She Leads Icon

“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।

Information

जमुना कुमारी बोहरा

जमुना कुमारी बोहरा

उपाध्यक्ष

जोरायल गाउँपालिका

Voting Code: 09

जमुना कुमारी बोहरा

त्यो बेला सल्लाको झरोको (दियालो) मधुरो उज्यालोमा किताबका अक्षर चिन्ने प्रयास गर्थिन्,उनी। न्यानो लुगा र पेटभरि मिठो खाने कुरा त परको सपना थियो। दुर्गम बाजुराको एउटा विकट गाउँ, विद्यालय पुग्न घण्टौँ हिँड्नुपर्थ्यो। बिरामी हुँदा अस्पताल होइन, धामी झाँक्रीको भर पर्नुपर्थ्यो। छोरीलाई पढाउनु भनेको अनौठो मानिन्थ्यो- यस्तै कठिन परिवेशमा हुर्किएकी जमुना कुमारी बोहरा। आज डोटीको जोरायल गाउँपालिकाको उपाध्यक्षको कुर्सीमा बसेर सिङ्गो पालिकालाई विकासको उज्यालो छर्ने अभियानमा छिन्।

२०३८ सालमा बाजुराको तत्कालीन दहकोट गाविस (हालः गौमुल गाउँपालिका) को गर्जे गाउँमा जमुनाको जन्म भयो। कृषि पेशामा आश्रित उनको परिवारमा तीन दिदीबहिनी र दुई दाजु थिए। दुर्भाग्य, स्वास्थ्य सेवाको अभावमा दुई दाजु र एक दिदीले बाल्यकालमै संसार छाडे। ‘त्यतिखेर अस्पताल थिएन, जडीबुटी र धामी झाँक्रीकै भरमा थियौँ,’ उनी अवस्था सम्झन्छिन्।

त्यो विकट गाउँमा शिक्षाको ज्योति थिएन। बुबा-आमा र दिदीले भारतमा मजदुरी गरेर परिवार पाल्थे। छोरीहरूलाई पढाउनुपर्छ भन्ने चेतनाले उनीहरूलाई डोर्‍यायो। विद्यालय घरबाट डेढ घण्टा टाढा थियो। सानी बहिनीलाई डोर्‍याउँदै जमुना विद्यालय जान्थिन्। खानाको नाममा जौको रोटी र आलु मात्र हुन्थ्यो। नुन-मसला र चामल किन्न भारतको पिथौरागढ पुग्नुपर्ने बाध्यता थियो। ‘सल्लाको दियालो बालेर पढ्थ्यौँ, मट्टितेल पनि हुँदैनथ्यो। कापी-कलम किन्न पैसा नहुँदा साह्रै दुःख लाग्थ्यो,’ उनले भनिन्।

गाउँमा छोरी पढाएको भनेर बुबाले धेरैको आलोचना सुन्नुपर्‍यो। यही सामाजिक दबाब र भौगोलिक विकटताले गर्दा उनको परिवार वि.सं. २०५० सालमा बसाइँ सरेर डोटीको जोरायलमा आयो।
जोरायल आएपछि उनको जीवनले नयाँ मोड लियो। उनले घण्टेश्वर माविमा ६ कक्षामा भर्ना भइन्। यहाँ पनि संघर्षले उनलाई छाडेन। दिदीले बाजुरामै  भागी विवाह गरेपछि घरको आर्थिक अवस्था झनै कमजोर भयो। ‘अब छोरी पढाउन सकिन्न’ भन्ने अवस्था आएपछि आठ कक्षामा पढ्दापढ्दै उनले पनि भागी विवाहको बाटो रोजिन्।

उनको विवाह जोरायलकै साविकको सरस्वतीनगर गाविस वडा नम्बर ७ का शिक्षक मीनबहादुर रोकायासँग भयो।  विवाहपछि पनि उनको जीवन सहज भएन। सौतेनी सासूको परिवारमा काम गर्न गाह्रो भयो, विवाहको एक वर्षमै उनीहरू छुट्टै बस्न थाले। श्रीमान् १० कक्षामा पढ्दै थिए र ६-७ ठाउँमा ट्युसन पढाएर घर खर्च चलाउँथे।

‘हामीले घाँस काट्ने, मल फाल्ने काम गर्थ्यौं, देवरले रोटी पकाउनुहुन्थ्यो,’ उनी त्यो समयको दुःख सम्झन्छिन्। जतिसुकै दुःख भए पनि उनले पढाइलाई कहिल्यै छोडिनन्। श्रीमानको पूर्ण सहयोग र प्रेरणाले उनले एसएलसी, इन्टरमिडिएट र स्नातक तहसम्मको अध्ययन पूरा गरिन्। ‘पढ्नुपर्छ भनेर श्रीमानले निकै कर गर्नुभयो, उहाँकै कारण मैले पढाइलाई निरन्तरता दिन सकेँ,’ उनले भनिन्।

आठ कक्षामा पढ्दै गर्दा नै जमुनाको मनमा राजनीतिक चेतनाको दियो बलिसकेको थियो। अनेरास्ववियुको विद्यार्थी संगठनमा आबद्ध भएर उनले समाज परिवर्तनको सपना देख्न थालिन्। डिल्लीराज भट्ट, गौरी ओलीजस्ता नेताहरूको प्रेरणाले उनलाई अघि बढ्न हौसला दियो र २०५४ सालमा उनी नेकपा (एमाले) को साधारण सदस्य बनिन्।

राजनीतिसँगै उनले सामाजिक सेवामा आफूलाई समर्पित गरिन्। महिला अधिकार मञ्च गठन गरेर महिला हकहितका लागि पैरवी गरिन्। ‘नेपाल स्वास्थ्यका लागि पानी (नेवा)’ नामक एनजीओमा स्वास्थ्य उत्प्रेरकका रूपमा चार वर्ष र ‘ईडीसी’ मा पाँच वर्ष काम गरिन्। पत्रकारितादेखि शिक्षण पेशा र सहकारी अभियानसम्म उनले आफ्नो कर्मको दायरा फराकिलो बनाइन्। ‘बाजुराबाट आएका, हेपिएका भन्ने समाजमा केही गरेर देखाउनुपर्छ भन्ने थियो,’ उनले भनिन्।

उनकै सक्रियतामा ‘नमुना महिला बहुउद्देश्यीय सहकारी संस्था’ स्थापना भयो। यो सहकारीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत गर्‍यो।

२०६८ सालदेखि निरन्तर जिल्ला कमिटीमा रहेर काम गरेकी उनलाई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षको टिकट दिइयो। त्यो चुनावमा उनी विजयी भइन्। पाँच वर्षे कार्यकाल नेतृत्व गरेकी उनले २०७९ को निर्वाचनमा पनि सोही जिम्मेवारी आयो। पार्टी र जनता दुवैले विश्वास गरेपछि उनले सो चुनाव पनि जितिन्।

दोस्रो कार्यकालका लागि समेत जनताबाट अनुमोदित भएकी जमुनाको नेतृत्वमा जोरायल गाउँपालिकाले विकासका थुप्रै काम गरेको छ। उनी ‘गुड गभर्नेन्स’ अर्थात् सुशासनमा विश्वास गर्छिन्। ‘हामीले भ्रष्टाचार गर्नुहुँदैन र जनताप्रति जबाफदेही हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनी भन्छिन्।

उनले आफ्नो कार्यकालमा सबै वडालाई सदरमुकामसँग जोड्ने र वडाभित्रका टोल–टोलमा सडक पुर्‍याउने कामलाई प्राथमिकता दिइएको बताइन्।

हरेक वडालाई ‘पकेट क्षेत्र’ घोषणा गरी बाख्रा, भैँसी, तरकारी, मसला, र फलफूल खेतीलाई प्रोत्साहन गरिएको पनि उनले बताइन्। यस्तै उनको कार्यकालमा हरेक टोल-बस्तीमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। प्रत्येक तीन–तीन महिनामा सार्वजनिक सुनुवाइ र वार्षिक रूपमा सामाजिक परीक्षण गरेर पारदर्शिता कायम गरिएको छ। न्यायिक समितिको संयोजकको रूपमा उनले जिल्लामै उत्कृष्ट काम गरेबापत अवार्डसमेत पाएकी छिन्।

‘कर्मचारीतन्त्रको असहयोग र राजनीतिक खिचातानीले सोचेजस्तो काम गर्न गाह्रो हुँदो रहेछ,’ उनी आफ्नो अनुभव सुनाउँछिन्। पछिल्लो समय देखिएको ‘जेनजी’ आन्दोलनले राम्रो काम गर्ने जनप्रतिनिधिलाई पनि एउटै डालोमा हालेर बदनाम गर्दा काम गर्ने मनोबल घटेको उनको गुनासो छ।

आफ्ना दुई छोरालाई उच्च शिक्षा दिएर सक्षम बनाइसकेकी जमुना अब आफ्नो बाँकी जीवन पूर्ण रूपमा समाजसेवा र राजनीतिमा लगाउन चाहन्छिन्। उनी महिलाहरू उपाध्यक्षमा मात्र सीमित नभएर अध्यक्ष र प्रदेश तथा संघको नेतृत्वमा पुग्नुपर्छ भन्ने विश्वास राख्छिन्। ‘अबको मेरो लक्ष्य कार्यकारी पदमा रहेर जनताको सेवा गर्नु हो,’ उनले भनिन्।

जमुना भन्छिन् संघर्ष नै जीवनको अर्को नाम हो। अभाव, दुःख र चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने साहस नै सफलताको चावी भएको उनको अनुभव भन्छ। सल्लाको दियालोको धिपधिपे उज्यालोमा अक्षर चिनेकी जमुना आज जोरायलको विकासको ‘उज्यालो’ बनेकी छिन्।

(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)