लक्ष्मी धामी (रोकाया)
उपाध्यक्ष
आदर्श गाउँपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
उपाध्यक्ष
आदर्श गाउँपालिका
लक्ष्मी धामीको जन्म बैतडीको डिलासैनी गाउँपालिका-६, धामीगाउँमा भएको हो । उनका बुबा प्रेम सिंह धामी एक राजनीतिज्ञ थिए। आमा जानकी देवी धामी खेतीपातीको काम गर्थिन् । दुई दाजुहरू पछि जन्मिएकी उनी घरकी कान्छी छोरी हुन् । त्यो समय छोरीलाई पढाउनु हुँदैन, अर्काको घर जाने जात हो भन्ने सामाजिक सोच गहिरोसँग गढेको थियो। लक्ष्मीका बुबा फरक थिए। उनले छोरीलाई छोरासरह माया र अवसर दिनुपर्छ भन्ने मान्यता राख्थे ।
‘मेरो बाबाको सोच, छोरी नभएको घर अशुद्ध हुन्छ, मैलेँ छोरी नै पाउनुपर्छ भन्ने सपना थियो,’ लक्ष्मीले बुवाको स्वभाव सम्झिन्छिन्। उनको जन्म हुने बित्तिकै बुबाले ‘घरमा लक्ष्मीको आगमन भयो’ भन्दै नाम नै ‘लक्ष्मी’ राखिदिए। उनको राशिको नाम भने मानमति थियो। बुबाको यही प्रगतिशील सोचले लक्ष्मीको जीवनमा बलियो जग बसाल्यो। घरमा बुबाले पढाइलाई जहिले पनि प्राथमिकता दिएर ढाडस दिँदा लक्ष्मीले पनि पढ्नुपर्छ भन्ने सोच गाढा बन्दै गयो।
‘बुबाले हामीलाई घरको काममा धेरै ध्यान नदेऊ, पढाइमा केन्द्रित होऊ भन्नुहुन्थ्यो। राति १०-११ बजेसम्म पढ्नुपर्छ भन्दा कहिलेकाहीँ झोँक पनि चल्थ्यो, आज फर्केर हेर्दा त्यही अनुशासनले यहाँसम्म ल्याइपुर्याएको जस्तो लाग्छ’, लक्ष्मीले भनिन्।
लक्ष्मीले आफ्नो गाउँकै श्री शिक्षा केन्द्र अमर उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरिन्। सानैदेखि उनी निडर, फुर्तिलो र नेतृत्वदायी स्वभावकी थिइन्।
विद्यालयमा हुने भाषण,हाजिरी जवाफ र सांस्कृतिक कार्यक्रममा उनी सधैँ अगाडि हुन्थिन्। रेडियो सुन्ने र पत्रमित्रता लगाउने उनको रुचिले उनलाई सञ्चारकर्मतर्फ पनि डोर्यायो।
कक्षा १२ पास गरेपछि उनले बैतडीको रेडियो शन्सेर एफएममा करिब तीन वर्ष काम गरिन्। त्यही समयमा उनले दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसबाट स्नातक तहको पढाइ अघि बढाइन्। उनी पढाई गर्न भने बैतडीकै जगन्नाथ बहुमुखी क्याम्पसमा जान्थिन्। सञ्चारकर्मीका रूपमा काम गर्दा उनले समाजका विभिन्न मुद्दाहरूलाई नजिकबाट बुझ्ने अवसर पाइन्। नाम कमाए पनि दाम नहुने पत्रकारिताको तीतो यथार्थ पनि उनले नजिकबाट नियाल्ने मौका पाइन्। उनले सञ्चार क्षेत्रमा निस्वार्थ भावना पैसा भन्दा सेवा गर्नुपर्ने रहेको भन्ने कुरा त्यो बुझेकी थिइन्।
‘तर सञ्चारकर्मीका रुपमा काम गर्दा जनता र जनताका समस्यासँग नजिक हुने मौका मिल्यो । कर्मले दिएको त्यो काम गर्दा जनता र समाजका समस्या सम्बन्धित निकायसम्म पुर्याएर खवरदारी गरियो । आज आफै सुन्ने ठाउँमा पुग्दा त्यो बेला जनताको नजिक भएर काम गर्दाको फाइदा भएको छ । समस्या के हुन् र कसरी यसलाई समाधान तर्फ लैजान सकिन्छ भन्ने कुरालाई व्यवहारमा उतार्न सहज भएको छ,’ उनले भनिन् ।
स्नातक तहको दोस्रो वर्षमा अध्ययन गर्दा २१ वर्षको उमेरमा उनको विवाह भयो। डोटीका रमेशबहादुर रोकायासँग उनी वैवाहिक बन्धनमा बाँधिइन्। विवाहपछि महिलाको यात्रामा पूर्णविराम लाग्छ भन्ने सामाजिक मान्यता छ। लक्ष्मीले भने बिहेपछि झन् बढी अवसर पाइन्। उनले सामाजिक सेवाको भावलाई कहिल्यै मर्न दिइनन्।
उनको कर्मघरको वातावरण पनि राजनीतिक र प्रगतिशील थियो। माइतमा जसरी बुवाले उनलाई प्रेरणा दिन्थे त्यसरी नै उनका ससुरा गोरखबहादुर रोकाया उनलाई अगाडी बढ्न ढाडस दिन्थे। उनका ससुरा पञ्चायतकालमा शिक्षकबाट राजीनामा दिएर वडाध्यक्ष बनेका एक राजनीतिक व्यक्तित्व थिए। ‘पढेलेखेकी बुहारीले दुःख दिन्छे, घरको काम गर्नुपर्छ भन्ने समाजको सोच थियो,’ लक्ष्मीले भनिन् ‘मेरो ससुरा र श्रीमानले मलाई सधैँ पढ्न र अघि बढ्न हौसला दिनुभयो।’ उनको ससुराले भन्ने गर्थे ‘मैले राजनीतिमा चाहेजस्तो गर्न सकिनँ, अब तिमीले गर्नुपर्छ।’
जन्मघरको राजनीतिक संस्कार र कर्मघरको उदार वातावरणले उनको राजनीतिक यात्राको ढोका खोलिदियो। उनले पढाइसँगै काम पनि अगाडी बढाइन्। स्नातकोत्तर सम्मको पढाई पुरा गरेकी उनले गाउँपालिकामा उपाध्यक्ष हुन अघि थुप्रै क्षेत्रमा काम गर्न अवसर पाइन्।
उनले पत्रकारिता छाडेर गैरसरकारी संस्थामा आबद्ध भइन्। सिलाई कटाई,ब्युटी पार्लर लगायत कृषिका लेभल १ र २ का तालिम पनि लिइन्। करिब पाँच वर्ष भू–संरक्षणको क्षेत्रमा काम गरिन्। यो क्रममा उनले विपद्को विषयमा काम गर्ने अवसर पाइन्। यस्तै खानेपानीका मुहान सुकेका छन् भने वृक्षारोपण गर्ने त्यहाँ काम गर्ने अवसर पाइन्। त्यही कामले उनलाई राजनीतिमा बढी सक्रिय पनि गरायो।
सामाजिक अभियन्ताका रूपमा गाउँघरमा महिला हिंसा, कुरीति र विभेदविरुद्ध आवाज उठाउन थालिन्। घरेलु हिंसामा परेका दिदीबहिनीलाई प्रहरी चौकीसम्म पुर्याएर न्याय दिलाउन थालेपछि उनले समाजका केही पुरुषहरूबाट ‘महिलालाई उचाल्न थाली’ भन्ने आरोप पनि खेप्नुपर्यो, उनी पछि हटिनन्।
उनको यही निडर स्वभाव र सामाजिक सक्रियताले उनलाई नेपाली कांग्रेसको २०७० सालदेखि नै राजनीतिमा सक्रिय बनाएको थियो। नेपाल प्रेस युनियन डोटीको उपाध्यक्षसमेत बनेकी लक्ष्मीलाई २०७९ को स्थानीय तहको निर्वाचनमा आदर्श गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बन्न चौतर्फी दबाब आयो। ‘मैलेँ चुनाव जित्छु या हार्छु भन्ने सोचेको थिइनँ, महिला दिदीबहिनी र गाउँलेको विश्वासलाई नकार्न पनि सकिनँ,’ उनले भनिन्। उनलाई उनको पार्टी नेपाली काँग्रेसले टिकट दियो। चुनावमा भारी मतले उनी विजयी भइन्।
उनको नेतृत्वमा उपाध्यक्षमा निर्वाचित भएपछि वर्षौँदेखि खानेपानीको समस्या झेलिरहेको आदर्श गाउँपालिकामा आदर्श बृहत् खानेपानी आयोजना सुरु गरिएको छ। नेपालकै दोस्रो ठूलो मानिएको यो आयोजना आफ्नो पालिकामा सुरु गर्नु आफ्नो टिमको सबैभन्दा ठूलो सफलता मानिएको लक्ष्मी भनाई छ।
यस्तै उनको कार्यकालमा सामान्य उपचारका लागि पनि सिलगढी वा धनगढी धाउनुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकामै सुविधा सम्पन्न १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाले निजी स्रोतका करिब ५२ जना शिक्षकहरूलाई तलबको व्यवस्था मिलाएर विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याएको छ। किशोरीहरूका लागि आत्मरक्षा तालिम, उद्घोषण तथा पत्रकारिता तालिम र बालविवाह न्यूनीकरण गर्न सबै वडामा बाल क्लब गठन गरिएको छ।
‘हाम्रो पालिकामा महिला तथा किशोरीको क्षमता अभिवृद्धि गर्न आत्मरक्षा तालिम, उद्घोषण तथा पत्रकारिता तालिम पनि दिने गरेका छौँ, गाउँमा महिला तथा किशोरी आफ्नो नाम भन्न बोल्न पनि डराउने अवस्था छ, उनीहरूलाई अगाडी बढाउन यो काम गरेका हौँ,’उनले भनिन्।
सिपमूलक तालिममार्फत महिला तथा युवाहरूलाई सिलाइकटाइ, ब्युटिसियन, चप्पल बनाउने, दुनाटपरी उद्योग जस्ता आयआर्जनका काममा संलग्न गराइएको छ।
गर्भवती महिला, स्वयंसेविका र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ। ‘हामीले व्यक्तिगत र टुक्रा योजनाभन्दा पनि सिंगो गाउँपालिकाको हितमा देखिने काम गरेका छौँ,’ उनले भनिन्।
आफ्नो कार्यकालमा कुनै पनि विवादमा नपरी काम गर्न पाउँदा लक्ष्मी आफूलाई भाग्यमानी ठान्छिन्। आगामी दिनमा पनि उनी विवादमा नपरेरै आफ्नो राजनीतिक यात्रालाई अगाडी बढाउन चाहन्छिन्। ‘मेरो यो यात्रा पाँच वर्षका लागि मात्र होइन, बाँकी जीवन नै जनताको सेवामा समर्पित गर्नेछु,’ उनले भनिन्।
अहिलेको कार्यकालका अधुरो कामलाई पुरा गर्नुपर्ने जिम्मेवारी भएकाले उनी फेरि पनि गाउँपालिकामा नेतृत्व गर्ने योजनामा छिन्। उनी सबै महिला दिदीबहिनीलाई कमजोर नबन्न पनि आग्रह गर्छिन्। ‘हामी महिलाहरू आफैँमा सक्षम छौँ। हामीले गलत गर्नु हुँदैन, सही काम गर्दा कसैसँग डराउनु र झुक्नु पनि हुँदैन,’ उनले भनिन्।
दुई सन्तानकी आमाको जिम्मेवारी र गाउँपालिकाको नेतृत्वलाई सँगसँगै कुशलतापूर्वक अघि उनी बढाइरहेकी छिन्। ‘आफ्नो अधिकारका लागि आफैँले साहस गर्नुपर्छ,’ उनले भनिन्।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)