ज्ञानु कुमारी सेटी देउबा
उपाध्यक्ष
गन्यापधुरा गाउँपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उपाध्यक्ष
गन्यापधुरा गाउँपालिका
डडेल्धुराको विकट गन्यापधुरा गाउँपालिकाको उपाध्यक्षको कुर्सीमा बसेर जब ज्ञानु कुमारी सेटी देउबा विगतलाई सम्झिन्छिन्। उनका आँखामा बाल्यकालको त्यो सपना नाच्न थाल्छ। जुन सपना उनका बुवाले डायरीको पानामा लेखेर सुरक्षित राखेका थिए।
कक्षा चारमा पढ्दा बुवाले गरेको प्रश्न ‘तिमी ठूली भएर के बन्छ्यौ ?’, जवाफमा उनल भनेकी थिइन्, ‘म नेता बन्छु।’ त्यतिबेला नेता बन्नुको अर्थ सबैभन्दा ठूलो मान्छे हुनु र अरूलाई निर्देशन दिन पाउनु हो भन्ने उनको बुझाई थियो।
आज त्यही सपनाले उनलाई जनताको सेवकको रूपमा स्थापित गरेको छ। जहाँ उनी निर्देशन दिने होइन, जनताको सेवा गर्ने जिम्मेवारीमा छिन्।
२०४४ साल चैत ५ गते अजयमेरु गाउँपालिका (तत्कालीन गाविस) को वडा नं. २, बजिमडामा जन्मिएकी ज्ञानुको परिवार राजनीतिक र सामाजिक चेतनाले भरिपूर्ण थियो। उनका बुवा नेपाली कांग्रेसमा आबद्ध एक सक्रिय सामाजिक कार्यकर्ता र आमा सामान्य साक्षर घरको गृहिणी थिइन्।
परिवारमा शैक्षिक र राजनीतिक वातावरण भएकाले उनलाई सानैदेखि नेतृत्व र समाजसेवामा रुचि जाग्यो।
उनको राजनीतिक यात्राको औपचारिक सुरुवात भने विद्यालय तहबाटै भएको थियो। २०६१ सालमा सहस्त्रलिंग माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई सचिव बनेर उनले राजनीतिको कखरा सिकिन्।
‘कक्षा ६ देखि नै म स्काउट, सदन विभाजन र अन्य अतिरिक्त क्रियाकलापमा नेतृत्वदायी भूमिकामा हुन्थें। त्यहीँबाटै मलाई नेतृत्व गर्नुपर्छ भन्ने भावना विकास भयो।’ कक्षा ७ मा पुग्दा उनले राजनीतिको अर्थ बुझ्न थालिन्- यो जागिर खानु होइन, समाजसेवामा समर्पित हुनु हो।
ज्ञानुको राजनीतिक यात्रा निरन्तर अगाडि बढ्यो। उनी २०६३ सालमा नेविसंघको सोही विद्यालयको इकाई सभापति, २०६७ सालमा जिल्ला कोषाध्यक्ष (मनोनीत), र २०६९ सालमा निर्वाचित कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि बनिन्। उच्च शिक्षाका लागि काठमाडौं पुगेपछि पनि उनको राजनीतिक सक्रियता रोकिएन। उनी २०७१ सालमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नेविसंघको इकाई कोषाध्यक्ष भइन्।
विद्यार्थी राजनीतिमा खारिएकी ज्ञानुले पार्टीको राजनीतिमा पनि आफूलाई अब्बल साबित गरिन्। उनी २०७२ सालमा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, २०७८ सालमा गन्यापधुरा गाउँपालिका वडा नं. १ को पार्टी वडा सभापति र सोही वर्ष नेपाल महिला संघको पालिका अध्यक्षमा निर्वाचित भइन्। यही लामो राजनीतिक संघर्ष र जनताको विश्वासले उनलाई २०७९ सालको स्थानीय तह निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको उपाध्यक्ष पदमा विजय गरायो।
उनका अनुसार महिलालाई राजनीतिमा टिक्न सजिलो छैन। समाजको परम्परागत सोच, पारिवारिक जिम्मेवारी र आर्थिक चुनौतीहरू बाधक बन्छन्।
‘समाजमा फलानाकी श्रीमती, फलानाकी छोरीबुहारी यसरी हिँड्छे, राम्रो लगाउँछे, राम्रो खान्छे भनेर कुरा काट्ने प्रवृत्ति अझै छ। मेरो परिवारको साथले मलाई यी सबै चुनौतीसँग लड्न ऊर्जा दियो।’, उनले भनिन्।
उनका श्रीमान् जितेन्द्र बहादुर देउबा करातेका राष्ट्रिय स्वर्ण पदक विजेता हुन्। २४ वर्षको उमेरमा स्नातकोत्तर पढ्दै गर्दा विवाह गरेकी ज्ञानुलाई श्रीमान् र ससुराली पक्षबाट मिलेको निरन्तर सहयोगले राजनीतिक यात्रामा अघि बढ्न ठूलो हौसला मिल्यो। ‘मेरो श्रीमानको एउटै सपना छ- मेरी श्रीमतीले समाजसेवा गर्नुपर्छ, उनी नेता बन्नुपर्छ। परिवारको यही विश्वासले मलाई कहिल्यै पछाडि फर्कन दिएन,’ उनी भन्छिन्।
आफ्नो साढे तीन वर्षको कार्यकालमा ज्ञानुले गन्यापधुरा गाउँपालिकामा केही नमुना कामहरूको नेतृत्व गरेकी छिन्,
निर्वाचित भएलगत्तै अध्यक्ष र उपाध्यक्षको पहिलो निर्णय थियो- जनप्रतिनिधिले पाउने सेवा-सुविधाबाट रकम कटौती गरेर एउटा कोष स्थापना गर्ने। यही निर्णयबाट ‘जनप्रतिनिधि राहत कोष’ स्थापना भयो। यो कोषमार्फत पालिकाभित्रका दीर्घ रोगी, गरिब, विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गरिन्छ। यो देशका ७५३ पालिकामध्ये गन्यापधुराको नमूना काम हो।
वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका गन्यापधुराबासीका लागि ‘एक घर, एक धारा’ अभियानले ठूलो राहत दिएको छ। यो अभियानमार्फत पालिकाका अधिकांश घरधुरीमा सफा खानेपानीको पहुँच पु¥याइएको छ। जुन यस कार्यकालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइएको छ।
ज्ञानुको नेतृत्वमा महिला उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। महिलाहरूको नाममा फर्म दर्ता गराई उनीहरूलाई आत्मनिर्भर बनाउन अनुदान र तालिमको व्यवस्था गरिएको छ। पालिकालाई ‘पोषण-मैत्री’ र ‘बाल-मैत्री’ घोषणा गरिएको छ। ‘अध्यक्ष/उपाध्यक्षसँग विशेष कार्यक्रम’ मार्फत सुत्केरी आमा (हजार दिने) र आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई पोषण र शिक्षामा सहयोग गरिँदै आएको छ। पालिकाले आफ्नै शिक्षा ऐन बनाएर शैक्षिक सुधारका लागि महत्वपूर्ण कदम चालेको छ।
राजनीतिक जीवनमा धेरै काम गरे पनि ज्ञानुको मनमा एउटा सपना अझै बाँकी छ- दीर्घ रोगीहरूको निःस्वार्थ सेवा गर्ने। ‘मान्छेलाई रोजगारी दिएर खान-लाउन सहज बनाउन सकिन्छ, तर जब कुनै व्यक्ति गम्भीर रोगले थलिन्छ, उसको जीवन सबैभन्दा कष्टकर हुन्छ। मैले त्यस्ता व्यक्तिहरूको उपचार र जीवन सहज बनाउनका लागि केही गर्न पाएँ भने मेरो आत्माले शान्ति पाउँछ।’, उनले भनिन्।
यही सपना पूरा गर्न उनी भविष्यमा कार्यकारी भूमिकामा रहेर काम गर्न चाहन्छिन्।
वर्तमान राजनीतिक अवस्थाप्रति उनी चिन्तित छिन्। नेताहरूले जनताको करबाट सेवा-सुविधा लिएर जनतामाथि नै शासन गर्ने प्रवृत्ति गलत भएको उनको ठहर छ। ‘यदि समाजसेवा नै गर्ने हो भने पहिला आफू आत्मनिर्भर हुनुपर्छ। जनताको करमा मोजमस्ती गर्ने अनि हामी नेता हौं भनेर धाक लगाउने दिन अब गए,’ उनी भन्छिन्।
उनले युवाहरूलाई कसैको इशारामा नलागी, आफ्नो विवेक प्रयोग गरेर समाज परिवर्तनका लागि एकजुट हुन आह्वान गरेकी छिन्। उनी मान्छिन्, परिवर्तनको संवाहक युवा नै हुन् र सकारात्मक सोचका साथ अघि बढेमा देशको भविष्य उज्ज्वल छ।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)