She Leads Icon

“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।

Information

मिना थापा

मिना थापा

उपाध्यक्ष

सुनिलस्मृति गाउँपालिका

Voting Code: 22

मिना थापा

रोल्पाको सुनिल स्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापा अहिले गाउँका महिला, बालबालिका र वञ्चित समुदायका लागि आशा र विश्वासको प्रतीक बनेकी छन् । २०५९ सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा आज गाउँ–गाउँमा न्याय, शिक्षा र सचेतनाको स्वर बनेको छ ।

गजुल गाउँकी साधारण परिवारकी छोरी मिना कहिल्यै ठूलो मञ्चमा बोल्न नडराउने साहसी स्वभावकी थिइन् । गाउँमा अन्याय देख्दा उनले सधैँ प्रतिवाद गर्थिन् । उनका बुबा कृष्णबहादुर थापा र आमा यानु थापा दुवै खेतीपातीमा व्यस्त रहन्थे, तर छोरीमा परेको नेतृत्वको चिन्गारी उनीहरूले बाल्यकालमै महसुस गरेका थिए ।

राजनीतिक चेतनाको बीउ : विद्यार्थी संगठनदेखि जनयुद्धसम्म

२०५९ साल उनको लागि राजनीतिक परिवर्तनको निर्णायक समयजस्तै बन्यो । त्यो समयमा मिना विद्यालय पढ्दै थिइन् । उनी कक्षामा मात्र होइन, समाजका घटनामा पनि चासो राख्थिन् । विद्यार्थी संगठनको माध्यमबाट पहिलो पटक उनले राजनीति सिकिन्, भाषण गर्न, बहस गर्न, अन्यायविरुद्ध बोल्न ।

त्यो समय देशमा माओवादी आन्दोलन बलियो बन्दै गएको थियो । शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा उसले आफ्नो संगठन बलियो बनाउँदै गएको थियो त्यसमाथि रोल्पा उसले आफ्नो आधार इलाका मानेको क्षेत्र थियो । मिना त्यही आधार इलाका क्षेत्रमै थिइन् । माओवादीले उठाएको समानता, महिला हक र वर्गीय न्यायका नाराले उनलाई आकर्षित गरेपछि पूर्णकालीन कार्यकर्ता बन्ने निर्णय गरेको बताइन् । ‘जीवन सजिलो थिएन, पहाडको अप्ठ्यारो बाटो, गोप्य बैठकहरू, जोखिमपूर्ण यात्रा । तर मैले हिम्मत हारिन’ उनले भनिन् ‘राजनीति भनेको सिंहदरबार पुग्ने सिँढी होइन, जनताको जीवन परिवर्तन गर्ने बाटो हो ।’

युद्धको कठिन दिनमा उनले संगठन निर्माण, जनचेतना र महिलाको सहभागितामा जोड दिइन् । गाउँमा आवाज नबोल्ने महिलाहरूलाई आत्मविश्वास दिलाउने उनको क्षमता नेतृका रूपमा छुट्टै थियो । गाउँगाउँमा संगठन बिस्तारमा लागिन् पार्टीको नेतृत्व बिस्तारमा लागिन् ।

शान्ति प्रक्रियापछि शिक्षणमा : नयाँ भूमिकाको सुरुवात

शान्ति सम्झौता भएपछि मिना थापा शिक्षण पेशामा प्रवेश गरिन् । विद्यालयमा उनी शिक्षक मात्रै होइनन्, प्रेरणाको स्रोत थिइन् । बालिका विद्यार्थीलाई आत्मविश्वासी बनाउन, महिला अभिभावकलाई विद्यालय पठाउन प्रेरित गर्न उनले विशेष पहल गरिन् । त्यो समयमा उनी भन्थिन् ‘पढेकी महिला समाजको शक्ति हो । शिक्षण मेरो दोस्रो आन्दोलन हो,अज्ञानविरुद्धको लडाइँ ।’ शिक्षण पेशासँगै उनले सामाजिक सेवामा निरन्तरता दिइरहिन् । बालविवाह, महिला हिंसा, र सुत्केरी महिलाको स्वास्थ्यजस्ता विषयमा उनले स्थानीय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गरिन् ।

शिक्षणमा रहँदा पनि राजनीतिप्रतिको लगाव कहिल्यै मरेन । स्थानीय तह निर्वाचन आउँदा गाउँका बासिन्दाले उनलाई आग्रह गरे–‘हामीलाई बुझ्ने, हाम्रो घरमा आउने, हाम्रो पक्षमा बोल्ने मान्छे चाहियो ।’ मिना थापा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनिन् । गाउँ–गाउँ घुमिन्, पैदल हिँडिन्, मतदातालाई भेटिन् ।

उनी प्रचारमा होइन, संवादमा विश्वास गर्थिन्– ‘म जनताको घरमै पुग्छु, उनीहरूको कुरा सुन्छु, त्यसपछि मात्र बोल्छु ।’ त्यो आत्मीयता र इमानदार अभियानकै कारण उनी अत्यधिक मतले उपाध्यक्ष निर्वाचित भएकी हुन् । उनले हरेक ठाउँमा आफ्नो जिम्मेवारीलाई सहज ढंगले लिइन् र भन्दै आइन् –‘यो पद सम्मान होइन, जिम्मेवारी हो ।’

न्यायिक समितिदेखि घुम्ती बैठकका जिम्मेवारी

उपाध्यक्षको जिम्मेवारी पाएका बेला उनले पहिलो काम न्यायिक समितिको प्रणालीलाई डिजिटल बनाउन थालेकी थिइन् । सुनिल स्मृतिको न्यायिक समितिमा सफ्टवेयरमार्फत उजुरी दर्ता र समाधान प्रणाली उनले सुरु गराइन् । अब गाउँका नागरिकले स–साना विवादका लागि केन्द्र धाउनुपर्दैन, स्थानीय तहमै समाधान हुन्छ । उनले यसलाई ‘न्याय घरमै’ भन्ने अवधारणा बनाइन् । ‘महिलाको समस्या, घरेलु हिंसा वा सम्पत्ति विवाद—सबै कुरा कानुनी र मानवीय दृष्टिले समाधान हुनुपर्छ’ मिना बताउँछिन् । त्यस्तै, उनले घुम्ती बैठक र प्रत्यक्ष संवाद कार्यक्रमलाई प्राथमिकतामा राखेकी छन् । गाउँपालिकाका हरेक टोलमा पुगेर नागरिकसँग छलफल, समस्या सुन्ने र तत्काल समाधान खोज्ने उनको शैलीले उनलाई ‘फिल्डमा बस्ने नेतृ’ बनाएको छ ।

महिला क्षेत्रको उत्थानका लागि कार्यक्रमहरू

मिना थापाको नेतृत्वमा गाउँपालिकाले पछिल्ला वर्षमा महिला–बालबालिका लक्षित थुप्रै कार्यक्रम सञ्चालन गरेको छ । त्यसमा गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर सहयोग पुर्‍याउने अभियान सबैभन्दा लोकप्रिय बनेको छ । उनी भन्छिन् ‘गर्भवती महिला अस्पताल पुग्न नसक्दा ज्यान गुमाउनु हाम्रो दुर्भाग्य हो । त्यसैले सेवा उनीहरूको घरमै पुग्नुपर्छ ।’ त्यसअनुसार उनले गाउँपालिकाको स्रोत परिचालन गरेर पोषिलो खाना वितरण, स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवा सुरु गराइन् । साथै, एकल महिला, वृद्ध र अशक्तका लागि सामाजिक सहयोग कार्यक्रम पनि निरन्तर चलिरहेको छ । त्यो कामका क्रममा उनले एकपटक भनेकी थिइन्–’पद पाउनु मात्रै उपलब्धि होइन, पदले जनताको आँसु पुछ्न सके मात्रै त्यसको अर्थ हुन्छ । ’

संकट र चुनौती  पदभन्दा ठूलो जिम्मेवारी भएको थापा बताउँछिन् । ‘जनसेवाको बाटो सधैँ सजिलो हुँदैन । कहिले बजेट अपुग, कहिले कानुनी जटिलता ।’ उनी भन्छिन् ।  तर मिना कहिल्यै पछि हटिनन् । उनले काम नगर्ने कारण खोज्ने होइन, ‘कसरी गर्ने ?’ भन्ने उपाय खोज्ने बानी बसालेको बताउँछिन् । एकपटक गाउँमा भयानक बाढी आयो । कसैलाई सहयोग पुग्न ढिलो भयो । त्यो बेला उनी आफैं रबर्सको बुट लगाएर पानीमा होमिइन्, बूढाबूढीलाई सुरक्षित स्थानमा पुर्‍याइन् । त्यो दृश्यले गाउँमा एउटा सन्देश दियो– ‘उनी नेता होइनन्, साथी हुन् ।’

गाउँमा उनको अगुवाइमा शिक्षा र चेतनाको निरन्तर अभियान चलेको छ ।  उनी अहिले पनि शिक्षणसँग सम्बन्धित कार्यक्रमहरूमा सक्रिय छन् । विद्यालयमा लैजाने बालबालिकाको संख्या बढाउन “एक घर–एक विद्यार्थी” अभियान सञ्चालन गरिएको छ । त्यसअन्तर्गत गाउँका प्रत्येक घरका अभिभावकलाई बालबालिकालाई विद्यालय पठाउन प्रेरित गरिन्छ ।  उनले महिला साक्षरता कक्षा पनि सञ्चालन गराइन्- जहाँ ३० वर्ष माथिका महिलाहरूले पहिलो पटक आफ्नो नाम लेख्न सिके । त्यस दिनलाई मिना स्मरण गर्दै भन्छिन्-‘यो अक्षर केवल कागजको लागि होइन, आत्मसम्मानको प्रतीक हो ।’ यसैगरी उनले सामाजिक मुद्दाहरूमा सशक्त आवाज उठाउने र समाधानको उपाय खोज्ने पात्रको पहिचान बनाएकी छन् । आत्महत्या, बालविवाह, लैङ्गिक हिंसा र घरेलु हिंसाका मुद्दामा सशक्त आवाज बन्नुपर्ने उनमा जिम्मेवारी थपिएको छ । गाउँमा आत्महत्याको कारणहरू अध्ययन गर्न समितिको गठन उनले नै गराइन् । त्यो समितिले मानसिक स्वास्थ्य र परामर्श सेवामा जोड दिएको छ । उनले बालविवाह रोक्न “किशोरी क्लब” स्थापना गराइन् । युवतीहरूले अब आफ्ना अधिकारका लागि बोल्न थालेका छन् । ‘अहिले मिना दिदीको कारण गाउँमा छोरीको विवाह २० वर्ष नपुग्दासम्म कसैले गर्न हिम्मत गर्दैन’ स्थानीय महिलाले गर्वका साथ भन्न थालेका छन् । यसबाट पनि उनी साझा आवाज: महिला नेतृत्वको नयाँ परिभाषा दिने पात्र बनेकी हुन् ।

उनी भन्छिन्- ‘महिला नेतृत्व भनेको पुरुषको विरोध होइन, सहकार्य हो । हामी सह–निर्णयको अभ्यास गर्दैछौं ।’ गाउँपालिकामा बजेट बनाउँदा उनले महिला प्रतिनिधिको सहभागिता सुनिश्चित गरेकी छन् । साथै, उनले महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न साना व्यवसायका लागि सहज ऋण, सीप प्रशिक्षण र बजार पहुँच कार्यक्रम सञ्चालन गरेकी छन् । त्यसको परिणामस्वरूप अहिले गाउँमा महिला समूहहरूले घरेलु उद्योग सञ्चालन गर्न थालेका छन्, टुक्रा वस्त्र, टिफिन बक्स, साबुन र हाते कलाका उत्पादनहरू गाउँमै तयार हुन्छन् ।

मिना थापाका श्रीमान् वसन्त थापा र छोरा परीक्षण थापा हुन् । राजनीतिक रूपमा सचेत परिवारले उनलाई सधैँ साथ दिएको छ । सुनिल स्मृति ५ गजुलमा जन्मेकी उनको सोही पालिकाको वडा नं २ खुङ्ग्रीमा घर रहेको छ । मिना घरको पनि उत्तिकै जिम्मेवारी भएको र कहिल्यै जिम्मेवारी नबिर्सिँदिने भएको उनका निकटस्थहरू बताउँछन् । एम.एड.नेपाली विषयमा स्नातकोत्तर गरेकी मिना शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा विश्वास गर्छिन् । उनको जीवन–मूल्य हो–‘शिक्षा र सेवा बिना नेतृत्व अधुरो हुन्छ ।’ उनको यो जिम्मेवारीले गाउँले दिएको सम्मान, जनताले दिएको विश्वासमा उनी खुसी छन् । सुनिलस्मृतिका बासिन्दाले उनलाई “निडर नेतृ” भनेर चिन्ने बताउँछन् । साना–ठूला सबै कार्यक्रममा उनी उपस्थित हुन्छिन्, सामान्य नागरिकसँग पनि सिधा संवाद गर्छिन् । कसैले घरमा समस्या बतायो भने तुरुन्तै सम्बन्धित शाखामा पठाउँछिन् । गाउँका वृद्धवृद्धा भन्छन्–’मिना आउँछिन् भने हाम्रो कुरा सुन्छिन् । अन्य नेताजस्तो हैनन् ।’ त्यो जनताको विश्वास उनको सबैभन्दा ठूलो सम्पत्ति बनेको छ । सेवा नै राजनीति भनेर उनको प्राथमिकतामा परेको छ । उनलाई नजिकबाट चिन्ने र बुझ्नेहरूका अनुसार मिना थापाको कथा केवल व्यक्तिगत सफलता होइन, ग्रामीण नेपालमा महिला नेतृत्वको नजिकबाट हेर्ने झ्याल हो । त्यसलाई उनले प्रमाणित गरेकी छन् राजनीति भनेको पद होइन, जनताको समस्या सुनेर समाधान गर्ने कला हो ।

उनको यात्रा संघर्षले सुरु भयो, तर उद्देश्यले परिपूर्ण भयो । अहिले उनी महिला, बालबालिका, वृद्ध र अशक्तका लागि उज्यालो बाटो बनाइरहेकी छन् । गजुलकी ती साधारण छोरीले आज सुनिलस्मृतिमा असाधारण इतिहास लेखिरहेकी छन् । उनको अभियान अझै जारी छ–घुम्ती बैठक, घर–घरमा सेवा, सुत्केरी महिलाको हातमा पोषिलो खाना र वृद्धाको अनुहारमा हाँसो । उनले धेरैजसो दोहोराउने आशय राजनीति मलाई ठूलो बनाउने माध्यम होइन, अरूलाई सशक्त बनाउने बाटो हो भन्ने विषयले उनलाई स्थानीयले चिनिरहेका छन् ।

(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)