गोकुली कुमारी रेग्मी
उपाध्यक्ष
ठोरी गाउँपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उपाध्यक्ष
ठोरी गाउँपालिका
तीन–तीन वटा राष्ट्रिय निकुञ्जले घेरेको, जंगलबीच हरियालीले ढाकिएको र भारतसँग जोडिएको खुला सीमाको कारण जोखिम र सम्भावनाले भरिएको पर्साको ठोरी गाउँपालिका । यही भूगोलमा जन्मिएको परिवर्तनको कथा हो गोकुली कुमारी रेग्मीको । सामाजिक सेवा हुँदै राजनीतिसम्म आइपुगेकी, महिलालाई ‘गर्न सक्दैन’ भन्ने सोच तोडेर नेतृत्वको पहिलो पङ्क्तिमा उभिएकी उनी दोस्रो पटकको प्रतिस्पर्धा जितेर गाउँपालिका उपाध्यक्ष बनेकी छन् । अब उनले साढे तीन वर्ष त्यो पालिकाकामा कति काम गरेकी छन् भन्ने विषय पनि स्थानीयले महसुस गर्ने समय आइसकेको छ ।
०६४ सालदेखि २०७१ सालसम्म महिला विकास कार्यालयमा काम गरेर महिला सशक्तीकरणमा राम्रो अनुभव संगालेपछि उनी ०७२ सालबाट सक्रिय राजनीतिमा होमिएकी हुन् । कसरी महिला सहभागिता गर्ने, महिलालाई कसरी शिक्षामा अघि सार्ने विषयमा गहिरो अभ्यास भएकी गोकुली आज ठोरीको महिला सशक्तीकरणदेखि स्वास्थ्य, शिक्षा, नागरिकता वितरण, भूमि समस्या समाधान, आपराधिक गतिविधि नियन्त्रण र सुशासनको अभ्याससम्मको नेतृत्व तहमा पुगेपछि केही सृजनात्मक काम अघि बढेका छन् । पहिलो कार्यकालमै उनले ठोरीको चरित्र बदलेको स्थानीयहरूले बताउँछन् ।
दक्षिणमा भारतको सीमा क्षेत्रसँग जोडिएको ठोरी जंगलले घेरिएको तर सम्भावनाले भरिएको गाउँपालिका हो । यो नेपालको ती दुर्लभ भूभागमध्ये पर्छ, जहाँ पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, भलवाडी संरक्षण क्षेत्र जस्ता संरक्षित क्षेत्र मिलेर नागरिकलाई नै ‘जंगलभित्रको बस्ती’को अनुभव दिन्छन् । अचम्म लाग्दो विविधताले भरिएको यो पालिकामा चेपाङ, थारु, मधेसी, पहाडी, जनजाति समुदाय एकअर्कामा मिसिएर बसेका छन् । गोकुली यहाँ जाँदा धेरै काम बाँकी थिए उनीसँग काम गर्ने अठोट पनि थियो तर भूगोल सजिलो थिएन, चुनौती ठूलो थियो ।
उनलाई सबैभन्दा बढी मन छोएको सुत्केरी महिलालाई सडक अभावमा डोकोमा बोकेर सीमापार उपचारका लागि लैजानुपर्ने अवस्थालाई बदल्नु थियो । ‘एक महिलाले यस्तो अवस्था देख्दा कस्तो महसुस भए होला ? मैले निर्वाचित भएकै दिन संकल्प गरेँ यसलाई बदल्न पहिलो प्राथमिकता सहज बाटो हो, अर्को उपचारका लागि वीरगन्ज र नारायणगढ जानुपर्ने बाध्यता हटाउन पालिकामै अस्पताल निर्माण हो, त्यो संकल्पअनुसार काम अघि बढाइयो, केही पूरा भए केही प्रक्रियामा छ ’ उनले भनिन् ।
‘सीमा क्षेत्र भएकाले एकातिर आपराधिक समूहको चहलपहल, अर्कोतिर मानव बेचबिखनको बढ्दो जोखिम । नागरिकताको अभावले धेरै महिला–पुरुष ‘अदृश्य नागरिक’ बनेर बसेका थिए । यही कठोर यथार्थसँग जुध्दै म जनप्रतिनिधिको जिम्मेवारीमा आएकी हुँ’ गोकुलीले भनिन्, ‘कसैले पनि मलाई राजनीतिमा आउँछे भनेर सोचेका थिएनन्, मलाई पनि यो कल्पना थिएन नि ।’
वीरगन्जमा पढेकी, ठाकुरराम क्याम्पसकी विद्यार्थी गोकुली पहिलेदेखि नै महिलाका लागि आवाज उठाउने समूहमा सक्रिय थिइन् । ०६४ सालदेखि पर्सामा महिला विकास कार्यालयमा जोडिएर काम गर्दा उनी स्थानीय महिलाको पीडा, हिंसा, कागजपत्र अभाव, गर्भवतीको जोखिम, रोजगारहीनता-सबै नजिकबाट भोग्थिन् । तर लामो समय अस्थायी रूपमा काम गरेकी उनी आन्तरिक परीक्षामा असफल भइन् ०७१ सालमा । त्यसपछि उनको सपना बदलिएको हो । ०७२ सालमा ठोरीमा भएको एउटा घटना उनले जीवनकै मोड मान्छिन् ।
स्थानीय दाजु जंगल सुरक्षा टोलीले पक्राउ परेको थियो । आफन्त भनेर खोज्दै आउँदा उनी पनि सहयोग गर्न अघि सरेकी थिइन् । ‘त्यो दिनदेखि स्थानीयले नै भन्न थाले, ‘यो केटी काम गर्छ, बोल्छ, ढुक्कले हेरचाह गर्छ’ गोकुली सम्झिन्छिन् । त्यसअघि कुनै पार्टीसँग आबद्ध नभएकी उनी सेवाबाट थोरै-थोरै राजनीतिमा तानिँदै लगिइन् । त्यसअघि नै उनलाई महिलाको क्षेत्रमा कसरी काम गर्ने, कसरी उनीहरूलाई सशक्तीकरणमा जोड्ने विषयमा उनी पोख्त भइसकेकी थिइन् । महिलाको आवाज बुलन्द बनाउने उनले पहिले नै सुरू गरेकी थिइन् । राजनीतिमा आउनुअघि नै गोकुली महिलाका लागि धेरै काम गर्ने साथी बनिसकेको बताउँछिन् । ‘हिंसा पीडित, नागरिकता नपाएकाहरू, हिंसात्मक व्यवहार सामना गरेर पीडित बनेका, आर्थिक अवसर नपाएका व्यक्तिहरूका पक्षमा मैले पहिले नै सचेतना अभियान चलाउँथेँ’ उनी भन्छिन्, ‘महिलालाई रोक्ने अरू होइन, आफ्नै मन हो । हिम्मत आफैँबाट आउनुपर्छ ।’
त्यसो त उनी पहाडी परिवारमा जन्मिएर तराईमा काम गर्दा उनले धेरै सांस्कृतिक धक्का सहनुपरेको, धेरैले हेपेको विषय उनीसँग छिपेको छैन । ‘भोजपुरी भाषा नजान्दाको कठिनाइ, पहाडी पहिरनका कारण गरेको हेपाइ, स्थानीय मुखियादेखि उच्च घरानियाँको व्यवहार सबैले मलाई भित्रभित्रै पोल्थ्यो तर ती मेरा पीडाभन्दा त्यहाँ रहेका महिलाका समस्याभन्दा निकै कम थिए’ उनी भन्छिन्, ‘तर यही पोलाइ नै शक्ति बन्यो । यसबाट मलाई निरन्तर अघि बढ्ने हिम्मत आइरह्यो ।’
पहिलो पटक चुनाव : ‘थोरै मतले हारेँ, तर हारले नै जित्न सिकायो’
०७१ सालसम्म महिला विकासमा काम गर्दा उनी कुनै पार्टीमा आबद्ध पनि थिइनन् । तर उनलाई धेरै पार्टीका नेताहरूले मनमनै यत्तिको मान्छे पार्टीमा जोडेर नेतृत्व दिन सके राम्रो हुने भनेर योजना बनाइरहेका रहेछन् । ०७२ सालमै उनलाई केही स्थानीयका आवाज लिएर बोल्ने क्रममा पार्टीबाट प्रस्ताव भयो नेतृत्वका लागि । त्यसपछि उनले आफ्ना कामहरू गर्दै गइन् । २०७४ मा नै पालिका उपाध्यक्षका लागि प्रस्ताव आएपछि उनलाई आश्चर्य लाग्यो मलाई अहिले नै यहाँ पुग्न हतार हुन्छ कि भनेर ।
सुरुमा उनले अग्रजलाई स्थान दिने निर्णय गरिन् तर सबैले उनलाई अघि सर्न आग्रह गरेपछि ०७४ को चुनावमा मैदानमै उत्रिनुपर्यो, थोरै मतले पराजित भइन् । ‘मैले अग्रजलाई प्राथमिकता दिन धेरै आग्रह गरेँ, तर महिलाका कानुन बनाउनुपर्ने, न्यायिक समितिमा बस्नु पर्ने सहितका धेरै विषयमा मलाई आग्रह गरेपछि तयार भएकी हुँ’ उनले भनिन्, ‘मलाई निर्वाचनको कुनै अनुभव थिएन, थोरै मतले पराजित भएँ तर मनले हारेन पहिलो पटकमै यति धेरैको साथ पाएँ भनेर ।’ पराजयले उनले प्राप्त गरेको जनविश्वास मेटेन । बरु थप ऊर्जा मिल्यो । उनलाई पार्टीले पुनः अघि बढ्न साथ दियो, उनले स्वीकार गरेर अघि बढिन् । ०७९ मा भने मतदाताले उनलाई निर्बाध भावनासहित जिताए । उनी भन्छिन्, ‘मेरो जित पार्टीको कारण मात्र होइन, जनताको भरोसा र निरन्तरको सेवाको कारण हो ।’ उपाध्यक्ष बनेपछि ‘जंगलभित्रको बाटोबाट सुत्केरीलाई डोकोमा बोकेर ल्याउने अवस्था हटाइदिएँ’ उनी भन्छिन् ।
उपाध्यक्ष बनेपछि गोकुलीले सबैभन्दा पहिला स्वास्थ्य पहुँचमा ध्यान दिएको बताइन् । पहिलो प्राथमिकतामा सडक तथा यातायात सुधार अन्तर्गत जंगलले घेरिएको पालिकामा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउँदै उनले पालिकाले नै सहज सेवा दिने प्रणाली बनाइन् भने अस्पताल निर्माणअन्तर्गत स्थानीय नागरिकलाई वीरगन्ज र नारायणगढ धाउनुपर्ने अवस्था अन्त्य गर्दै स्वास्थ्य चौकी र सानो अस्पताल निर्माण गरिन् । त्यसै गरी नागरिकता वितरणमा सहजता बनाउन सालौँसम्म कागजविहीन रहेर सरकारले प्रदान गर्ने सेवाबाट वञ्चित स्थानीयलाई ‘नागरिकता अभियान’ चलाइन् ।
‘धेरैको नागरिकता पाउने सपना पूरा भयो’ उनी भन्छिन् । त्यसै गरी निःशुल्क शिक्षा–एम्बुलेन्स सेवा अघि बढ्यो । गरिब परिवारका बच्चालाई पढाइमा नछुट्टिने बनाइन्, आपत्कालीन अवस्थामा पनि महिलालाई सहज बनाइन् । खुला नाकाको जोखिम : मानव बेचबिखन रोक्न ‘पहिलो पङ्क्तिमा’ गोकुली रहेको स्थानीयको बुझाई छ ।
भारतसँग खुला सीमाको कारण ठोरी क्षेत्रमा तस्करी, मानव बेचबिखन,ओसारपसारजस्ता जोखिम बढी थिए । गोकुली भन्छिन्, ‘ठोरी मानव बेचबिखनको केन्द्रजस्तै बन्न सक्थ्यो । हामी महिलाले नै रोक्नु प¥यो । केही नीतिगत कुराले कम भयो, केही समन्वय गरेर सीमा पारी भारतीय सरकारका अधिकारीलाई यो विषयमा सहज बनायौँ, नेपालमा रहेका सरोकारवालालाई पनि यसमा निरन्तर समन्वय र सहकार्य गरेर यो अवस्थामा पुराएकी हुँ ।’
स्थानीय प्रहरी, भारतको स्थानीय सरकार, निकुञ्ज सुरक्षा टोलीसँग मिलेर अभियान, सचेतना, चेकपोस्ट सक्रियतामार्फत जोखिम घटाउन सक्ने वातावरण उनले बनाइन् । भारतमा भएका सम्बन्धहरूले पनि सहयोग पुर्यायो । शिक्षा र महिला नेतृत्व ः ‘हामीले आत्मविश्वास बोकेर हिँड्नुपर्ने हो’वर्षौँसम्म महिलालाई बोल्न नदिने, सार्वजनिक रूपमै बस्न नदिने, राजनीति त टाढै राख्ने,सामाजिक व्यवस्था ठोरीमा थियो । गोकुली भन्छिन्, ‘महिलाले गर्न सक्दैन भन्ने सोच नै सबैभन्दा ठूलो बेडो हो ।’ उनले सीपमूलक तालिम, दिगो रोजगारी, घरेलु उत्पादन, कृषि तालिममार्फत ठोरीका महिलालाई आत्मनिर्भर बनाउन थालेकी छिन् ।
पहाडी-तराई संस्कृतिको अन्तर : ‘लगाएको कपडा हेरेर हेप्थे, तर हरेक चिहानले शक्ति दियो’
‘म पहाडी परिवारकी, काम भने तराईमा । भाषा नजान्दा समस्या भयो, पहिरनले हेपाइ भयो । घरानियाँले नगर्नु भनेका धेरै काम म गरेकोले पनि चासो बढ्थ्यो ।’ गोकुलीका यी शब्दले समाजको अवस्था झल्काउँछ । तर उनी भन्छिन्–‘यिनै अनुभवले मलाई आजको नेतृत्वमा उभ्यायो । मेरो परिवारले मलाई पढ्न प्रेरित गरेर सक्षम बनायो मैले अब समाजलाई केही गर्नुपर्छ भन्ने संकल्प गरेँ ।’
उनले आगामी डेढ वर्ष: ‘ठोरीको तोरी ब्राण्ड, चेपाङ–थारु महिलाको उद्यम’ बनाउने संकल्प गरेकी छन् । ‘कार्यकालको साढे ३ वर्ष त सकियो अब अब बाँकी डेढ वर्षमा तीन मुख्य क्षेत्रलाई प्राथमिकता दिएकी छु’, उनी भन्छिन्, कृषि र ब्राण्डिङठोरीको तोरीलाई ब्राण्ड बनाउने र किसानलाई सहज बजार पहुँच बनाउने,. सीपमूलक उद्यममार्फत थारु समुदायमा सिप विकास तालिम, चेपाङ बस्तीमा होमस्टे प्रवर्द्धन गरी महिलाका उत्पादनलाई बजारीकरण गर्ने र लिंगआधारित हिंसामुक्त पालिका बनाउन ‘जिरो जेंडर-हिंसा पालिका’ नीति लागू गर्ने तयारी छ हेरौँ कति सकिन्छ ।’
उनको लक्ष्य ठोरीलाई कृषि, पर्यटन र महिला उद्यमशीलतामा नमुना पालिका बनाउने रहेको छ । यो क्षेत्रमा काम गर्दा नै उनलाई धेरै खुसी लागेको छ भन् जीवनमा चाहेको विषय दिदीको आकस्मिक निधनले पढ्न नपाएकोमा पछुतो लागेको उनको स्मरण छ । ‘दिदीको मृत्युले पढ्न पाएन, बाँकी जीवनले सेवा सिकायो’ उनी भन्छिन्, ‘उच्च शिक्षा लिने लक्ष्य थियो । तर दिदीको मृत्युले सबै योजना बिग्रियो । त्यही घटनाले उनलाई जीवनभर पोलिरह्यो । तर चाहेको विषय पढ्न नपाएको दुःख छ, तर कर्मले जनप्रतिनिधि बनायो, सेवा गर्ने बाटो दियो ।’
आज उनी हजारौँ महिलाको प्रेरणा बनेकी छन् । जंगलभित्रको ठोरीमा उज्यालो जगाउने एक महिला नेताको पहिचान बनेकी छन् । गोकुली कुमारी रेग्मीको यात्रासंघर्षबाट सफलता,मौनताबाट नेतृत्व, घरेलु भूमिकाबाट जनसेवासम्म पुगेको प्रेरणादायी कथा रहेको उनका प्रशंसकहरूले सहजै उत्तर दिन थालेका छन् । उनले दिएको अभियानले महिलालाई कसैले शक्तिशाली बनाइदिँदैन । आफैले उठ्नुपर्छ, आवाज उठाउनुपर्छ भन्ने सन्देश दिएको धेरैको बुझाई रहेको छ । ठोरीमा आज देखिएको महिलाको सहभागिता, स्वास्थ्य सुधार, सुरक्षित मातृत्व, नागरिकताको पहुँच, कृषि-पर्यटनको सम्भावना गोकुली नेतृत्वकै जनप्रतिनिधिहरूको योगदान रहेको छ । ठोरी जस्तै जंगलले घेरिएको ठाउँमा पनि नेतृत्वको उज्यालो छर्न सकिन्छ गोकुलीको यात्राले यही सन्देश दिएको छ ।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)