुहार फेर्ने सपना देख्छिन्।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)