सुशिला शाही
नगर प्रमुख
लम्किचुहा नगरपालिका
“शी लिड्स आइकन” (SHE LEADS ICON ) कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत रहेको कार्यक्रम हो । नेपालका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधी मध्येबाट ‘महिला स्वास्थ्य ,महिला उद्यमशिलता,नीति र न्याय ,सशक्तिकरण र जवाफदेहित क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधलाई विश्व सामु चिनाउने अभियान हो , “शी लिड्स आइकन” ।
नगर प्रमुख
लम्किचुहा नगरपालिका
सुदूरपश्चिम, कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाको नेतृत्व गरिरहेकी सुशीला शाही। समाजको पितृसत्तात्मक सोच, पार्टीभित्रको आन्तरिक संघर्ष र जनताको अपार अपेक्षाबीच सन्तुलन मिलाउँदै अघि बढेकी उनी एक ‘फाइटर’ मेयरका रुपले पनि चिनिएकी छिन्। शाहीको जन्म २०४२ साल जेठ २८ गते कैलालीको कटासे, हालको जानकी गाउँपालिकामा भएको हो।
उनको रगतमा राजनीति र समाजसेवाको प्रभाव सानैदेखि थियो। उनका हजुरबुवा तत्कालीन पञ्चायती व्यवस्थामा प्रधानपञ्च थिए। परिवार अन्य व्यक्ति पनि राजनीतिमा सक्रिय थिए। यही पारिवारिक पृष्ठभूमिले उनलाई बाल्यकालदेखि नै नेतृत्व लिन सिकायो। उनी सम्झिन्छिन्,‘स्कुल पढ्दादेखि नै म कक्षामा क्याप्टेन बन्थेँ, रेडक्रस होस् वा स्काउट, खेलकुदका टिमहरूमा मलाई लिडर बनाइन्थ्यो। विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सधैँ अगाडि हुन्थेँ।’
कक्षा १० सम्म मोतीपुरमा पढेकी उनले काठमाडौंबाट प्रवीणता प्रमाणपत्र तह र सुदूरपश्चिम विश्वविद्यालय, महेन्द्रनगरबाट राजनीतिशास्त्रमा स्नातक र स्नातकोत्तर पूरा गरिन्। अध्ययन पूरा भएपछि जागिरका विभिन्न अवसर आए पनि उनको मन समाजसेवामै अडियो। उनी विभिन्न सामाजिक संस्थामा आबद्ध भइन्।
लम्कीमा लेडिज जेसिजकी संस्थापक अध्यक्ष भएर काम गरिन् र पछि सोही संस्थाको राष्ट्रिय उपाध्यक्षसमेत बनिन्। लायन्स क्लबलगायतका संस्थामा काम गर्दा नागरिकका समस्या नजिकबाट बुझ्ने मौका पाएको उनी बताउँछिन्। शाही व्यापारमा पनि सफल छिन्।
‘संघसंस्थामा हुँदा मैले धेरै काम गरेँ, नागरिकका पीडा बुझ्ने र देख्ने अवसर पाएँ। केही हदसम्म उनीहरूका समस्या सम्बोधन गर्ने काम पनि गरेँ,’ उनले भनिन्। समाजसेवा गर्दै जाँदा उनलाई नेतृत्व तहमा नपुगी काम गर्न सहज नहुने महसुस भयो। त्यसपछि उनले राजनीतिलाई नै आफ्नो कर्मक्षेत्र बनाइन्। २०६१ सालमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएकी शाहीले २०७२ सालमा पार्टीको जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता लिइन्।
२०७४ को स्थानीय चुनावमा उनले मेयरमा उठ्ने आकांक्षा राखिन्, तर पार्टीले उनलाई उपमेयरमा टिकट दिने निर्णय गर्यो। त्यो उनका लागि स्वीकार्य थिएन। ‘जनमत मेरो राम्रो छ, म जित्छु भन्ने आत्मविश्वास थियो। महिला भएकै कारण उपमेयरमा सीमित हुनुपर्छ भन्ने सोच मलाई मान्य भएन। बरु पाँच वर्ष पर्खन्छु तर लड्दा मेयरमै लड्छु भन्ने निर्णय लिएँ।’, उनले भनिन्।
यो अडानले उनको राजनीतिक यात्रामा एउटा विद्रोहको बीउ रोप्यो। २०७९ को चुनावमा पनि उनलाई मेयरको टिकट पाउन सहज भएन। पार्टीको प्रदेश कार्यसमितिले अर्कै उम्मेदवार चयन गरेपछि उनी आफ्नो दाबी लिएर केन्द्रीय समितिसम्म पुगिन्। ‘यो पटक मैले सिधै केन्द्रमा कुरा राखेँ, महिलालाई अगाडि ल्याउनुपर्छ भन्ने कुरा गरेपछि केन्द्रले सहयोग ग¥यो र त्यहाँबाट टिकट पाएँ,’ उनी आफ्नो संघर्ष सुनाउँछिन्।
उनको संघर्ष यतिमै सकिएन। केन्द्रबाट टिकट ल्याएपछि स्थानीय स्तरमा उनले चर्को दबाब झेल्नुपर्यो। अर्का उम्मेदवारले पनि मनोनयन दर्ता गराएका थिए। पार्टीभित्रका बैठकहरूमा उनले महिला भएकै कारण अनेक लाञ्छना र अविश्वासको सामना गर्नुपर्यो। उनी ती तीता क्षणहरू सम्झिन्छिन्, ‘बैठकमा कुरा उठ्थ्यो रे, यस्तीलाई पनि टिकट दिने? अहिले यहाँ हुन्छ, पछि कहाँ हुन्छ थाहा छैन।’ अर्कोतिर बच्चालाई टिकट दिने?’ भन्नेजस्ता कुराहरू पनि सुन्नुपर्यो।
दलका नेताहरूले उम्मेदवारी फिर्ता लिनुहोस् भन्ने दबाब पनि आयो,’ उनले भनिन्, तर मलाई जित्छु भन्ने सय प्रतिशत विश्वास थियो। मेरो आत्मबल एकदमै बलियो थियो, जति दबाब आए पनि म पछि हटिनँ।’ अन्ततः पार्टीले उनको उम्मेदवारीलाई सदर गर्यो। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका महादेव बजगाईँलाई २ हजार २ सय ७८ मतान्तरले पराजित गरिन्। जितपछि तिनै आलोचकहरूले ‘मान्छे त साँच्चै अब्बल रहिछ’ भनेको सुन्दा उनलाई आफ्नो संघर्ष सार्थक भएको महसुस भयो।
२० वर्षको उमेरमा विवाह गरेकी सुशीला एक छोरीकी आमा हुन्। सशस्त्र प्रहरी बलमा डीएसपीका रूपमा कार्यरत श्रीमान् गणेशबहादुर शाहको उनलाई पूर्ण साथ र सहयोग छ। एक महिला नेतृका लागि घर, परिवार, व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाउनु निकै चुनौतीपूर्ण हुन्छ। ‘महिलालाई पुरुषभन्दा अलिकति बढी दुःख हुन्छ। घर–परिवार, बच्चादेखि कारोबार र समाजसेवा सबैतिर एकै पटक ध्यान दिनुपर्छ। हामीले एउटा काम गर्दा अर्को बिग्रिन्छ कि भनेर सधैँ चनाखो हुनुपर्छ।’, उनी भन्छिन्।
श्रीमान् ड्युटीमा बाहिर हुँदा घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा हुन्थ्यो। उनले हरेक जिम्मेवारीलाई कुशलतापूर्वक निभाइन्। मेयरको कुर्सीमा बसेपछि सुशीलाले नगरको विकासका लागि आफूलाई पूर्ण रूपमा समर्पित गरेकी छन्। उनको कार्यकालमा सुरु भएका केही प्रमुख कामहरूले लम्कीचुहाको मुहार फेर्ने संकेत दिएका छन्। ‘कर्णालीको पानी लम्कीबासीलाई’ भन्ने नाराका साथ करिब ९२ करोडको लागतमा सुरु भएको खानेपानी आयोजना उनको सबैभन्दा ठूलो प्राथमिकता हो। भविष्यमा २–३ अर्बसम्म पुग्ने यो आयोजनाले नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउनेछ।
यस्तै अर्कै काम नगरभित्र सडक कालोपत्रे, नाला निर्माण, पुल–पुलेसा र अन्य संरचना निर्माणले तीव्रता पाएको छ। महिलाहरूको लागि छुट्टै ‘महिलामैत्री पार्क’ निर्माण भएको छ। अति विपन्न र सुत्केरी महिलाका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने शव वाहन सबैका लागि निःशुल्क छ। नगरवासीको सहजताका लागि नगर बस सञ्चालन गर्ने योजना अन्तिम चरणमा छ।
शिक्षा र स्वास्थ्य: हरेक वडामा विद्यालय भवन निर्माण र अस्पतालहरूको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ। उनका अनुसार काम गर्न जति सजिलो देखिन्छ, चुनौतीहरू उत्तिकै छन्। ‘जनताको अपेक्षा धेरै छ, जुन स्वाभाविक हो। कहिलेकाहीँ १००–२०० रुपैयाँमा हुने सानो कामको लागि पनि नगरपालिकालाई नै गुहार्ने प्रवृत्ति छ,’उनले भनिन्।
राजनीतिक दबाब र स्रोतसाधनको सीमितताबीच काम गर्नुपर्दा अनेकौँ कठिनाइ आउने उनी स्वीकार्छिन्। हालै भएको जेनजी आन्दोलनमा उनले मध्यरातसम्म बसेर स्थितिलाई सामान्य बनाएकी थिइन्, जसले उनको नेतृत्व क्षमतालाई थप प्रमाणित गरेको छ।
सुशीला महिलाहरूलाई राजनीतिमा आउन मात्र होइन, आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बन्न सधैँ प्रेरित गर्छिन्। ‘महिलाहरू सबैभन्दा पहिले आत्मनिर्भर हुनुपर्छ। आर्थिक रूपमा कसैको भर पर्नु हुँदैन। जबसम्म तपाईँ आर्थिक रूपमा बलियो हुनुहुन्न, तपाईँको आवाज कमजोर हुन्छ।,’
उनको विचारमा, महिलाले राजनीतिमा टिक्न आफ्नो सिद्धान्तमा अडिग रहनुपर्छ र चरित्रमाथि कसैले औँला उठाउने मौका दिनु हुँदैन। ‘मैले चुनाव हारेको भए मेरो चरित्रमाथि प्रश्न उठ्थ्यो, तर पुरुषले हार्दा उसको क्षमतामाथि मात्र कुरा हुन्छ। यो विभेद हामीले भोगिरहेका छौँ,’ उनी भन्छिन्।
आफ्नो पाँच वर्षे कार्यकालमा सुरु गरिएका योजनाहरूलाई पूर्णता दिन र लम्कीचुहालाई एक नमुना नगरपालिका बनाउनु उनको मुख्य लक्ष्य हो। ‘अधुरा काम पूरा गर्न र जनताको सेवा गर्न म फेरि पनि चुनाव लड्न तयार छु,’ उनले भनिन्।
(नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)